|

काठमाडौं : फरक समय। फरक परिवेश। फरक परिचय। नेपाल सरकारको प्रशासनिक तहको उच्च पद मुख्य सचिवबाट सेवा निवृत्त डा. भोजराज घिमिरेले कूटनीतिक क्षेत्रमा समेत योगदान गरिसकेका छन्। उनी क्यानडाका लागि पूर्व नेपाली राजदूतसमेत हुन्।

उनी अहिले छन्द र बहरबद्ध गजलसंग्रह 'निर्बन्ध आकाश' र 'उन्मुक्त किनारा' सार्वजनिकको तयारीमा छन्। उनका दुईवटा एकल एल्बम पनि बजारमा आइसकेका छन् भने अर्को एउटा एल्बममा शब्द लेखेका छन्। यसरी नै घिमिरेका चारवटा गजलसंग्रह, एउटा गीतसंग्रह र एउटा कवितासंग्रह प्रकाशित छन्।   

स्कुल पढ्दाताका नै उनको साहित्यमा रुचि थियो। स्कुलमा हुने कविता प्रतियोगितामा उनी प्राय: प्रथम हुन्थे। प्रथम हुनु आफैँमा साहित्यमा लाग्नका निम्ति पहिलो आधार थियो। समयक्रमसँगै साहित्ययात्रा उनको ब्रेक भयो। खासगरी परिवार र आफन्तले आफूप्रति पढेर केही गर्नुपर्छ भन्ने उनीमाथिको विश्वासका कारण उनले पढाइमा मात्र ध्यान केन्द्रित गर्न थाले। एसएलसीपछि उनी साइन्स पढ्न थाले। साइन्स पढ्न थालेपछि बाहिरी किताब पढ्ने समय भएन उनलाई।

साइन्स आफैँमा गाह्रो र अफ्ट्यारो विषय भएकाले बाहिर निस्किएर अरू साहित्यका किताब पढ्ने रहरका बाबजुद पनि पढ्न नसकेको उनी बताउँछन्। तर साहित्यप्रतिको प्रेम भने उनमा जीवित थियो।

२२ वर्ष निजामती सेवा र चार वर्ष कूटनीतिक सेवामा रहेर काम गर्दा जिम्मेवारीपूर्वक गर्नुपर्ने हुनाले उनले साहित्य लेख्ने भित्री चाहनालाई गुम्स्याएर राखे। सरकारको नुनपानी खाएपछि सरकारी काममै मात्र खटिए उनी।

२०६० सालतिरको कुरा हो, उनका नजिकका एक मित्रले गीतको एल्बम गर्दै थिए। त्यस एल्बमका लागि उनका साथीले एउटा गीत लेख्न आग्रह गरिदिए। उक्त साथीको आग्रहलाई उनले नकार्न सकेनन्। वर्षौंदेखि गुम्सिएको लेखन यात्रा ती साथीको उक्त भनाइपछि बाहिर आयो। तत्काल उनले एल्बमको शीर्ष गीत लेखिदिए- 'मेरो गुनगुनाइहरूमा।' उक्त गीत नै उनको पहिलो रेकर्डेड गीत थियो। त्यसपछि उनमा लेख्नुपर्छ भन्ने सोच आयो।

हुनत उनले आइएस्सी पढ्दा एउटा उपन्यासको पाण्डुलिपि पनि तयार पारेका थिए तर कोठा सर्दा हराए। उनलाई उक्त उपन्यास हराएको चिन्ता लाग्छ अझै। भन्छन्, 'कहिलेकाहीँ श्रीमतीसँग यही विषयमा गुनासो पनि गर्छु तर जतन गर्न नसक्नु मेरो आफ्नै गल्ती थियो।' आइएस्सी पढ्दा उक्त कृति लेखिसकेपछि उनले त्यसपछि कहीँ कतै पनि साहित्यको उच्चारणसमेत गरेनन्। उनी भन्छन्, 'कहिले पढाइले चेप्यो त कहिले जागिरले।' ०६० सालपछि साथीले कर गर्न थालेपछि उनले आफ्नो लेखन अगाडि बढाए।

पछिल्लो क्रममा उनी गजल मात्र लेख्छन्। गजलप्रतिको मोह उनलाई ज्यादा रहेको बताउँछन्। आफूले जागिर खाँदा भोगेका तीता मीठा अनुभव उनले गजल, गीत र कथामार्फत् नै प्रस्तुत गर्छन्। उपन्यास पनि उनले लेख्ने कोसिस नगरेका होइनन् तर आफैँ सन्तुष्ट हुन नसकेको बताउँछन्। निजामती र कूटनीतिक सेवामा रहँदा प्राप्त अनुभव र अनुभूतिहरू साहित्यमार्फत् लेखिरहँदा गोपनीयता भंग भएजस्तो लाग्दैन? भन्ने प्रश्नमा उनी भन्छन्, 'जिन्दगीको कालखण्डमा सबैका आफ्नाआफ्ना भोगाइहरू हुन्छन् नै तर प्रस्तुति कसरी गरिन्छ भन्ने सबैभन्दा मुख्य कुरा हो। सकारात्मक प्रभाव र सुझावका हिसाबले लेख्ने हो भने राज्यलाई फाइदा नै पुग्छ। यसमा खासै अप्ठ्यारो हुन्छ भन्ने मलाई लाग्दैन।' सुनियोजित रूपमा राज्यको दोहोलो काढ्ने हिसाबमा लेख्ने हो भने पक्कै पनि अप्ठ्यारो हुने र यस्तो प्रवृत्ति आफैँलाई पनि स्वीकार्य नहुने उनको भनाइ छ।

उनका जति पनि कृति बजारमा आएका छन्, ती कृतिबाट आएको रकम उनले साहित्य क्षेत्रमा काम गरिरहेका संस्थालाई दिने गरेका छन्। लाभ भन्दा पनि आत्मसन्तुष्टिका लागि लेख्ने उनको भनाइ छ।

आफ्ना कारणले अरूलाई चोट पुर्‍याउने प्रवृत्तिबाट आफू टाढा रहेको उनले बताए। जनआन्दोलनपश्चात बनेका तीन सरकारको पालामा मुख्य सचिवको पदमा बसेर उनले काम गरेका छन्। तर त्यस बेलाका राष्ट्रिय जीवनका आन्तरिक कुराहरूमा आधारित रहेर संस्मरण लेख्ने कुरा आफूले नसोचिसकेको उनी बताउँछन्। भन्छन्, 'संस्मरण लेख्ने समय भइसकेको छैन। अर्को कुरा सरकारी जागिर खाँदा शपथ खाएको छु। माननीय प्रधानमन्त्रीज्यूहरूलाई सुझाव दिने वा अन्तर्क्रियाहरू मैले पेसागत आधारमा गरेको हुँ। यस कारण मैले आफ्नो धर्म पनि निभाउन जरुरी छ। बाहिर ल्याउन जरुरी छैन।'

संस्मरणको आवश्यकता र माग आयो भने लेख्न पनि सक्ने उनी बताउँछन्। अहिलेचाहिँ गजल लेखनमा नै आफू बढी आकर्षित रहेको उनले बताए। जीवनी, उपन्यास, कथा, कविता पढ्नचाहिँ उनलाई खुबै मनपर्छ रे! निबन्ध त्यति मनपर्ने विधा होइन उनका लागि।

उनले यसअघि नै तीनवटा गजलकृति बजारमा ल्याइसकेका छन्, जुन गैरबहरमा आधारित छन्। साइन्सको विद्यार्थी भएकाले पहिले भाषाको त्यति ज्ञान नभएको र पछिल्लो क्रममा भाषाको अध्ययनले नयाँ छन्द र बहरबद्ध गजल लेख्न हौसिएको उनको भनाइ छ। 'छन्दमा लेख्नै गाह्रो छ तर यो दुनियाँमा सजिलो केही छैन। मिहिनेत, अध्ययन र साधना नै मुख्य कुरा हो', उनी भन्छन्। उनले कथाको पाण्डुलिपि पनि तयारी अवस्थामा रहेको जानकारी दिए। उनले नेपाली बालबालिकालाई धर्मपुत्र र धर्मपुत्री बनाएर विदेश लैजाने गरेको र उनीहरूले भोगेको जीवनबारेको तथ्यपरक उपन्यास लेख्ने हुटहुटीचाहिँ बढेको बताउँछन्।

उनका जति पनि कृति बजारमा आएका छन्, ती कृतिबाट आएको रकम उनले साहित्य क्षेत्रमा काम गरिरहेका संस्थालाई दिने गरेका छन्। लाभभन्दा पनि आत्मसन्तुष्टिका लागि लेख्ने उनको भनाइ छ। देशको राजनीतिक परिवेश, जीवन र जगतका विषयवस्तुमा केन्द्रित रहेर साहित्य सिर्जना गर्छन् उनी।

सरकारी सेवाबाट निवृत्त भएपछि कुनै न कुनै लाभका पदमा नरही उनले विशुद्ध साहित्य सिर्जनामा समय बिताएका छन्। उनी भन्छन्, 'एउटा मान्छेलाई पटक पटक अवसर राज्यले दिनु पनि हुँदैन। राज्यलाई दिन सक्ने मेरो ऊर्जा पनि सकिएको अनुभव हुन्छ।' पुन: 'जागिर खानुपर्ने' त्यस्तो बाध्यता पनि उनलाई छैन रे! समय बिताउने उत्तम विकल्पको रूपमा उनले साहित्यलाई रोजेको समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.