|
फोटो : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

वालिङ (स्याङ्जा): स्याङ्जाको वालिङ नगरपालिका ८ दमाई डाँडाकी सुकमाया दर्जीको घर २०७२ वैशाखमा गएको भूकम्पले बस्नै नहुने गरी भत्कायो। कच्ची घर भए पनि बस्नै डर लाग्दो भएपछि त्यो घर भत्काएर दर्जीले दुई तले पक्की घर बनाइन्। गरिब परिवार जसोतसो ऋण गरेर घर बनाइन् सुकमायाले। घर बनाउन सुरु गर्दै गर्दा श्रीमान अर्की श्रीमती लिएर भारततिर भागे।

आर्थिक उपार्जनको बाटो नभएकी सुकमायाले जसोतसो गरेर घर ठड्याइन्। ऋण गरेर भए पनि ठड्याएको घरमा बस्न पाउँदा निकै खुसी थिइन्, उनी। एकातिर घर बनाउँदाको ऋण थियो नै, ऋण भए पनि नयाँ घरमा बस्न पाउँदाको खुसीले केही सान्त्वना मिलेको थियो। तर त्यो खुसी लामो समय टिक्न सकेन।

दुःख गरेर बनाएको घरलाई गत जेठ ७ गते आएको पहिरोले जोखिममा पारिदियो। भिरालो जमिन भएका कारण त्यो स्थान पहिलोको उच्च जोखिममा छ। जम्मा दुई आनामा बनेको घरको अघिल्लो भाग सबै पहिरोले लगिसक्यो अझै पनि डरै डरमा बसेका छन्, उनीहरू।

जेठ ७ गते राति पहिरो आउँदै गर्दा उनीहरू खाना खाँदै थिए। घर माथिबाट पहिरो झर्‍यो। पहिरोले सुकमायाको घरको अघिको भाग बगायो। पहिरोसँगै उनलाई पनि बगायो तर धन्न केही भएन। सामान्य चोट मात्र लाग्यो। रातारात नगरपालिकाबाट जनप्रतिनिधि पनि आए।

उनीहरूलाई अर्को ठाउँमा राख्ने व्यवस्था मिलाउने कुरा भयो। तर उनीहरूको आफ्नो जग्गा कहीँ छैन। जग्गाको नाममा त्यही दुई आना मात्र छ। त्यसैले नजिकै रहेको छिमेकीको जग्गामा उनीहरूलाई त्रिपाल टाँगेर नगरपालिकाले नै अस्थायी रूपमा बसोबास गर्ने ठाउँ बनाइदिएको छ। तर त्यो जग्गा पनि आफ्नो नभएका कारण जग्गाधनीले छाड्न दबाब दिइरहेका छन्।

अहिले त्यो त्रिपालमुनि तीन परिवारका १३ जना बस्दै आएका छन्। सानो ठाउँ भएकाले उनीहरू जसोतसो मिलेर बसेका छन्। ‘अर्काकोमा बसेका छौँ। यहाँ अब नबस्नु त भनिरहेका छन् नि। तर के गर्ने अरू बस्ने ठाउँ नै छैन’, सुकमाया भन्छिन्,‘ यो एउटा सानो त्रिपालमुनि १३ जना जसोतसो बसेका छौँ। घाम लागेको दिन भत्किन लागेको घरमा बस्दै छौँ।’

सुकमायासँगै जेठानी डोलमाया र सासु टीकामायाको घर पनि पहिरोले भत्कायो। उनीहरू सबैले ऋण गरेर घर बनाएका थिए। तर बस्नै नपाई पहिरोले घर भत्काएपछि अहिले विचल्लीमा छ उनीहरूको परिवार। धन्न सुकमायाको घरमा त जोखिम मोलेरै भए पनि बस्न मिल्ने छ तर डोलमाया र टीकामायाको घर त पहिरोले बस्नै नहुने गरी भत्काएको छ।

भूकम्पले घर भत्कायो। बस्न त पर्‍यो नै। त्यसकारण हतारहतार घर दमाईं डाँडाका तीन परिवारले हतारहतार घर बनाए। सुरुमा पुनर्निमाणका लागि सरकारले दिने पहिलो किस्ता अन्तर्गतको ५० हजार रुपैयाँ उनीहरूले पनि पाए। त्यो पैसाले भिरालो जमिन खार्न पनि पुगेन। अब पाउनुपर्ने दोस्रो र तेस्रो किस्ता उनीहरूले नपाउने निश्चित जस्तै छ। उनीहरूको घर मापदण्डमा नरहेका कारण अब उनीहरूले सरकारी सहयोग पाउन निकै मुस्किल पर्ने त्यहाँ खटिएका इञ्जिनियरहरू बताउँछन्।

सरकारी मापदण्डअनुसार यस्तो भिरालो जग्गामा घर बनाउन पाइँदैन। तर अन्य ठाउँमा नभएपछि उनीहरूलाई घर बनाउन अनुमति दिइएको उक्त स्थानमा खटिएका इञ्जिनियर हेमन्त ऐरले बताए। ‘हुन त यो जग्गा मापदण्डमा छैन’, उनले भने,‘तर उहाँहरूको अन्य ठाउँमा जग्गा नभएपछि हामीले अनुमति दियौँ।’ अहिले त्यहाँका तीन घर दैनिक घर नगरपालिका धाइरहेका छन् रे। ‘उहाँहरूको घर बनिसकेकाले दोस्रो र तेस्रो किस्ता माग्दै नगरपालिका दिनैपिच्छे आउनुहुन्छ’, उनले भने,‘तर यस्तो धराप अवस्थामा रहेको घरलाई कसरी सिफारिस गर्ने?’

उनीहरूको आर्थिक अवस्था निकै नाजुक भएका कारण आफूहरूले पनि पहल गरिरहेको ऐरले बताए। एनले वस्ती स्तानान्तरणका लागि पनि कुरा उठाएको बताए।

दर्जी परिवार दैनिकी चलाउन अर्काकोमा मेलापात गर्दै आएको छ। तीनै परिवार दैनिक अर्काकोमा काम गर्न जाने गरेको सुकमायाले बताइन्। ‘गरेर खानलाई आफ्नो माटो छैन’, उनले भनिन्, ‘अर्काकोमा दिनदिनै घाँस काट्न जान्छु। एक सय रुपैयाँ दिन्छन्। त्यसले कतिनै पुग्छ र। दिनभरि काम गर्‍यो बेलुका खायो, सक्यो।’

घर बनाउँदा १५ लाखभन्दा धेरै ऋण गरेकी रहिछन् सुकमायाले, अहिले तिर्न समस्या भएको उनी बताउँछिन्। ‘अब यत्रो ऋण लाग्यो पहिरो गए पनि यही ठाउँमा बस्नुपर्ला’, उनले भनिन्,‘पाँच लाखको किस्ता महिनैपिच्छे बुझाउनुपर्छ। अरू ऋणमा पपा साहुले किचकिच गरिरहेका छन्। एउटा छोरा ग्यारेजमा काम गर्छ। त्यस्ले केही पुग्दैन। भूकम्पको पैसा आउँछ र ऋण तिर्न केही पुग्छ कि भन्ने आशा थियो अहिलेसम्म आएन।’ अब घर बनाउने योजना रहेन छ उनको। ‘जतिसकेँ बनाएँ। अब त कसरी बनाउने र। यस्तैमा भए पनि जवरजस्ती बस्नु त पर्‍यो नि।’

दर्जी परिवारलाई नगरपालिकाले भने स्थानान्तरणको पहल गरिरहेको रहेछ। उनीहरूको जग्गा त्यही भिरालो ठाउँमा मात्र भएकाले अर्को ठाउँमा जग्गा किनेर स्थानान्तरणको प्रक्रिया सुरु गरिएको वालिङ ८ का वडाअध्यक्ष कमल सुवेदीले बताए। ‘उहाँहरू पनि भूकम्पपीडित हो। घर बनाउँदै हुनुहुन्थ्यो पूरा नगरी बहिरोले भत्कायो। अब त्यहाँ बस्न उचित छैन’, उनले भने, ‘अब उहाँहरूलाई स्थानान्तरण गर्न जग्गाको खोजि भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.