|

कपिलवस्तु : प्रदेश ५ को मुख्य पर्यटकीय गन्तव्‍यको रुपमा रहेको कपिलवस्तुको जगदीशपुर तालमा डुंगा संचालन गरिएको छ। नेपालकै ठूलो कृत्रिम तालको रुपमा रहेको जगदीशपुर तालमा पर्यटकीय प्रवर्द्धन तथा तालको प्रचारप्रसारको मुख्य उद्देश्यका साथ बुधबारदेखि डुंगा सञ्चालन गरिएको हो।

जगदीशपुर जलाशय बहुसरोकार मंच र कपिलवस्तु नगरपालिकाले संयुक्त रूपमा तालमा ६ वटा डुङ्गा संचालन गरेको हो। सदरमुकाम तौलिहवादेखि ११ किमी उत्तर कपिलवस्तु नगरपालिका वडा नं. ९ र १० साविक निग्लिहवा गाबिस ( १ र ४) मा पर्ने ताल १ सय ५७ हेक्टरमा फैलिएको छ।

सन् २००३ मा रामसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा बिशेषतहः पर्यटक भित्र्याउन ढुङ्गा संचालन गरिएको वडा नं. ९ का वडाध्यक्ष शिवबहादुर वाग्लेले बताए। चराको राजधानीका रूपमा चिनिएको जगदीशपुर तालमा पहिलो चरणमा ६ वटा डुङ्गा संचालन गरिएको जगदीशपुर जलाशय बहुसरोकार मंच कपिलवस्तुले जनाएको छ। नगरपालिकाको लागतमा तालको संरक्षण प्रवर्द्धन तथा सडकको स्तरोन्नति गरेसँगै तालको चारैतिर अवलोकनका लागि भ्यु टावर निर्माण गरिएको छ। तालका विभिन्न स्थानमा अवलोकन र थकान मार्नका लागि छहारी घरहरु निर्माणसमेत गरिएका छन्। पर्यटकीय प्रवर्द्धन तथा तालको प्रचारप्रसारको मुख्य उद्देश्यका साथ डुंगा संचालन गरिएको वडाध्यक्ष मोहन शर्मा बताउँछन्।

डुंगा संचालनमा ल्याएपछि जगदीशपुर तालमा पर्यटकहरु बढ्ने अपेक्षा स्थानीयको छ। अहिले ६ वटा डुंगा संचालन रहेकोमा आगामी दिनमा पर्यटकको संख्या बृद्धि भएमा डुंगापनि थप गर्ने योजना मंचको छ। जाडोको मौषम चराहरुको प्रजननका लागी उपयुक्त समय भएकाले उक्त समयमा डुङ्गा संचालन नगरिने मंचका संयोजक अब्दुल रसिद खांले बताए। रामसार क्षेत्रमा सूचीकृत भएका तालतलैयामा डुङ्गा संचालन गर्न नपाइने प्रावधान रहेता पनि तालभित्र सिमीत क्षेत्र तोकेरै डुङ्गा चलाइने उनले बताए।

यस बर्ष तालमा अहिले देशकै धैरै ३ हजार ५ सय बढी चरा आईसकेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए। तालमा उत्तर तिरबाट दैनिक जसो सयदेखि २ सय बढी पाहुना चरा आउने गरेको स्थानीय ललित गुरुङले बताए। तालमा सबैभन्दा बढी मरुल चरा आएका छन्। त्यस्तै खडखडे, सिलसिले हाँस, कालीजरे हाँस र मालक हाँस आएका छन्। यी चराको संख्या ३ सयदेखि ५ सय सम्म रहेको छ। सुईरोपुच्छ्रे चरा, बेल्चाठुडे हाँस, सिन्दुरे हाँस र कैलो टाउके हाँस पनि आएका छन्। यी चरा पनि ५ सयको संख्यामा रहेका छन्। महत्वपुर्ण त विश्वमै दुर्लभ हरि हाँस तालमा प्रसस्त देखिएका छन्। उक्त चरा पश्चिमको घोडाघोडी तालपछि सबैभन्दा धेरै २ सय ५० को संख्यामा यहाँ देखिएको हो।

साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेको वरिष्ठ चराविद् डा. बरालले बताए। ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाईएको छ। ताल सन् २००३ अगस्तमा रामसार साईटमा सुचिकृत भएको थियो। कृत्रिम रुपमा बनाइएको मुलुककै ठूलो यस जगदिशपुर तालमा १ सय १८ बढी प्रजातिको चराचुरुङ्गी पाईने पंक्षी संरक्षण संघले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.