|

बुटवलबाट काठमाडौं पुग्न कति समय लाग्छ? कम्तीमा ९ घण्टा लाग्छ– बीचमा खानपान, दिसापिसाबका लागि अधिकतम समय छुट्याएर। तर के गर्नु? भन्नै पर्छ, बढीमा २४ घण्टा पनि लाग्यो।

नगई नहुने भएकाले बितेको साता बुटवलबाट काठमाडौंको बस चढियो। बेलुका ८ बजे बुटवलबाट छुटेको बसले नारायणगढसम्मको यात्रा सहजै पार गरायो। काठमाडौं जाँदा सडकको बलियो खबर नपाई हिँडियो भने दुःख पाइन्छ भन्ने ज्ञान नभएको पनि हैन। गत शनिबार दिनभरजसो काठमाडौं जाने सडकको अवस्था के कसो छ भनेर पूरा जानकारी लिएर हिडेपनि मुग्लिङ नजिकै पुगेपछि गाडीको ब्रेक लागिहाल्यो। ब्रेक निरन्तर ६ घण्टासम्म लाग्यो। आइतबार राती १ बजेदेखि बिहान ६ बजेसम्म। गाडी रोकिनुको कारण उही हो– पहिरो खस्यो।

बिहान ५ बजे काठमाडौं पुगिन्छ भन्ने ढुक्क भएर गाडी चढेको म ६ बजे मुग्लिन पुगे। मुग्लिनबाट फेरि गाडी अघि बढ्यो। थानकोट नजिकै पुगेपछि फेरि गाडीको लामो ब्रेक लाग्यो। यहाँ ब्रेक लाग्नुको कारण पहिरो थिएन। गाडीको चाप बढी भयो, सडक साँघुरो भयो। अनि ब्रेक लाग्यो २ घण्टासम्म।

मुग्लिननेर ६ घण्टा र थानकोटनेर २ घण्टा गरी ८ घण्टा रोकिँदा लाग्यो– राजधानी जोड्ने लाइफलाइन त यति साह्रो कमजोर छ भने हामी मोफसलमा बसेर विकासका कुरा गर्नु हात्तीको आँङ कन्याउनुजस्तै हो।

हाम्रा प्रधानमन्त्रीका अनेक परिकल्पना र सपना देखेर गाली गर्नेहरुलाई पनि सपना देखेपछि नै विकासको पाइला अघि बढ्न सक्छ भन्ने सुझाव दिने म किंकर्तव्यविमुढ भएँ। देशका कुनाकन्दराबाट राजधानीमा सुनौलो सपना बोकेर आउनेहरुलाई नारायणगढ–मुग्लिङ सडकखण्डको जामले किंकर्तव्यविमुढ बनाएर काठमाडौं पठाउँदो रहेछ। अनि मान्छे, काठमाडौंलाई सर्वस्व ठानेर मोफसलको माया मार्छ। यस्तै लाग्यो। यदि त्यसो नहुँदो हो भने सुनौला सपना देखाएर काठमाडौं पसेका नेताहरु बेलाबेलामा त गाउँ फर्केर सोध्दा हुन्–के छ मोफसल तिम्रो हाल? र, काठमाडौं पसेर त्यसको उपचार खोज्दा हुन्। यसरी किंकर्तव्यविमुढ नपार्दा हुन्, सायद।

अनेकौं पटक किंकर्तव्यविमुढ भइसकेपछि अन्ततः काठमाडौं पुगियो। बिहान ८ बजे भेटाउनुपर्ने कार्यक्रमको आधाआधी भाग पूरा भइसकेको थियो म पुग्दा।

काठमाडौंभित्रको जाम र प्रदुषणको कुरै नगरौं। म नाथेले त्यत्रो महाभारत कसरी वाचन गरौं।

काठमाडौंमा आइतबारदेखि बुधबारसम्म आफ्ना सानातिना, झिनामसिना काम सकाएपछि फेरि जाममा परिने डरले कतिबेला जाम हुँदैन त्यतिबेला फर्किने योजना बनाएँ। पटक पटक ट्राफिक र सञ्चारकर्मीहरुलाई सम्पर्क गरेँ। अनि बुधबार बेलुका ८ बजे बुटवल जाने गाडी चढेँ। हिंड्दा कतै जाम, पहिरोको कुरा सुनिएन। त्यति पक्का खबर थाहा पाएपछि त पक्का थियो–बिहीबार बिहान ५ बजे त आरामले पुगिन्छ, अनि ११ बजेको कार्यक्रम भेट्न त एक निद्रा सुतेर पनि पुगिन्छ। थप पुष्टि गराउन थानकोटमा जाम भएन। त्यसपछि पनि गाडी सामान्य ढंगले नै अघि बढ्यो, बढिरहेको थियो। एक्कासी ब्रेक लाग्यो कुरिनटारबाट अघि बढेपछि। सायद जाम होला, नजिकैको सीटमा बसेका सहयात्रु मित्रले भनेपछि ढुक्क भएर भनेँ–कहाँ जाम हुनु ! छैन।

अब किंकर्तव्यविमुढ हुने समय आइसकेछ। रातको १ बजिसकेको थियो। गाडीका सहचालकले खबर ल्याए–पहिरो खसेको छ रे, खै कतिबेला खुल्छ थाहा छैन।

अब त खुल्छ कि भन्दै गाडीबाट ओर्लिदै हेर्दै गर्दा रातको ३ बजिसक्यो, खुल्ने लक्षण देखिएन। आशाको दियो बालेर बसेको ६ घण्टा भइसकेछ। उज्यालो भयो। ६ बज्यो। अब त खुल्छ कि। अहँ खुलेन। गाडीको डेग चलेन। आशाको दियो न त निभ्न सक्यो, न त दन्कियो। हल न चलको अवस्थामा पुग्यो।

‘के के हुने हो कृष्णभीरको पहिरोले माया आउने बाटो थुनियो’–उहिलेको यही गीत सम्झेर बस्नुको विकल्प थिएन।

गाडीवालाले दिएको १ बोत्तल र साथमा ल्याएको एक बोत्तल पानी पनि सिद्धियो। न खानु न पिउनु। यसरी यहाँ आएर जाममा परिन्छ भन्ने थाहा भएको भए त .....। यस्ता अनेक उपाय आए। तर जाम कतिखेर खुल्छ भन्ने थाहा पाउन सकिएन। कुर्नुको विकल्प भएन।

समाचारका सबै श्रोतहरु गलत सावित भए।

बिहान ८ बज्न थालेपछि मुग्लिङ बजारबाट काठमाडौंतर्फ झण्डै २ किलोमिटरको दुरीमा रोकिएका हामीलाई भेट्न बजारका व्यापारीहरु आइपुगे।

ल अण्डा चना..... खानुस्। काक्रा खानुस्, पानी, चटपटे। लेज, कुरमुरे, चाउचाउ।

सबै आइपुगे।

तर जाम खुल्ने खबर लिएर कोही आएनन्।

किंकर्तव्यविमुढ मुडमा कुर्नको विकल्प कस्ले पो दिन सक्थ्यो र !

कुरियो।

दिउसो १ बजेसम्म कुरियो।

पुरापुर १२ घण्टा।

अब कछुवा गतिमा गाडी अघि बढ्यो। १०० मिटर अघि बढ्ने, अनि ब्रेक लगाउने। ५०० मिटर अघि बढ्ने अनि ब्रेक लगाउने। १ किलोमिटर अघि बढ्ने अनि ब्रेक लगाउने गर्दै नारायणगढसम्म आइपुगियो।

नारायणगढबाट नवलपरासी प्रवेश गरेपछि आफ्नै घर आएजस्तै लाग्यो।

नवलपरासीको डण्डामा आधा घण्टा रोकेर अघि बढेको बस बेलुका ७ बजे बुटवल प्रवेश गर्‍यो। पुरा २४ घण्टामा काठमाडौंबाट बुटवल।

एउटा सहरबाट राजधानी जान यति साह्रो दुःख कष्ट बेहोर्नुपरेपछि म कसरी भनुँ–हाम्रो मुलुक छिटै नै विकसित हुन्छ ?

ल मैले मानेँ, नारायणगढ–मुग्लिङ सडकखण्ड चौडा बनाइँदै छ। थप व्यवस्थित बनाइँदैछ।

तर खबरहरु यस्ता आइरहेका छन्,–नारायणगढ–मुग्लिङ सडकखण्डको कतिपय ठाउँमा त चट्टान फुटाउने काम सुरु भएकै छैन। मुग्लिन भन्दा १० किलोमिटर अगाडि बाटोमा चट्टान फोर्न थालेको तीन महिना भइसक्यो। तीन महिनामा १० मिटरमात्रै खोस्रिएको छ।

विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण थालिएको यो सडक चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा, नौबिसे, मुग्लिङ, नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर जाने यो सडक समयमै सुधारिएला भनेर कसरी भनुँ ?

कसरी पत्याउँ ?

यो सडक निर्माणमा सहभागी, संलग्न जो जो छन्, उनीहरुलाई मेरो भन्नु छ–कृपा गरिकन अरु जे जे गर्ने हो गर्नुस्, तर बाटो हिँड्नेलाई अनाहकमा दुःख नदिनुस्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.