फिचर

दशैँ सम्झाउने धून
SHARES

असोज २५, २०७५

     काठमाडौं : कलंकी बस्ने २२ वर्षीय दिनेश अधिकारीलाई मालश्री धूनले गाउँ सम्झाउँछ। वृद्ध बुबाआमा सम्झाउँछ। घर सम्झाउँछ। दशैँ सम्झाउँछ। पहेँलपुर धानको बाला सम्झाउँछ। उनी भन्छन्, 'यो धून बजेपछि अब हाम्रो घर आँगनमा दशैँ आएको अनुभूत हुन्छ। मन चंगा हुन्छ। मनमा म घर पुगिसकेँ कि भन्ने आभास हुन्छ।'

    नेपालीहरूको महान् चाड बडादशैँ नजिकिँदै गर्दा हाम्रा घर आँगनमा रौनक बढ्दै गएको छ। मौलिक नेपाली लोकधून मालश्री बज्न थालेको छ। मालश्रीको शरद ऋतुसँग पनि सम्बन्ध रहेको छ। दशैँको आगमनसँगै शहरका सपिङ मलदेखि सुदूरका घर समाजमा मंगल धून बज्न थालेका छन्। मालाश्री धून दशैँ आएको संकेत हो।

    रेडियो, टेलिभिजनमा बजाइने यो धूनमा विभिन्न कालखण्डमा लेखिएका भजन समावेश गरिएको हुन्छ। दशैँको घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनमा जमरा सेलाइसकेपछि मालाश्री धून बजाउन बन्द गरिन्छ। हिन्दू धर्मावलम्बीहरूमा विशेष महत्त्व रहेको यो धून नेपाली सेनाले टुँडिखेलमा फूलपाती भित्र्याउँदा बजाएर भित्र्याउने प्रचलन छ।  

    लिच्छवीकालीन राजाको पालादेखि यस धूनको प्रचार हुन थालेको वरिष्ठ संगीतकार दीपक जंगम बताउँछन्। यसको प्रयोग धेरै पहिलेदेखि नै हुन सक्ने उनको भनाइ छ। तर १६औँ शताब्दीदेखि यसको महत्त्व र गरिमा अझ बढेको उनी बताउँछन्। वर्षौंदेखि सुनिँदै र बज्दै आएको यो धून अहिले पनि नेपालीहरूमा उस्तै प्रचलित छ र महत्त्वका साथ बज्दै आइरहेको छ। देवी देवताको शक्तिले कुभलो चाहने दुष्टहरूमाथिको विजयलाई सम्झिएर बजाउने धून हो मालश्री। 

    ऐतिहासिक मूल्य र मान्यतामा आधारित रहेर यो धून दशैँबाहेक अन्य समयमा गरिने देवी देवताको आराधनामा समेत बजाइने गर्छ तर यसको बढ्ता महत्त्व दशैँमा नै रहेको भेटाइन्छ।

    यो धून बजाउनका निम्ति विभिन्न बाजाको प्रयोग गरिन्छ। झ्याम्टा, नगरा, मादल, मुरली, डमरु, गितार, हार्मोनियम, सारंगीलगायतका बाजा प्रयोग हुने भए पनि पछिल्लो क्रममा अत्याधुनिक वाद्यवादनका साधन पनि प्रयोग हुँदै आइरहेका छन्। यो धून निकाल्न कति मान्छे आवश्यक हुन्छन् भन्ने यकिन संख्या भन्न नसकिने अवस्था रहेको जंगम बताउँछन्।

    मालश्री धून जुन समुदायले बजाए पनि एकै प्रकारको हुन्छ। धून बजाउने तरिका भने फरक हुने उनी बताउँछन्। नौमती बाजालाई प्रयोग गरेर बजाए आठ मात्रा बज्छ भने नौमती बाजाको प्रयोगबिना बजाउने हो भने सात मात्रामा बज्ने जंगमको भनाइ छ। 'मालश्री धून बजाउने समुदाय जुनसुकै क्षेत्रको भए पनि यसको भावना एकै प्रकार हुन्छ', उनी भन्छन्, 'भिन्नभिन्न जातिहरूमा वाद्यवादनका सामग्रीको उपलब्धताको आधारमा पनि मालश्री धून बजाउने गरिन्छ।'

    काठमाडौं उपत्यकाका नेवार सभ्यताभित्रको विशेष गरेर ज्यापु समुदायले मालश्री धूनको प्रवर्द्धन र संवर्द्धनमा ठूलो भूमिका खेलेको उनको तर्क छ। प्राचीनकालदेखि नेपाल सरकारले गुठीको स्थापना गरेर वर्षभरि पर्ने विभिन्न पर्वहरूका धूनहरू बजाउने प्रचलन रही आएको देखिन्छ। यसमा स्थानीय किसानहरूको बढी सहभागिता हुने उनी बताउँछन्। सरकारले यस्ता धूनको प्रवर्द्धनका लागि गुठी निर्माण गरेको उनी बताउँछन्। गुठीमा धून बजाउने व्यक्तिलाई जग्गा जमिन र वर्षभरि पुग्ने अन्नपात दिएर यसको प्रवर्द्धन गर्दै आएको उनको भनाइ छ।

    आम्दानीको स्रोतका लागि यो नै राम्रो विकल्प थियो भन्ने उनको ठम्याइ पनि रहेको छ। साधना गर्ने क्रममा खर्च पानीको अभाव नहोस् भनेर आर्थिक उपार्जनका लागि यस्तो प्रचलन गरिएको उनी बताउँछन। यो धून पुस्तापुस्तामा हस्तान्तरण गर्दै आजको मितिसम्म आइपुगेको छ। मालश्री धून काठमाडौं उपत्यकाका विभिन्न पिठहरूलगायत देशका विभिन्न पिठहरूमा बजाउने गरिन्छ।

    सुन्नुहोस् मालश्री धून :

राजु पौडेल

पत्रकार पौडेल २०७४ माघदेखि थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुची राख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]