समाज

घटस्थापनाका लागि अनिवार्य प्यँचाः
SHARES

असोज २४, २०७५

    भक्तपुर : प्यँचाः परालले बनेको गोलाकार वस्तु हो। गाग्री, ध्याम्पोलगायतका भाँडाकुँडा राख्न प्यँचाः प्रयोग गरिन्छ। नेवार समुदायमा घटस्थापनाको दिन जमरा राख्ने भ्य्य (भ्यूँत) राख्न प्यँचाः नभई हुँदैन। आधुनिक प्रविधिसँगै नयाँ–नयाँ वस्तुको उत्पादनले प्यँचाःको प्रयोग लोप हुने अवस्थाको छ। यद्यपि, दशैंमा जमरा राख्ने भ्य्य राख्न यसको प्रयोग गरिँदै आइएको छ।

    कमल विनायक–१० की शिवलक्ष्मी जतीका अनुसार नयाँ धानको परालबाट घटस्थापनामा जमरा राख्ने भ्य्यको आशनका लागि प्यँचाः चाहिने मान्यता छ। नेवार समुदायले आश्विन शुक्ल प्रतिपदाको दिन आ–आफ्नो घरको पूजाकोठामा मोहनी नखाःको आह्वान र नवदुर्गा भवानीको संकल्प गरी माटोको नयाँ भ्य्यमा जमरा राख्ने गर्दछन्। जमरा राखेको भ्य्यलाई परालले बनेको प्यँचाःमाथि राख्ने प्रचलन छ।

    पछिल्लो समय भक्तपुरमा जमरा राखिएको वस्तु प्यँचाःमा राख्ने प्रचलन नेवार समुदायबाहेक अन्य समुदायमा पनि बिस्तार हुन थालेका छ। जमरा राखेको वस्तु राख्ने प्यँचाः नयाँ हुनुपर्ने मान्यता छ। त्यसैले प्रत्येक आश्विन शुक्ल प्रतिपदाको दिन प्यँचाः बनाउने गरिन्छ।

    आश्विन शुक्ल प्रतिपदाको दिनदेखि पूर्णिमासम्म १५ दिन राखिने जमरा माटोको भाँडामा राख्ने भएकाले त्यसलाई जोगाउन प्यँचाःमा राख्ने गरिएको हो। ‘माटोको भाँडो एकदमै कमजोर हुने भएकाले त्यसको संरक्षणको निम्ति प्यँचाःको प्रयोग भएको हो,’ शिवलक्ष्मीले भनिन्, ‘जमरा राखेको भ्य्य फुट्यो भने घरमा अशुभ हुने नेवार समुदायमा धार्मिक विश्वासले पनि प्यँचाः प्रयोग गरिएको हो।’

    प्यँचाः बनाउन धेरै समय लाग्दैन। हरियो परालको प्यँचाः बनाउन अलि गाह्रो हुन्छ। घटस्थापना गर्न नयाँ हरियो पराल चाहिने भएकाले दुई तिन दिन अगाडिदेखि नै पराल घरमा ल्याई राख्ने चलन छ। 

    माटोको भाँडोलाई मिलाएर राख्न प्रयोग हुने प्यँचाः पछिल्लो समयमा आधुनिक सामानहरु आएका कारण हराउँदै गएको हो। पहिला पहिला माटोको ध्याम्पो, गाग्री, खाना पकाउने भाँडोलगायत भाँडाकुँडा प्रयोग हुने प्यँचाः घरघरमा स्टिल, ढलोट, काँस, पित्तलजस्ता धातुको सामग्रीको प्रयोगले अहिले जमरा राख्ने वस्तु राख्न प्रयोग हुँदै आएको छ।

    नेवार संस्कृतिमा पराल जन्म देखि मृत्यु संस्कारसम्म प्रयोग हुने गरेको छ। विषेश गरी भक्तपुर किसान समुदायको वर्चश्व रहेको ठाउँ हो। यहाँको हरेक संस्कार परालबाट सुरुवाट गरी परालबाटै अन्त्य गरिन्छ।

    नेवार समुदायमा बच्चा जन्मिँदा नचोखाएसम्म सुत्केरी र बच्चालाई परालमा सुताइने परम्परा अहिले पनि भक्तपुर छ। मृत्यु हुँदा पनि घरमै मरेको खण्डमा छिँडीमा गोबरले लिपेर त्यसमाथि पराल राखी मृतकलाई राख्ने प्रचलन छ। मृत्यु संस्कारमा नेवार समुदायले सात दिनमा मृतकलाई भात दिँदा सानो ध्याम्पोको तल प्यँचाः राख्ने परम्परा रहेको छ। 

    नेवार समुदायमा चाडपर्वको सुरुवात मानिने गठेंमुगः चर्‍हेमा परालबाटै घण्टाकर्ण राक्षसको प्रतिक निर्माण प्रचलन अहिले पनि जीवितै छ। इतिहास तथा संस्कृतिकर्मी प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले पराल भैरवको प्रतीकका रुपमा लिन मिल्ने बताए। 
    उनले भने ‘गाईजात्रामा सापारुको साँझ परालबाट बनाइएको आकाश भैरवको प्रतीक गाईलाई नगर परिक्रमा गराई सापारुको समापन गरिन्छ। यस मानेमा पराल भनेको भैरव हो।’

    भैरव महादेवको एक अर्को रुप हो। घटस्थापना गर्दा प्यँचाःमा भ्य्य राखी जमरा हाल्नु भनेको नवदुर्गा भवानीको रक्षकको रुपमा शिवलाई राखेको हो। यसलाई शिव शक्तिको मिलनका रुपमा पनि लिन सकिने श्रेष्ठले बताए।

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]