|
फाइल फोटो

गोरखा : गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ। लिगलिगकोट विकास अभियानले सदरमुकाममा  मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५ को तयारी तीव्र रुपमा अघि बढेको जनाएको छ।

विसं १६०४ देखि सुरु भएको मानिने सोे दौड विगत नौ वर्षदेखि हुँदै आएको छ। अभियानका अध्यक्ष पूर्णबहादुर रानाले विगतका वर्षमा जस्तै गोरखाको लिगलिग कोटको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई चिनाउन प्रतियोगिता गर्न लागिएको जानकारी दिए। 

सोदौड चेपे र मस्र्याङ्दी नदीको दोभानबाट सुरु भई ढिकी डाँडा, ठाँटी पोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर अन्त्य हुने छ। १३.८ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद ६० हजार १०० को साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदूतको व्याच प्रदान गरिने रानाले जानकारी दिए। 

साथै प्रतियोगिताको उपाधि विजेतालाई एकरात लिगलिगमा राजाका रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने उनले बताए। त्यस्तै दोस्रो हुनेलाई नगद ३५ हजार र तेस्रो हुनेलाई नगद २५ हजारको साथमा सम्मान गरिने छ। नवौँ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

स्वदेशी तथा विदेशी नागरिकले भाग लिन पाउने सो प्रतियोगितामा नेपालीलाई दर्ता शुल्क  एक हजार र विदेशीलाई पाँच हजार लाग्ने छ। प्रतियोगिता सम्पन्न गर्नका लागि कूल २८ लाख ५५ हजार लाग्ने अनुमान गरिएको छ। बडडाँडादेखि लिगलिगकोटसम्मको पाँच किलोमिटर दूरीको महिला खुला दौड प्रतियोगिता समेत हुनेछ। सो दौडमा पहिलोले २० हजार पाँच, दोस्रो हुनेले १२ हजार पाँच र तेस्रो हुनेले सातहजार पाँच रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.