|

उदयपुर : गाउँघरमा घरैपिच्छे अहिले वैदेशिक रोजगारको प्रभाव छ। वैदेशिक रोगजारले ग्रामीण क्षेत्रका जनताको दैनिकीलाई सहज बनाइदिएको छ। चाडपर्वमा वैदेशिक रोजगारीमा गएका आफ्ना परिवारका सदस्य नआउँदा जो कोही अभिभावकको मन त दुख्छ नै। तर वैदेशिक रोजगारीले नै गाउँका गरिब मानिसहरूको पनि दशैँमा उत्साह ल्याएको छ। आफ्ना परिवारका सदस्य विदेश गएकै कारण अहिले ग्रामीण क्षेत्रका गरिब घरपरिवारले सहज रूपमा दशैँ मनाउन सकेका छन्।

कुनै घरबाट वैदेशिक रोजगारीमा नभए उनीहरू खसी बेचेर भए पनि दशैँलाई उत्साहका साथ मनाउने गर्छन्। तर यी दुवै माध्यम नभएका गरिब जनताले भने ऋण गरेरै दशैँ मनाउँछन्। यस्तै ऋण गरेर दशैँ मनाउने अवस्थामा पुगेका छन्, उदयपुर लिम्चुङबुङ गाउँपालिका- ५ का अभिषेक राई।

वैदेशिक रोजगारीमा भएको छोराले पैसा पनि पठाएनन्। घरमा पालेको खसी पनि बिकेन यस पटक। वर्ष दिनमा बल्ल आएको पर्व मनाउनै पर्‍यो। त्यस कारण उनी ऋण गरेरै दशैँ मनाउने अवस्थामा पुगे। ‘पहाडी क्षेत्रका कृषकको आम्दानीको स्रोत भनेको पशुपालन र अन्नबाली हो’, उनले भने, ‘त्यो पनि बिक्री नभए अहिले वैदेशिक रोजगारीमा रहेका छोराछोरीको कामाइ नै मुख्य हो।’

तर कटारी नगरपालिकाका फणीन्द्रबहादुर राउतलाई भने वैदेशिक रोजगारीमा रहेका छोराले पठाएको खर्चले दशैँ मनाउन सहज भएको छ। दशैँ खर्च कटाउनकै लागि भनेर खसी पालेका थिए तर यस पटक खसी बिकेन। धन्न छोराले पैसा पठाए। त्यसैले उनको दशैँ खल्लो हुनबाट जोगियो। ‘गएको वर्ष घरमै पालेका १६ वटा खसी बिकेका थिए’, उनले भने, ‘यस वर्ष बिकेका छैनन्। मलेसियामा रहेको छोरोले ४० हजार पठाइदिएको छ, त्यसैले दशैँ मनाउनुपर्छ होला।’

उनीहरूको दशैँको गर्जो टार्न त्यही खसी हो अनि व्यापारीकै मूल्यमा बेच्ने गरेका छन्। सस्तो महँगो भन्दा पनि आफूले अनुमान गरेको किलोको आधारमा व्यापारीले नलग्ने गरेको कृषकको गुनासो छ। हचुवाको भरमा बेच्दा कम्तीमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म घाटा हुने गरेको बताउँछन्।

ग्रामीण क्षेत्रमा अधिकांश कृषकका छोराछोरी अहिले वैदेशिक रोजगारीमा गएका छन्। ‘गाउँघरमा अहिले विदेशी दशैँ हुन्छ’, ठट्टा गर्दै राउतले भने, ‘किसानको आम्दानी भनेको पशुपालन, अन्नपातको बिक्री हो कि त वैदेशिक रोजगारीबाट पठाएको पैसा हो, त्यहाँ भन्दा अन्य आम्दानीको स्रोत छैन।’

पराम्परागत रूपमा खसी पालेरै पहाडी क्षेत्रमा वर्सेनि एक लाखदेखि तीन लाख रुपैयाँसम्म लिने कृषक भेटिन्छन् तर हचुवाकै भरमा बेच्ने र किन्ने गरेकाले कृषकले मात्र होइन, व्यापारीसमेतले घाटा व्यहोर्नुपरेको छ। ‘स्थानीय रूपमा हामीले पनि तौल गर्ने ठाउँ नभएकाले हचुवाकै भरमा किन्नुपर्छ’, स्थानीय खसी व्यापार गर्ने कटारीका होमबहादुर राउतले भने, ‘कहिले हामीले घाटा व्योहोर्ने हो, कहिले किसानले।’

हचुवाकै भरमा खसी बोका बेच्न बाध्य कृषक

उदयपुरका पहाडी क्षेत्रका कृषकले परम्परागत शैलीमा घरमा पाल्दै आएका खसी तौलेर बेच्न पाउँदैनन्। हचुवाको भरमा बेच्नुपर्दा धेरै घाटा हुने गरेको कृषकको गुनासो छ।

कटारी नगरपालिका- ६ का ज्ञानबहादुर खत्रीले हचुवाको भरमा बेच्नुपरेकाले वर्सेनि घाटा खप्नुपरेको गुनासो गरे। ‘गएको वर्ष सातवटा खसी बेचेर दशैँ मानेको थिएँ। खसी व्यापारीलाई मैले एक लाख ३० हजारमा बेचेको थिएँ’, उनले भने, ‘काठमाडौं पुर्‍याउँदा एक लाख ६० हजार भयो रे! अनि हामी कृषकले घाटा व्यहोर्नुपरेन?’

गाउँघरमा कृषकले पालेका खसीबोका तौल गरेर बेच्ने माध्यम नहुँदा वर्सेनि कृषकले घाटा खानुपरेको गुनासो छ। ‘व्यापारी आउँछन्, हचुवाकै भरमा मोलमोलाई गर्छन्, कृषकलाई दशैँ मान्ने पैसाको अभाव भएको हुन्छ, त्यसरी नै भए पनि बेच्नै पर्‍यो।’

उदयपुरका पहाडी क्षेत्रमा पराम्परागत शैलीमा खसी पाल्ने कृषकको पीडा एउटै छ। गाउँघरमा धेरै परिवर्तन भइसक्यो, खसी तौलेर बेच्ने चलन कहिल्यै बसेन। ‘स्थानीय तहहरूले खसी बोकालगायतका विभिन्न कृषिजन्य वस्तुमा कर लगाएका छन्’, उदयपुरगढीकै गम्भीर मगरले भने, ‘गाउँघरमा पनि खसी तौलेर मात्र बेच्नुपर्छ भनेर तौल गर्ने किलोकाँटा खरिद गरिदिए हुने थियो नि!’

स्थानीय सरकार प्रमुख भन्छन्- तौलिने व्यवस्था गर्दा राम्रो

उदयपुरको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले किसानका खसीबोका तौलेर बेच्ने चलन राख्दा राम्रो हुने बताए। ‘५० प्रतिशत किसान तौलेर बेच्नुपर्छ भन्ने मान्यतामा छन्’, उनले भने, ‘५० प्रतिशत अझै पनि तौलेर बिक्री गर्न मान्दैनन्। तौलेर बेच्दा किन्ने र बेच्ने दुवै ठगिँदैनन्। त्यसो भएकाले स्थानीय सरकारले केही गर्ने बेला आएको छ। एउटा नीति नै बनाउनुपर्छ भन्ने लागेको छ।’

यसैगरी कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि स्थानीय तहहरूमा बजार मूल्यअनुसार किसानलाई घाटा नहुने गरी मूल्य कायम गर्ने र परम्परागत रूपमा किनबेच हुने प्रणालीलाई अन्त्य गर्नुपर्ने बताए। ‘वर्षौंदेखि हुन्डीमुन्डीमा बिक्री हुने गरेको छ’, उनले भने, ‘त्यसलाई कटारी नगरपालिकाभित्र व्यवस्थित गर्ने सोच बनाएका छौँ।’

पहाडी गाउँघरमा हचुवाकै भरमा अनुमान लगाएर बिक्री गर्नुपर्नेछ भने बजार क्षेत्रमा तौलिनेसमेत गरिएको छ। जिल्ला कृषि विकास कार्यालय उदयपुर तथा विभिन्न गैरसरकारी संस्थामार्फत् संचालनमा आएका कृषि बजारमा समेत खसीबोका तौल गर्ने किलोकाँटा नभएको बताइन्छ। ‘गाउँमा त परै जओस्, कृषि बजारमा समेत धेरै ठाउँमा पशुजन्य वस्तु बिक्री गर्दा तौलने व्यवस्था छैन’, राष्ट्रिय कृषक समूह महासंघ उदयपुरका सचिव कुशल राउतले भने, ‘यसको व्यवस्था अब जनप्रतिनिधिहरूले गर्नुपर्छ, पहाडी क्षेत्रका कृषको यो ठूलो समस्या हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.