|

लहान : सप्तरीका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसा बढेपछि सप्तरीमा बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहीता अभियान सुरू गरेका छन्। जिल्ला सदरमुकाम राजविराजमा विभिन्न पेशा र क्षेत्रका युवा, महिलाहरूले मंगलबार अपरान्ह र्‍याली गर्दै बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान अभियानको थालनी गरेका हुन्। 

अभियानको थालनी गर्दै राजनीतिकर्मी, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायी, प्रहरी, सामाजिक कार्यकर्ता, तेस्रो लिंगी, बाल क्लव, किशोरीहरूले महिला हिंसा, दुर्व्यहार, विभेदकारी कार्यविरुद्ध अभियानलाई जिल्लाव्यापी बनाइने बताए। 

लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको नेतृत्वमा राजविराजस्थित महादेव मन्दिरबाट निस्किएको र्‍यालीले बजार परिक्रमापछि स्थानीय शहीद दशन चोकमा कोण सभामार्फत् अभियानको थालनीको घोषणा गरिएको छ। सञ्जालका अध्यक्ष मनोहरकुमार पोखरेलले जिल्लाका विभिन्न ठाउँमा पछिल्लो नौ महिनाको अवधिमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया बृद्धा समेत गरी ४० जना बलात्कृत भएको घटना लज्जास्पद भएको औंल्याउँदै जिम्मेवारी पन्छाउनु भन्दा सबैले जवाफदेहिता लिनुपर्ने आैल्याए। 

कोणसभामा वक्ताहरूले परम्परागत धर्म, संस्कृति, मूल्य मान्यता, सोच र चिन्तन परिर्वतन नगरेसम्म महिलाविरुद्ध हुने सबै खाले विभेद र हिंसाको अन्त्य नहुने चर्चा गर्दै मानवअधिकारमैत्री संस्कृतिको विकासमा जोड दिए। उनीहरूले राजनीतिक दल, नागरिक समाजमा मानवअधिकार संस्कृतिको विकास, प्रतिबद्धता र इच्छा शक्तिमा कमी रहुञ्जेल समग्र मानवअधिकारको अवस्था दयनीय रहने भन्दै हिंसाविरुद्ध एक स्वरमा बोल्नु पर्ने खाँचो औंल्याए।

कोणसभामा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटा, महिला तथा बालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक सुजाता तुम्वाहाम्फे,अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष सुनिता साह, अधिवक्ता मनु खनाल लगायतले राजनीतिमा भइरहेको अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरी दण्डहीनता अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.