|

काठमाडौं : विभिन्न अपराध गरेर उपत्यकाका तीनवटा कारागारमा चार हजार ५०० भन्दा बढी कैदीबन्दी जेलजीवन भुक्तान गरिरहेका छन्। केन्द्रीय कारागार सुन्धारामा मात्रै हाल दुई हजार ६२६ जना कैदीबन्दी रहेको कारागारका प्रमुख जेलर वेदनिधि अधिकारीले जानकारी दिए।

यीमध्ये सातजना कारागारको ‘गोल’ घरभित्र रहेको अधिकारीले बताए। कारागार स्थापना भएदेखि नै सुन्धारा कारागारमा सातवटा गोल घर निर्माण गरिएको थियो। तीनै सातवटा गोल घरमा हाल सात जना कैदी राखिएको अधिकारीले बताए। उपत्याकाको अन्य कारागार डिल्लीबजार कारागारमा गोल घर निर्माण गरिएको छैन। त्यस्तै ललितपुरको नख्खु कारागारमा दुई वटा गोल घर बनाइएको छ। गोल घर बनाएको भएपनि कुनै गोल घरभित्र कैदी नरहेको कारागारका प्रमुख जेलर जीवन दुलालले बताए।

को को छन् सुन्धारा कारागारको गोल घरभित्र?

केन्द्रीय कारागार सुन्धाराको गोल घर भित्र सात जना कैदी रहेको छन्। उनीहरूमध्ये एकजना विदेशी कैदी रहेका छन्। त्यस्तै एकजना पाहुना कैदीलाई समेत गोलभित्र राखिएको छ।

गोल घर भित्र रहने कैदीहरूमा चुणामणि उप्रेती ‘गोरे’ अभिषेस सिह, एक जना तेस्रो लिङ्गी, विदेशी कैदीमा फ्रान्सेली नागरिक चार्ल्स सोभराज, पाहुना कैदीमा समिरमानसिंह बस्नेत, र अन्य दुई जना राई थर भएका कैदी रहेको कारागारका जेलर अधिकारीले बताए।

चुणामणि उप्रेती गोरे’ : मोरङ उर्लाबारी-४ का गोरेमाथि ३३ किलो सुन काण्ड र सनम शाक्य हत्याका मुख्य अभियुक्तको अभियोग लागेको छ। उनीलाई जेठ आठ गते काठमाडौंको गौरीघाटबाट सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न गठित छानबिन समिताका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेल नेतृत्वको टोलीले पक्राउ गरेको हो। उनको मुद्दा हाल जिल्ला अदालत मोरङमा बिचाराधीन रहेको छ। उनी पुर्पक्षका लागि जेल चलान भएका कैदी हुन्।

अभिषेकराज सिंह: बाँके नेपालगन्ज वडा नम्बर ३ घर भएका ‘सिरियल किलर’ को रुपमा चिनिएका सिंह २०७० सालमा  पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो। प्रहरीका अनुसार तन्त्रमन्त्र सिकेका उनी धार्मिक आवरणमा विभिन्न खाले अपराध गर्दै आएका थिए।

उनी माथी १८ जनाभन्दा बढी व्यक्तिको शृंखलाबद्ध हत्या गरेको अभियोग थियो। सोही मुद्धमा ललितपुरको नख्खु कारागारमा जन्म कैदको सजाय भोगिरहेका थिए। तर वैशाख २० मा नख्खु कारागार भित्रै अर्का कैदी भक्तबहादुर सुनारलाई खानामा क्यामिकल मिसाएर हत्या गरेपछि उनी केन्द्रीय कारागार सुन्धाराको गोल घरमा राखिएको छ।  

समिरमानसिंह बस्तेत : निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार हुन् समिरमानसिंह बस्नेत। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंसिर १७ मा  भारतबाट पक्राउ गरेको हो। गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो।

उनलाई असोज १५ गते नख्खु कारागारबाट मुस्ताङ कारागार सरुवा गरेको थियो। श्रीमानलाई प्रहरीले इन्काउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको भन्दै जीवन रक्षाको माग गरेका थिए। समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्णप्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको थिए।

सोही आधारमा सर्वोच्चको आदेशले समिरमानसिहलाई २४  घण्टा भित्र अदालतमा उपस्थित गराउन आदेश दिएकाे  थियो।  हाल उनी केन्द्रीय कारागार सुन्धाराका पाहुना कैदी हुन्। उनलाई कारागार प्रसाशनले गोल घर भित्र राखेको छ।

चार्ल्स सोभराज :  ‘विकिनी किलर’का नामले संसारभर कुख्याती कमाएका चार्ल्स शोभराज १४ वर्ष अघिदेखि सुन्धारा कारागारमा जेल जीवन भुक्तान गरिरहेका छन्।

उनीमाथि विभिन्न देशमा हत्या गरेको अभियोग छ। नेपाल घुम्न आएका एक महिलाको हत्या अभियोगमा उनी हाल जन्मकैदको सजाय भोगिरहेका छन्। उनलाई सुन्धारा कारागारको गोल घर भित्र राखिएको छ।

त्यस्तै एकजना तेस्रो लिङ्गीलाई विभिन्न प्राचिन मुर्ति चोरीको अभियोगमा सुन्धारा कारागारमा राखेको छ। उनलाई पनि गारागार प्रशासनले गोल घरभित्र राखेको छ। त्यस्तै दुई जना राई थरका कैदीलाई समेत गोल घरभित्र राखिएको जेलर वेदनिधि अधिकारीले बताए।

के हो गोलघर, किन राखिन्छ ?

सुन्धारा कारागारका प्रसाशन अधिकृत कुलप्रसाद रेग्मीको अनुसार सामान्य मानिसलाई गोलघर यातनागृह जस्तो लाग्छ। तर, गोल घर सुरक्षाको हिसाब र अरूलाई असर नहोस् भन्ने हिसाबले बनेको गोलो आकारको घर भएको उनको भनाइ छ।

केन्द्रीय कारागारभित्र रहेको गोलो घरमा ७ वटा कोठा रहेका छन्। गोल घरभित्र राखिने कैदीबन्दीलाई विशेष सुरक्षा प्रदान गर्नुका साथै अन्य कैदीबन्दीको सम्पर्कभन्दा टाढा राखिने रेग्मीले बताए। कैदीको अभियोग र उनीहरूले जेलभित्र गर्ने अपराधलाई समेत मध्यनजर गरेर ठूला अपराधका मुद्दाका कैदीलाई गोल घरभित्र राखिने गरेको कारागार प्रसाशनको भनाइ छ।

कुख्यात अपराधी संगठित अपराधको जालो फैलाउने प्रवृत्तिका कैदीले कारागार भित्रबाटै पनि अपराधिक क्रियाकलाप संचालन गर्ने हुँदा उनीहरूको विशेष निगरानी होस् भनेर उनीहरूलाई गोल घरभित्र राखिएने गरेको रेग्मीले बताए। सुन्धाराकारागार स्थापनादेखि नै गोल घर निर्माण गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.