|

सुर्खेत : कर्णाली प्रदेश सरकारले लगानी कर्तासँग वृहत छलफल गरेको छ। अन्तर्राष्ट्रिय दातृ निकायसँग कर्णालीको विकासका लागि बहुपक्षीय बृहत छलफल गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको बैठकमा कर्णालीको विकासका प्राथमिकता र सहयोगबारे छलफल भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए। 

बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका साथै प्रदेश सरकारका मन्त्री र सचिवहरु सहभागी भएका छन। दातृ निकायको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआइडीका रुरिक मार्सडेन लगायतका सहभागी भएका थिए। यो बैठकले कर्णालीको विकासका लागि लगानी भित्र्याउनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ता निकायसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न सघाउ पुर्‍याएको मन्त्री रावलले बताए।

कर्णालीमा लगानी गर्नका लागि प्राथमिकताका क्षेत्रका विषयमा छलफल भएको छ। ‘कर्णाली प्रदेशको लगानीका क्षेत्रका बारेमा लगानी कर्ता, दातृ निकायलाई प्रदेश सरकारका तर्फबाट स्पष्ट पारिएको छ‘, मन्त्री रावलले भने,‘यसले प्रदेशको विकासका लागि सहयोग हुने आफनो अपेक्षा सरकारको छ। ’प्रदेश सरकारले संघीय सरकार र दातृ निकायबीच समन्वय गरी कर्णालीमा विकास आयोजना भित्र्याउनको लागि महत्वपूर्ण छलफल भएको उनले बताए।

छलफलमा सहभागी भएका डिएफआइडीका एशिया निर्देशक रुरिकले कर्णाली प्रदेशको विकासमा साझेदार निकायले गर्ने लगानीका बारेमा प्रदेश सरकार र स्थानीय सरकारका प्राथमिकताहरू बारे जानकारी लिएको बताए। ‘प्रदेश र स्थानीय सरकारले गरेका काम, विकासका प्राथमिकता र नीति तथा कार्यक्रमबारे छलफल भएको छ’ रुरिकले भने, ‘योजना र नीतिगत अवस्थाका बारे जानकारी लिएर लगानीका लागि आधार तय हुन्छ।’ 

‘स्थानीय सरकारमार्फत प्रदेश सरकारले कसरी योजनाहरु कार्यान्वयन गरिरहेको छ भन्ने विषयमा जानकारी लिएका छौं,’ उनले भने, ‘कर्णालीमा डिएफआईडी, विश्व बैंक, युएनडीपी र इयुले विगतमा सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम तथा आगामी योजनाहरुबारे पनि प्रदेश सरकारसँग छलफल गरिएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.