फिचर

भूकम्पले दिलाएको सुखद अवसर
SHARES

‘सरकारको ध्यान गए पर्यटक बढ्ने थिए’

असोज २३, २०७५

    राइनासकोट (लमजुङ) : २०७२ बैशाख १२ मा विनाशकारी भूकम्प गयो। हजारौँ मानिसले ज्यान गुमाए। भूकम्पले धेरै संरचना क्षतविक्षत पार्‍यो। इतिहास बोकेका धेरै संरचना ध्वस्त भए। नौ तले धरहराले पनि थामेन त्यो भूकम्पको धक्का। लामो इतिहास बोकेको काठमाडौंको रानीपोखरीको पानी पनि सुक्यो। हजारौँ घर ध्वस्त भए।

    धेरै मानिस भूकम्पकै कारण काम गर्न नसक्ने गरी अपांग भए। धेरैलाई भूकम्प दशाको रूपमा आयो। भूकम्पले भत्काएका धेरै संरचना अझै बन्न सकेका छैनन्। यस्तै क्षति भएको जिल्लामध्ये लमजुङ पनि एक हो। तर लमजुङको राइनास नगरपालिका- ९ स्थित राइनासकोटका १४ घर गुरुङ परिवारलाई भने भूकम्प अवसर बनेर आयो।

    भूकम्पअघि उजाड थियो राइनासकोट। गाउँ छाडेर शहरमा रोजगारी खोज्दै जानेको संख्या दिनानु दिन बढ्दै थियो। नछाडुन् पनि कसरी? गाउँमा केही रोजगारी थिएन। गाउँमा बुढाबुढी र केही महिला मात्र थिए।

    गुरुङ जातिको थोरै मात्र बस्ती भएको उक्त ठाउँमा भूकम्पअघि आर्थिक उपार्जनको बाटो खासै थिएन। धान, मकै, कोदो मात्र उत्पादन हुन्थ्यो। त्यो उत्पादित खाद्यान्न बेचेर गुरुङ समुदायका स्थानीयले खर्च टार्ने गर्थे। अन्न बेच्न पनि तीन-चार घण्टाको यात्रा गरेर बजार पुग्नुपर्ने हुन्थ्यो। अलिक आर्थिक रूपमा सम्पन्नहरू काठमाडौं, पोखरा, चितवन जस्ता शहरमा गएर बस्थे।

    तर अहिले उनीहरूको अवस्था फेरिएको छ। अहिले आर्थिक रूपमा त्यहाँका स्थानीयलाई धेरै सहज भएको छ। पहिला गाउँ छाडेर जानेहरू पनि अहिले गाउँ नै फर्किँदै छन्। विदेशिएका पनि गाउँमै व्यवसाय गर्न फर्कने सुरसारमा छन्। त्यहाँका १४ गुरुङ परिवार मिलेर अहिले गाउँमै होमस्टे चलाएका छन्। यो अवसर उनीहरूलाई भूकम्पले दिएको हो।

    भूकम्प जानुअघि

    भूकम्प जानुअघि गाउँमा रहेका थैरै बस्तीका मानिसहरू पनि रोजगारी खोज्दै शहर जाने मनस्थितिमा थिए। गाउँमा न सडक पुगेको थियो, न विकास निर्माणका गतिविधि नै थिए। 'भूकम्प जानुअघि त गाउँमा पर्यटक पनि आउँदैन थिए। गाउँ सुनसान थियो’, स्थानीय होमस्टे संचालक विष्णु गुरुङ भन्छिन्, ‘तर भूकम्पले हामीलाई एउटा अवसर दियो। अहिले त गाउँमा दैनिक ६०-७० जनाजति मान्छे आउँछन्।’ अहिले त गाउँ छाडेकाहरू पनि आउन थालेका उनी बताउँछिन्।

    ‘गाउँमा राम्रो कमाइ हुन थाल्यो। गाउँ छाडेर शहर गएका पनि आउँछु भन्दैछन्। मैलेचाहिँ छिट्टै आउनु भनेको छु’, उनले भनिन्, ‘तर उनीहरू अलिक विकास होस् अनि आउँछौँ भन्छन्। तर मैले हामीले नै विकास गर्ने हो, छिट्टै आउनुपर्छ भन्दै सम्झाउँदै छु।’ भूकम्प गएको एक महिनासम्म त अब बस्ती नै स्थान्तरण गर्नुपर्ला भन्ने सोचमा थिए रे त्यहाँका स्थानीय। भूकम्पअघि त्यहाँ सडक पनि पुगेको थिएन रे! त्यस कारण पनि उनीहरू त्यो ठाउँ नै छाडेर जाने अवस्थामा पुगेका रहेछन्। तर भूकम्पपछि त्यहाँ पाउँदी हुँदै कच्चि सडक पुगेको छ। ‘यो ठाउँ यस्तो हुन्छ भन्ने सोचेका पनि थिएनौँ’, स्थानीय होमस्टे संचालक प्रसाद गुरुङले भने, ‘तर अहिले त गाउँ नै परिवर्तन भयो।’

    पुरानो गुरुङ बस्ती। पहाडी शैलीमा बनाइएका ढुंगामाटाका घर, भूकम्पले सबै घर बस्नै नहुने गरी भत्कायो। सुरुको एक महिना त स्थानीयले पालमै बिताए। पछि त्यही भत्केको घर मर्मत गरेर बसे।

    ‘भूकम्प आउँदा म कृषिसम्बन्धी कार्यक्रमका लागि पोखरा जाँदै थिएँ। डुम्रे पुगेपछि भूकम्पले क्षति पुर्‍याएको थाहा भयो’, विष्णुले २०७२ बैशाख १२ लाई स्मरण गरिन्, ‘विदेशबाट बहिनीले फोन गरेर घर फर्कनु भनिन्। म घर फर्किएँ। पाउँदीबाट हिँड्दै जाँदा चार घण्टा लाग्यो। घर आउँदा त बस्नै नहुने गरी भत्काएको रहेछ। सबै एकै ठाउँमा गोलभेँडालाई अडाएको त्रिपाल टाँगेर एक हप्ता बितायौँ। त्यसपछि विभिन्न संस्थाले त्रिपाल दिएर हामी आआफ्नो घरमा बस्यौँ।’

    त्यसपछि अमेरिकी नागरिक नतसा बाजनियाकले बस्ती बनाइदिने भनेपछि मात्र उनीहरू त्यहाँ बस्न तयार भएछन्। ‘नतासा पहिला लमजुङ नै बसेकी रहिछन्। उनलाई यो ठाउँको माया लागेछ’, विष्णु भन्छिन्, ‘त्यसपछि हामीलाई घर बनाउन सहयोग गर्दा तिमीहरू बस्छौ भन्ने प्रस्ताव आयो। गाउँ छाड्ने मनस्थितिमा रहेका हामी अरूले सहयोग गरे किन नबस्ने भनेर बस्छौँ भन्यौँ।’

    यसरी आयो होमस्टेको योजना

    नतसाले करिब एक करोड ५० लाख रुपैयाँ सहयोग गर्न वचन दिएपछि उनीहरू घर बनाउन तयार भए। त्यसमा नतसाले प्रस्ताव राखिन्- ‘राइनासकोटलाई पर्यटकीय स्थल बनाअौँ।' यो राइनासकोटबासीका लागि खुसीको खबर थियो। पर्यटकीय स्थलका लागि होमस्टे बनाउने नतसाको प्रस्ताव थियो।

    उक्त ठाउँमा मौलिकता झल्काउन बनाइएको अत्याधुनिक घर निर्माणका लागि नतसाले सिमेन्ट, रड, बालुवा, गिट्टीलगायतका सामग्री सहयोग गर्ने भइन्। ती सामग्री राइनासकोटसम्म ढुवानीको व्यवस्था पनि उनैले मिलाइन्। तर विदेशी नागरिकले सिधै खर्च गर्न नपाउने नीतिले एउटा संस्था समात्नै पर्‍यो। त्यस कारण उनीहरूले सर्वोदय सेवाश्रममार्फत् त्यहाँ खर्च गरेर अत्याधुनिक घर निर्माण गरे। ‘सहयोग आउँदा पनि हाम्रो करिब १५ देखि २० लाख रुपैयाँ खर्च लाग्यो’, विष्णुले भनिन्।

    होमस्टे संचालन गरेपछि गाउँमा उत्पादित अन्नतपातको पनि राम्रै सदुपयोग भएको छ। गाउँका मानिसहरूले रोजगारी पनि पाएका छन्। ‘हामीले होमस्टे चलाएपछि धेरै पर्यटक आउनुभएको छ। हामीले चलाएको एक वर्ष भयो। बैशाखदेखि होमस्टे समिति खोलेका छौँ। त्यसयता मात्र करिब ६० देखि ७० हजार पर्यटक यहाँ आउनुभयो’, होमस्टे समिति उपाध्यक्षसमेत रहेकी विष्णुले भनिन्, ‘अहिले त सबै खर्च कटाएर महिनामा ४० हजार रुपैयाँसम्म हुन्छ। हुँदै नभएको पनि २० देखि २५ हजार त हुनेरहेछ। अब होमस्टे दर्ताको प्रक्रियामा पनि हामी जाँदै छौँ।’ उनका अनुसार अहिलेसम्म विदेशी पर्यटकचहिँ खासै आएका रहेनछन्।

    यसरी हुन्छ पर्यटकको स्वागत

    राइनासकोट पुग्ने जो कोहीको पनि त्यहाँको वातावरणले नै म फुरुंग बनाउने गर्छ। अझ त्यहाँ रहेका गुरुङ समुदायका होमस्टे संचालकको स्वागतले त झनै त्यो ठाउँ सम्झिरहने बनाउँछ।

    गुरुङ समुदायको संस्कृतिअनुसार उनीहरूले त्यहाँ जाने पर्यटकलाई फूलमाला र चामल, दूध र चिनीबाट बनेको गुरुङको परम्परामा हुने सेतो टीका लगाएर स्वागत गर्छन्। स्वागतमा गाउँकै पाका मान्छे हुन्छन्। त्यसपछि त्यहीँ उत्पादन भएको भटमास र मकै भुटेर दिने उनीहरूको चलन छ।

    त्यसमा चिया पनि दिन्छन्। सकेसम्म उनीहरू गाउँमै उत्पादन भएको अर्गानिक खाद्यान्न खुवाउने गर्छन्। स्थानीय कुखुराको मासु खुवाउने चलन छ। त्यसपछि बिहानको खाजामा उनीहरूले कोदोको सेल दिने गर्छन्।

    उनीहरूको बिदाई पनि स्वागत जस्तै हुन्छ। गाउँका सबैभन्दा पाकाले स्वागत जस्तै टीका र फूल दिँदै आशिष दिएर बिदाइ गर्ने चलन छ।

    उनीहरू १४ वटा होमस्टेमा पर्यटकलाई बाँडेर राख्छन्। कसैकोमा सुत्ने त कसैकोमा खाने व्यवस्था मिलाउने गर्छन् उनीहरू। ‘भरसक सबैको घरमा पर्यटक पुगून् भन्ने हाम्रो उद्देश्य हो’, विष्णु भन्छिन्, ‘धेरै पर्यटक छन् भने कुनै घरमा सुत्ने, कुनैमा खाने गरेर बाँड्न गर्छौं। बुढापाका भएकोमा सुत्ने मात्र व्यवस्था गर्छौं। एक दिनमा ६० देखि ७० जनासम्म पर्यटक राख्न सक्छौँ।’

    अहिलेसम्म खासै प्रचार नगरेका बताउँदै विष्णु भन्छिन्,‘तर पनि पर्यटक आउँदै हुनुहुन्छ। अब समितिमार्फत् प्रचार गर्ने योजना छ।’ अहिलेसम्म उनीहरूले आफ्नो संस्कृतिको घाटु नाच पर्यटकलाई देखाएका छैनन् तर अब भने घाटु नाच देखाउने पनि उनीहरूको लक्ष्य छ।

    यस कारण जान्छन् त्यहाँ पर्यटक

    त्यहाँको मौसम र रमणीय दृश्य हेर्न पर्यटक आउने गरेको स्थानीय मनमाया गुरुङ बताउँछिन्। धेरैजसो पर्यटकले शान्त वातावरणका लागि राइनासकोट आएको बताउने गरेको उनको भनाइ छ। त्यहाँबाट १४ वटा जिल्ला र विभन्न हिमशृंखला अवलोकन गर्न सकिने स्थानीयको भनाइ छ।

    पर्यटकहरू त्यहाँको कोट हेर्न पनि जाने गरेका छन्। इतिहासमा होमस्टे भएदेखि केही माथि लमजुङे राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाहको दरबार रहेको क्षेत्र उल्लेख छ। लमजुङका आठ कोटमध्ये यो पनि एक भएको जानकारहरू बताउँछन्। त्यहाँको अवलोकन गर्न पनि पर्यटक पुग्ने गरेको स्थानीयहको भनाइ छ।

    ‘सरकारको ध्यान गए पर्यटक बढ्ने थिए’

    भूकम्पपछि सरकारले त्यस स्थानमा पुनर्निर्माणका लागि खर्च गरेको छैन। कुनै पनि संस्थाले सहयोग गरेको स्थानमा सरकारले सहयोग नगर्ने नीतिअनुरूप त्यहाँ पनि सरकारले भूकम्पपीडितले पाउने राहत उपलब्ध नगराएको हो। घर भत्किएकालाई दिने सहायता नलिएका त्यहाँका स्थानीय भने अब विकासको आशमा छन्।

    ‘सरकारले भूकम्पपीडितलाई दिने राहत पनि हामीलाई दिएन’, स्थानीय जौमाया गुरुङ भन्छिन्, ‘अब यहाँको विकास निर्माणमा चाहिँ सरकारले गरिदिए हुने थियो।’ बर्खाको समयमा उक्त स्थानसम्म पुग्न निकै मुस्किल हुन्छ। त्यसकारण सरकारले पर्यटन प्रवर्द्धनका लागि भए पनि सडक निर्माण गरिदिनुपर्ने स्थानीयको भनाइ छ। यस्तै, यस ठाउँको प्रचार गर्दै सरकारले भूकम्पले भत्काएका ऐतिहासिक तथा पुरातात्त्विक संरचनाको पुनर्निमाण गर्नुपर्ने बताएका छन्। यसले गर्दा पर्यटकको आगमन वृद्धि हुने उनीहरूको भनाइ छ।

चिरञ्जिबी घिमिरे

पत्रकार घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]