|

उदयपुर : उदयपुरगढी गाउँपालिकामा पशुमा फैलिएको खोरेत रोगले किसानमा त्रास छाएको छ। खोरेलतले पशु मर्न र अर्कोमा सर्न थालेपछि किसानमा त्रसित भएका हुन्।

उदयपुरगढी गाउँपालिका–१ का मनोज खत्रीले खोरेत रोगले गाईभैंसी, खसीबाख्रा मर्न थालेपछि बताए। गाउँपालिका पशु सेवा शाखा प्रमुख तेजबहादुर कार्कीका अनसार गाउँपालिकाको आठ वटै वडाका पशुमा खोरेत देखा परेपछि नियन्त्रणमा समस्या भएको बताए। ‘एउटा वडामा देखा परेको जानकारी आउँछ,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न खोप अभियानै परिचालन गर्छौं, पुनः अर्को वडामा देखा परिहाल्छ।’

पशुको खुर, मुख र खुट्टामा घाउ आउने, घाउ पाकेर कीरा पर्ने, ज्वरो आउने, घाँस नखानेजस्ता लक्षण भएको खोरेत रोगले पशु मर्न थालेपछि उपचारका लागि अभियाननै चलाएको प्रमुख कार्कीले बताए। ‘सुरुमा उदयपुरगढी–५ मा खोरेत रोग ल्याएको राँग ल्याएर काटेर खाएछन्,’ उनले भने, ‘रोग त्यहाँबाट फैलिएको जानकारी आयो।’

गाँउपालिकामा केही किसानले पालेका ३÷४ वटा पशु मरे पनि धेरैमा लक्षण देखा पर्न साथ उपचार थालिएको र रोग रोक्न सचेतना अभियान र भ्याक्सिन समेत लगाउन थालिएको कार्कीले बताए। गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ का प्रत्येक घरमा रहेका सात हजार गाईभैँसी, आठ हजार बाख्रा, ५७० बंगुरमा खोरेत रोग नियन्त्रणका लागि भ्यक्सिन लगाइसकिएको पशु शाखाले जनाकारी दिएको छ। 

खोरेलको समस्या देखिएकाले दशैँ मान्न पनि जान पाउने अवस्था नभएको पशु शाखाका नायव पशु स्वास्थ्य प्रविधिक दीपक शर्माले बताए। ‘वडा नं. ५, ६, ७ र ८ वडाको नियन्त्रण गर्‍यौं,’ उनले भने, ‘उत्ता वडा नं. १, २ र ३ मा रोग देखा परेको छ। त्यहाँ एक हजार गाईभैँसी र एक हजार ५०० बाख्रामा भ्याक्सिन लगाउन थालिएको छ।’

महामारीकारुपमा फैलिएको खोरेत रोग नियन्त्रण गर्न गाउँपालिकाले निःशुल्क औषधि उपचार उपलब्ध गराएको छ। ‘पशुमा महामारीकै रुपमा खोरेत रोग देखा पर्‍यो,’ वडा नं. ५ का वडाध्यक्ष कुमार अधिकारीले भने, ‘निःशुल्क औषधि उपचार गर्ने व्यवस्था गरेका छौं।’

कसरी बचाउने? 

खोरेत पशुलाई लाग्ने एक प्रकारको सरुवा रोग हो। यो रोगले सुरु हुँदा पशुको पशुको मुखबाट र्‍याल आउने, जिब्रोमा घाउ आउने, ज्वरो आउने लक्षण देखा पर्दछ।
रोग छिप्पिँदै गएपछि पशुको खुरको छालाहरु कुहिने गाउँपालिका पशु शाखा प्रमुख चिकित्सक तेजबहादुर कार्कीले बताए।

खोरेत रोगबाट जोगाउन पशुलाई गोठबाट बाहिर नलाने, पशुको मुख र खुट्टामा घाउ भएको थाहा भएपछि फिटकिरी पानीले घाउ भएको ठाउँ सफा गर्ने, खान सक्ने आहारा खुवाउने, रोग पशु स्याहार गर्ने व्यक्तिबाट अन्य पशुमा सर्ने भएकाले पशुलाई घाँस, पराल खुवाउने समयमा अलग्गै जुत्ता, कपडा लगाएर खुवाउनु पर्ने, खोरेत रोग लागेको पशुलाई औषधि खुवाएर अर्काे पशुको सरसफाइमा ध्याँन दिनुपर्ने कार्कीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.