|

काठमाडौं : आज विजयादशमीको दिन मान्यजनहरूबाट टीका थाप्‍न सबैजना आ-आफ्नो घरमा छन्। दशैँमा घर जान नपाउने सेना, प्रहरी तथा कर्मचारीहरूले आफ्नो हाकिमबाटै टीका थाप्‍ने गर्छन्। 

यसै सन्दर्भमा चर्चित स्त्रीरोग विशेषज्ञ भोला रिजाललाई हामीले  डाक्टरहरूले दशैँ कसरी मनाउँछन् भनेर सोधेका छौँ। प्रस्तुत छ चार दशकदेखि स्त्रीरोग विशेषज्ञको रुपमा काम गर्दै आएका डा‍‍. रिजालको दशैँ अनुभव। 

हालसम्मको चार दशक सम्मको चिकित्सा पेसा अवधिमा अधिकांश दशैँमा टीका लगाउन ठिक्क परेका बेलामा समेत टीका रद्द गरेर अस्पतालमा इमर्जेन्सीमा बिरामी हेर्न जानुपर्ने भएकाले कमै दशैँमा मात्र परिवारसँगै साइतको टीका लगाउन पाएको उनले सुनाए। उनले भने, ‘आजसम्म मैले राम्रोसँग परिवारसँग बसेर दशैँमा साइतको टीका लगाउन पाएको छैन। धेरैजसो टीका लगाउने बेलामा अपरेशन थिएटरमा छु।'

साइतको टीका लगाउन बुबा-आमालाई गाडीमै अस्पताल लिएर गएँ

दशैँको अन्य दिनभन्दा टीकाको दिन मलाई अस्पतालको समय मिलाउन गाह्रो हुन्थ्यो। साइतको टीका लगाउन भनेर घरमा बस्यो, अस्पतालबाट इमर्जेन्सीमा गम्भीर खालको बिरामी आएको खबर आएपछि टीका छोडेर अस्पताल पुग्नुपर्थ्यो। ‘एक पटकको दशैँमा त टीका लगाउन ठिक्क परेको थिएँ, अस्पतालबाट इमर्जेन्सी बिरामी हेर्न आउनुपर्‍यो भन्ने फोन आयो। त्यसैले साइतको टीका छोप्न सबै सामग्री लिएर  बुबाआमालाई गाडीमै लिएर अस्पताल पुगेँ।'

यद्यपि, उनलाई यसमा कुनै गुनासो छैन। आफ्नै कारणले एकजना बिरामीको ज्यान बचाउन पाएकोमा डाक्टरहरूका लागि त्यो नै सबैभन्दा खुसीको विषय रहेको उनको भनाइ छ। यो वर्षको दशैँ कसरी मनाउँदै हुनुहुन्छ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘धेरै दशैंमा कहिल्यै साइतको टीका लगाउन समय मिलेन। यसपाली म अाेम अस्पतालमा छैन। मेडिकल कलेजमा चार दिन बिदा नै हुन्छ,' उनले थपे, 'इमर्जेन्सी बिरामी हेर्न पनि अन्य जुनियर भाइहरू हुनुहुन्छ। त्यसैले म ढुक्कसँग घरैमा दशैँ मनाउँछु।' 

नातेदार तथा आफन्तजनहरूको लहरो लामो भएका कारण प्राय कुनै न कुनै वर्ष केही न केही (जुठो सुतक) जस्ता घटना परेर दशैँ मनाउन नपाएको यथार्थ पनि उनले सुनाए। 'ठूलो परिवार छ। त्यो हुँदा कहिले को बित्ने, कहिले कसको जुठो पर्ने भइरहन्छ। त्यसैले धेरैजसो दशैँ त यत्तिकै खेर गइरहेको हुन्छ। यो पटक चाहिँ घरैमा टीका लगाएर दशैँ मनाउने योजना छ।' 

डा. रिजाल बिरामीको सेवामा हरपल दत्तचित्त भएर लाग्‍ने गरेको बताउँछन्। आफ्नो पूरै समय बिरामीलाई दिन्छन्। 'सामान्य अवस्थामा अस्पतालमा बिरामीको चाप कम भएका बेला आफ्ना लागि समय भयो भने म आफैँ आएर बिरामी हेरिदिन्छु,' उनले भने।

दशैँमा आफूभन्दा जुनियर डाक्टरहरूलाई पनि टीका लगाइदिने गरेको उनले स्मरण गरे। यस पटक पनि आफूकहाँ टीका लगाउन आउने सहकर्मी र आफन्तहरूलाई टीका लगाइदिने उनको योजना छ। उनले भने, 'उमेरको हिसाबले पनि  धेरै जुनियर र आफन्तहरू टीकाको दिन मकहाँ टीका लगाउन आउने गर्छन्। धेरै दशैँमा बिरामीको सेवाले नै गर्दा मैले आफन्तहरूलाई टीका राम्रोसँग लगाउन पाएको छैन। यसपाली घरमै सबै आफन्तलाई टीका लगाउँछु।' यसका साथै दशैँको फुर्सदका समयमा आफ्नो गीत र बायोग्राफीको काम पूरा गर्ने सोचमा रहेको उनले सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.