|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमको संसद प्रवेश गर्ने चाहनालाई पूरा गर्न गत वर्षको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामाको घोषणा गरेका छन्। मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गर्दै सांसद मानन्धरले पार्टीको शीर्ष नेताका लागि आफूले ठाउँ खालि गरिदिएको बताए।

पार्टी नेतृत्वलाई राजीनामा स्वीकृतिका निम्ती निवेदन दिएको जानकारी दिँदै पार्टीले स्वीकृति दिएमा सभामुखलाई राजीनामा बुझाउने मानन्धरले बताए। 'पार्टीको बैठकले निर्णय गरेमा म आधिकारिक रूपमा राजीनामा दिन्छु', मानन्धरले भने, 'पार्टीले स्वीकृति दिएमा म सभामुखलाई राजीनामापत्र बुझाउछुँ। अहिले राजीनामाको स्वीकृतिका लागि पार्टीलाई पत्र दिएको हुँ।'

आफू पार्टीको सिपाही भएको भन्दै उनले पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि मान्न तयार रहेको बताए। जनताको एउटा मात्रै अपेक्षा भनेको विकास निर्माण भएको भन्दै उनले काठमाडौं ७ को विकासका लागि नेता गौतमका लागि खालि गर्न लागेको बताए। विकासका लागि स्थिरता चाहिने भन्दै मानन्धरले स्थिरताका निम्ती आफ्नो राजीनामा भएको स्पष्ट पारे। उनले भने, 'जनताको एउटा मात्र स्वार्थ भनेको विकास हो। जनताले सधैँ खै विकास?, शान्ति खै भन्नुहुन्छ, त्यसका लागि चाहिने कुरा स्थिरता हो नि!'

कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत भएको र मुलुक बनाउने आधारका लागि केही नेताहरूको खोजी  हुने गरिएको उनको भनाइ थियो। सोही मान्छेको खोजी  र व्यवस्थापन आवश्यक हुने र नेपालको वर्तमान सन्दर्भमा गौतमको व्यवस्था र आवश्यकता रहेको उनको भनाइ थियो। 

रामवीर मानन्धरको राजीनामालाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। आलोचकहरूले यसरी पराजित व्यक्तिलाई फेरि संसदमा ल्याउन राजीनामा गर्नु सही नभएको र जनमतको अपमान भएकोसमेत भन्न थालेका छन्। यसको आभाष पाएका मानन्धरले भने, 'जनताको अपेक्षा भनेको निर्माण, विकास हो। विकास गर्ने सवालमा कुनै अमुख कुराहरू पनि हुन सक्छ।' उनले अगाडि थपे, 'यो जनताको अपमान होइन, सम्मान हो। यो सम्मानबाट जनताले विकास पाउनेछन्।'

वामदेव संघर्ष गरेर इतिहास बोकेको नेता भएको मानन्धरको भनाइ थियो। उनले गौतम एकपटक हारे भनेर उनको इतिहालाई बिर्सन नहुने बताए। भने, 'उहाँको इतिहास हेर्नुस् उहाँ म जस्तो फुत्त आएको मान्छे त होइन। जनताले पत्याउने खालका काम हामीले ७ नम्बर क्षेत्रमा गरेका छौँ। धेरै ठाउँमा हारेको मात्रै कुरा नगरौं। जितेका पनि थुप्रै उदाहरण छन्।'

जनतासँग आफ्नो एकदमै नजिकको सरोकार र सम्बन्ध रहेको भन्दै मानन्धरले त्यस क्षेत्रको तीव्र विकास गर्नका निम्ती गरिएको पहलकदमी नै आफ्नो राजीनामा भएको बताए। 'हाम्रो पार्टीसँग यस्ता दस्ताहरू छन्। जसले संगठन बनाएका छन्। त्यो संगठन यस्तो चुस्त दुरुस्त बनाइएको छ कि अहिले होइन २० वर्षदेखि मैले चुनाव जित्दै आएको क्षेत्र हो। जनतालाई हामीले निराश बनाउने र तिरस्कार गर्ने कुरा कहिलेपनि गरेनौँ', उनले भने।

पार्टीको सिपाही भएका कारण भोलिका दिनमा पार्टीले दिने सबैखाले निर्णय मान्न तयार भएको उनको धारणा थियो। उनले भोलिका दिनमा राष्ट्रियसभा वा मन्त्री सम्म बन्न सक्ने संकेत गरे। भने, 'राष्ट्रियसभामा हुने भनेको पार्टीको निर्णय हो। पार्टीले निर्णय गरेमा दुईपटक होइन ६ वर्षका लागि पनि हुन सक्छ। मन्त्री पनि हुन सक्छ। प्रधानमन्त्री त नबनाउलान्। उपप्रधानमन्त्री पनि हुन सक्छ।'

गौतमलाई काठमाडौं ७ बाट चुनावमा उठाउनका निम्ती आफैँले सहज रूपमा प्रस्ताव गरेको भन्दै यसलाई शंकाको रुपमा नहेर्न उनले आग्रह गरे। 'सहज रुपले जनताको छेउमा विकास गर्ने क्षमता प्रस्तुत गर्नुपर्छ भन्ने मानसिकताका साथ मैले पहलकदमी लिएको हो।'

नेता गौतमको भूमिकाका कारण एमाले र माओवादीबीच पार्टी एकता भएको भन्दै मानन्धरले त्यस्तो नेतालाई सम्मान स्वरुप संसदमा उपस्थित गराएमा सबैका लागि गौरवको विषय हुने बताए।

मानन्धरले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो राजीनामाका निम्ती पत्र बुझाएको बताए। सोही पत्र सोमबार बसेको नेकपाको सचिवालय बैठकमा प्रचण्डले प्रस्ताव पेश गरेका थिए। उनले भने, 'दुई नेतालाई भेटेर मैले पत्र बुझ्नुस् भनेर अनुरोध गरे। उहाँहरूले पत्र बुझ्दाखेरि तपाईंले साँच्ची नै हो र भनेर भन्नुभयो। चिया ल्याउनुभयो। चिया खाएर फर्किए', मानन्धरले भने। आफ्नो राजीनामाका निम्ती आफैले नै अध्यक्ष प्रचण्ड र नेता गौतमलाई विस्वस्त गरेको उनको भनाइ थियो। 

आफ्नो मोह भनेको आफ्नो ठाउँको विकास निर्माण भएको भन्दै उनले आफूले थालेका कामको तीव्रताका साथ सम्पन्न हुनुपर्ने बताए। 'मेरो मोह भनेको त्यो ठाउँको विकास हो। कसैलाई शंका नगरौं। दुई तिहाइको सरकार जनताले बनाइदिएका छन्। अब जिम्मेवारी त नेताहरूको हो', मानन्धरले भने 'अब नेताहरूले काम गरेनन् भने जनताले पाखा लगाउँछन्। हेर्नुस न कुन कुन नेताहरू पाखा लाग्छन्।' 

दुई पटकसम्म वडा अध्यक्षमा जितेका नेता मानन्धर नेकपाको केन्द्रीय सदस्य हुन्। गएको प्रतिनिधिसभाको निर्वाचनमा मानन्धरले काठमाडौं ७ बाट १८ हजार १०२ मत ल्याएर निर्वाचित भएका थिए। त्यस क्षेत्रमा कांग्रेसले राप्रपाका विक्रमबहादुर थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका थापाले १० हजार ७९ मत ल्याएका थिए।

मानन्धरले २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालिन एकीकृत नेकपा माओवादीकी उम्मेदवार हिसिला यमीलाई पराजित गरेका थिए। नेवार समुदायको बाक्लो जनसंख्या रहेको यस क्षेत्रमा रामवीर मानन्धर लोकप्रिय नेता मानिन्छन्। उनी काठमाडौं ७ बाट दुई पटक सांसद निर्वाचित भएका थिए।

पढ्नुस्ः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.