|

धनकुटा : धनकुटा नगरपालिका–१ हिलेको टिमुरेमा शीतभण्डार निर्माण कार्य सम्पन्न भएको छ। निजी क्षेत्रको पहलमा डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यक्रम, उद्योग वाणिज्य संघ, प्रदेश १ सरकार र नेपाल अलैंची व्यवसायी महासंघको संयुक्त पहलमा शीतभण्डार निर्माण भएको हो।

तीन करोड १४ लाख रुपैयाँ लागतमा निर्माण भएको शीतभण्डारमा उन्नति नेपाल कार्यक्रम तथा वाणिज्य संघ र अलैंची व्यवसायी महासंघको ५०/५० प्रतिशतको लगानी रहेको छ। शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको ३० लाख रुपैयाँ सहयोग रहेको छ।

हिलेमा निर्माण भएको शीतभण्डारले यस क्षेत्रमा उत्पादन भएका अलैंचीलगायत तरकारी, फलफूल र जडिबुटी भण्डारण गर्न सहज हुने भएको निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए। यस भण्डारमा अलैंची भण्डारणलाई पहिलो प्राथमिकता राखिने बताइएको छ। शीतभण्डारमा आगामी एक महिनाभित्र सञ्चालनमा आउने जनाइएको छ।

नव निर्मित शीतभण्डारमा जेनेरेटर, डी हिमिनिटी फायर, हिमिनिटी फायरलगायतका प्रविधि जडान कार्य सकिएको छ। यस क्षेत्रमा सुरक्षा आवास, कार्यालय लगायत शीतभण्डारको क्षेत्रफल पॉच रोपनी रहेको छ। शीतभण्डार सञ्चालनमा आएपछि किसानको उत्पादनले मूल्य पाउने अपेक्षा छ। विगतमा किसानले उत्पादन गरेका वस्तुहरू खेर जाने समस्या हुँदै आएपछि अब उक्त समस्या समाधान हुने विश्वास लिइएको छ।

शीतभण्डार सञ्चालनपछि किसानको उत्पादनले मूल्य पाउने अलैंची व्यवसायी महासंघका अध्यक्ष इन्द्र तितुङले बताए। ‘सिजनमा मूल्य नपाउने, लामो समयसम्म सुरक्षित राख्न नसकिने समस्या रहेको थियो’, उनले भने, ‘अब किसानले उत्पादन गरे मात्र पुग्ने र बजारीकरण तथा संरक्षणको चिन्ता कम हुने भएको छ।’

कोशी पहाडमा उच्च परिमाणमा कारोबार हुने अलैंचीको बजार र व्यापारलाई लक्षित गरी निर्माण गरिएको शीतभण्डारका कारण अलैंचीको बजार र व्यापार अझ फस्टाउने तितुङले दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.