|

सिन्धुली : विद्यालयमा कतिसम्म पढाई हुन्छ? कक्षा पाँच सम्म। कति जना शिक्षक छन्? ३ जना। विद्यार्थी कति? ६ जना । तपाई अचम्म पर्नुभयो होला हैन्? अचम्म नमान्नुस प्रावी स्तरको विद्यालयमा जम्मा ६ जना विद्यार्थी विद्यालयमा पढ्न आउछन्।  

विद्यालयको बाहिरी वातावरण र भौतिक संरचना हेर्दा यस्तो लाग्छ विद्यालयमा सयैंको हाराहारीमा विद्यार्थी विद्यालय पढ्न आउछन्। सयैंको हाराहारीमा विद्यार्थी अट्न सक्ने शैक्षिक पूर्वाधार प्रशस्तै छन्। पढ्न र पठाउन आवश्यक पर्ने डेक्बेन्च, बोर्ड, शौचालय, लगायत केही शैक्षिक सामाग्री विद्यालयमा छन्। बर्सेनीजसो राज्यको लाखौं लगानी पनि गरिरहेको छ। 

प्राथमिक विद्यलायस्तरको विद्यालयमा बाल विकास केन्द्रमा ३ जना र कक्षा एक देखि ५ सम्म मात्र ३ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा शिक्षक भने ३ जना छन्। सुन्दा अचम्म र अनौठो लाग्ला तर पनि विगत दुई तीन वर्षदेखि विद्यालयको अवस्था यस्तै छ। कमलामाई नगरपालिका –२ बेसारेमा रहेको श्री ठाकुर प्राथामिक विद्यालय बेसारे, सिन्धुलीको अवस्था अहिले यस्तै छ। विद्यालयमा छ जना विद्यार्थी नियमित रुपमा पढन आउँछन्। छ जना विद्यार्थीका लागि राज्यले ३ जना शिक्षक कर्मचारीको व्यवस्थापन मात्र गरिदिएको छैन करौडौको संरचना पनि ठडाइदिएको छ। 

विद्यालयमा एक जना दरबन्दी, एक जना राहत र एक जना बाल विकास केन्द्रका शिक्षक गरी ३ जना शिक्षक छन्। ६ जना विद्यार्थीलाई तिनै शिक्षकले  पढाइरहेका छन्। विद्यालयले नगरपालिकामा दिएको विवरण अनुसार विद्यालयमा शिशु कक्षामा २ जना छात्रा, एक जना छात्र, कक्षा १ देखि कक्षा ५ सम्म तिन जना छात्रा मात्र विद्यालय आउने गर्छन्। 

विगत ३ वर्षदेखि उक्त विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ। अत्यन्त न्यून विद्यार्थी भर्ना हुन आउने गरेको विद्यालयका प्रधानाध्यापक सुमित्राकुमारी आचार्यले जानकारी दिइन। प्रधानाध्यापक आचार्यले विद्यालयमा भर्ना १५ जना विद्यार्थी भएको र पढनका लागि थोरै आउने गरेको बताए।

पछिलो समय जिल्लाका सामुदायिक विद्यालयको अवस्था विद्यार्थीविहीन बन्दै गइरहेको छ। कमलामाई नगरपालिकामा मात्रै न्यून विद्यार्थी भएका विद्यालय पाँचवटा रहेको नगरपालिकाले जनाएको छ। विद्यालय स्थापनाकालमा विद्यार्थी संख्या राम्रै रहेको थियो। पछिल्लो समयमा मात्रै शिक्षक र विद्यार्थी बराबर जस्तो हुन थालेका हुन्। विद्यालयलाई अन्य विद्यालयसँग मर्ज गर्ने तयारी गरिएको दुई नम्बर वडाका वडाअध्यक्ष नवराज थिङले जानकारी दिए।    

नगरपालिकाको थाक्लेफेदी, बाल्दिङ, पचभैया, सुनडाँडा हात्तीगौडामा रहेका विद्यालयहरुको अवस्था पनि यस्तै छ। नगरपालिकाका शिक्षा शाखा संयोजक धु्रवप्रसाद कोईरालाले विद्यार्थी संख्या कम भएका विद्यालयहरु पहिचान गरेर प्रभावकारी उपाय खोजिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.