|

पोखरा : २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले गोरखाका करिब ६५ हजार घर ध्वस्त भएका थिए। अधिकांश अहिले पुनर्निर्माणको चरणमा छन्। भूकम्पले ध्वस्त भएकामध्ये एकसय पाँच अपांग परिवारको घर अहिले आइएनएफ नामक गैरसरकारी संस्थाको सहयोगमा निर्माण भइरहेको छ। 

विभिन्न नगरपालिका र गाउँपालिकामा रहेका भूकम्प प्रभावितलाई घर बनाउन सहयोग गरेको हो। ‘भूकम्प पछि गोरखामा आइएनएफको ग्रेस परियोजनाअन्तर्गत पुनर्निर्माण एवं पुन: स्थापनाको कार्यक्रम सञ्चालन भएकोे छ,’ आइएनएफका हिराविक्रम शाहीले भने ‘यो कार्यक्रम अपांगता भएकाहरुको लागि मात्रै हो।’ भूकम्प पछि आइएनएफले गोरखाको पालुंटार नगरपालिका, अजिरकोट गाउँपालिका र सिरान्चोक गाउँपालिकामा रहेका अपांगता भएकाको घर बनाउन सहयोग गरिरहेको छ। 

अपांगता भएकाहरुको घर बनाउन आइएनएफले नेपाल सरकार तोकेको अनुदानको तीन लाख रुपैँयामा थप ५० हजार थपेर सहयोग गरेको छ। ‘सरकारले तोकेकै तीन लाख रुपैयाँमा ५० हजार थपेर हामीले सहयोग गरेका छौँ,’ उनले भने ‘थप ५० हजार भने अपांगमैत्री घर बनाउँदा बढी खर्च हुने भएकोले सहयोग गरेका हौँ। त्यो ५० हजार रकम नै दिने होइन । विभिन्न निर्माण सामग्रीहरु सहयोग गर्छाैँ।’

उनले आइएनएफले बनाएको अपांगमैत्री भूकम्प प्रतिरोधी घर राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्राविधिकको निगरानीमा निर्माण भइरहेका छन्। अपांगमैत्री घरभित्र जान देखि शौचालयसम्म जानका लागि अपांगमैत्री संरचना बनाइएको छ। ह्विल चेयरको सहयोगमा उनीहरु आउजाउ गर्न सक्छन्। ह्विल चेयर गुड्नका लागि छुट्टै स्लाब बनाइएको छ। 

गोरखामा अहिले सम्म ६० हजार भन्दा धेरै लाभग्राहीले पहिलो किस्ता बुझिसकेका छन्। त्यस्तै करिब ५२ हजार जना लाभग्राहीले दोस्रो र ३७ हजारले तेस्रो किस्ता बुझिसकेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.