|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई ठाउँ खाली गर्न काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्ने सांसद रामवीर मानन्धरले राजीनामा दिएसँगै कांग्रेसका लागि प्रतिपक्षमा एउटा सांसद थप्ने अवसर आएको छ। 

यसलाई अवसरको रूपमा लिएर कांग्रेसले उपनिर्वाचनमा लोकप्रिय उम्मेदवार उठाउँदै विजयी हासिल दाउमा छ। अब भने कांग्रेसले उक्त निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने दाबी गरेको छ। नेकपाले जनमतको कदर नगरेका कारण कांग्रेसका लागि अवसर भएको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्।

‘हाम्रा लागि यो ठूलो अवसर हो। हामी लोकप्रिय उम्मेदवार उठाएर यहाँ जीत हासिल गर्छौं’, उनले भने, ‘जनताद्वारा एक कार्यकालका लागि मानन्धरजीलाई पठाएका थिए भने वामदेवजीलाई बाहिर बस्न अनुमति दिएका थिए। उहाँ बाहिर बस्न सक्नुभएन। नेकपाले जनमतको कदर गर्न सकेन।’ यो उपनिर्वाचनबाट कांग्रेसले जनताको सरकारप्रतिको अलोकप्रियता पुष्टि गर्ने दाबी पनि गरे। ‘सरकार अहिले धेरै अलोकप्रिय छ। प्रधामन्त्रीको राष्ट्रवाद पनि जनताले देखिसके’, उनले भने, ‘अब हामीले यहीबेला हो सरकारको अलोकप्रियता पुष्टि गर्ने।’ 

प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाएको थिएन। कांंग्रेससले राप्रपाका विक्रमबहादुर थापालाई सहयोग गरेको थियो। त्यसबेला वाम गठबन्धनका मानन्धरले १८ हजार १०२ मत ल्याएका थिए भने कांग्रेसको समर्थनमा उठेका थापाले १० हजार ७९ मत ल्याएका थिए। तर अब भने सरकारको अलोकप्रियताका कारण आफूहरूले जित्ने प्रवक्ता शर्माको दाबी छ। 

कांग्रेसबाट को बन्ला उम्मेदवार?

मानन्धरले मंगलबार मात्र राजीनामा दिएकाले अहिलेसम्म को उम्मेदवार बन्ला भन्ने खासै चर्चा छैन। कांग्रेसले पनि जनताको मन जित्न सक्ने उम्मेदवार उठाउने जनाएको छ। ‘यही भन्ने छैन। त्यहाँको जनताको मन जित्न सक्ने उम्मेदवार उठाउँछन्’, प्रवक्ता शर्माले भने, ‘अब हामी तयारीमा लाग्छौँ।’

काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति तथा काठमाडौं- १६ का वडा अध्यक्ष मुकुन्द रिजालले पनि युवा नेतालाई उठाउने बताए। ‘हुनत पार्टीले निर्णय गर्ने हो। पार्टीको हामीले सहमति जनाउनुपर्छ’, उनले भने, ‘तर हामी जनताको मन जित्न सक्ने भरसक युवा नेता उठाउँछौँ।’

कांग्रेसमा निर्वाचन हारेका धेरै शीर्ष नेताहरू छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचनमा पराजय व्यहोरेका हुन्। उनी अहिले काठमाडौंको क्षेत्र नम्बर ७ मै बस्दै आएका छन्। तर उनका निकटका अनुसार उनको नाम पनि चर्चामा रहे पनि वामदेव गौतमसँग निर्वाचन लड्न उनले खासै चासो देखाएका छैनन्। तर वरिष्ठ नेता भएका कारण चर्चा आउनु स्वाभाविक भएको उनी निकट स्रोत बताउँछ। 

यसैगरी झापा क्षेत्र नम्बर ३ बाट निर्वाचनमा पराजित नेता कृष्णप्रसाद सिटौलाको पनि चर्चा छ तर उनको पनि सम्भावना भने न्यून छ। उक्त क्षेत्रमा निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि पहिलो पुस्ताबाट नेता अर्जुननरसिंह केसीको सम्भवाना देखिन्छ। उनी लामो समयदेखि क्षेत्र नम्बर ७ सँग निकट रहेकाले उनको सम्भावना देखिएको पार्टी निकट स्रोतले बताएको छ। उक्त क्षेत्रमा नुवाकोटबाट बसाइँ सरी आएकाको संख्या धेरै भएकाले उनको सम्भावना धेरै देखिन्छ।

यस्तै, यसअघि राप्रपाबाट उक्त क्षेत्रमा राप्रपाबाट प्रतिस्पर्धा गरेका थापा केसीको नाताले सम्धी हुन्। केसीले निर्वाचनको समयमा पनि नुवाकोटमा प्रचार सकेर काठमाडौं ७ मा प्रचारका लागि सहभागी भएका थिए। उनी उपनिर्वाचनमा प्रतिस्पर्धा गरे राप्रपाले पनि सहयोग गर्ने सम्भावना रहन्छ। 

यस्तै, उक्त निर्वाचन क्षेत्रमा युवा पुस्ताको सम्भावना धेरै रहेको कांग्रेसका एक शीर्ष नेताले बताए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको पनि नाम चर्चामा छ। उनी सभापति शेरबहादुर देउवा निकट भएका कारण उनको नाम चर्चामा रहेको हो। उनी चर्चित युवा नेतामा पनि पर्छन्। उनी यसअघि झापा क्षेत्र नम्बर १ बाट पराजित भएका थिए। 

युवा नेता प्रदीप पौडेलको नाम पनि चर्चामा छ। सिटौला निकट नेता पौडेलले पनि आफू निर्वाचनमा प्रतिस्पर्धा गर्ने आकांक्षा देखाएका छन्। गत म‌ंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि उक्त क्षेत्रबाट पौडेलको नाम चर्चामा थियो तर राप्रपासँग सहकार्य गर्ने भएपछि पौडेल तनहुँबाट प्रतिस्पर्धा गरेका थिए। त्यस कारण उनको सम्भावना रहेको छ।यस्तै, गुरु घिमिरे र धनराज गुरुङले यसअघि पनि टिकट नपाएका कारण उनीहरूको पनि नाम चर्चामा छ। 

काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेसका प्रभावशाली नेता खासै छैनन्। क्षेत्रीय सभापति रिजाल काठमाडौं- १६ का अध्यक्ष भएका कारण उनको सम्भावना न्यून छ। कांग्रेसका काठमाडौं सभापति सवुज बानियाँले यसअघि पनि टिकट नपाएका कारण उनले पनि यस पटक अवसर पाउन सक्छन् तर केन्द्रका नेता नै खाली रहेका कारण उनको पनि सम्भावना न्यून रहेको स्रोत बताउँछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.