|

काठमाडौं : प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे पूर्वी पहाडको तेह्रथुमस्थित तम्फुला (हालको म्याङ्लुङ नगरपालिकामा) जन्मिएकी हुन्। तेह्रथुममा जन्मिएकी शिवमायाको बाल्यकाल तथा अध्ययन भने झापाको महारानी झोडामै बित्यो।

पहाडबाट परिवार तराई झरेपछि क्षेत्री/ब्रम्हण/राई/लिम्बू सबै भएको समाजमा हुर्केकी शिवमायालाई त्यही समाजमा देखेभोगेको व्यवहारका कारण विद्रोही बनायो। जसले सानै उमेरदेखि समाजका लागि, विभेदविरुद्ध केही गर्नुपर्छ भन्ने चेतको विकास गर्दै गयो।

हाल प्रतिनिधिसभा उपसभामुखको भूमिकामा रहेकी शिवमायाले ०३५/३६ सालको विद्यार्थी आन्दोलनदेखि तत्कालीन नेकपा माले आबद्ध अनेरास्ववियुबाट राजनीति थालेकी हुन्। त्यो बेलाकी चर्चित क्रान्तिकारी नेता मानिने शिवमाया स्कुलमा पढ्दादेखि नै अनेरास्वियुमा आबद्ध भएकी थिइन्। विभिन्न कमिटी हुँदै उनले रामनाथ ढकाल अध्यक्ष रहेको बेला अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भएर काम गरेकी हुन्।

योगेश भट्टराई अनेरास्ववियुको अध्यक्ष भएपछि विद्यार्थी राजनीतिबाट बिदा लिएकी तुम्बाहाम्फे त्यसपछि विराटनगर फर्किएर गैरसरकारी संस्थामार्फत सामाजिक काममा समेत लागिन्। नवौँ महाधिवेशनबाट तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

नेपालको महिला आन्दोलनका विषयमा पिएचडी (विद्यावारिधि)गरेकी शिवमाया वकिलसमेत हुन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय बनेकी शिवमाया प्रतिनिधिसभाको उपसभामुखको भूमिकामा छिन्। विद्यार्थी राजनीतिबाट आएर उपसभामुखसम्म भएकी डा.शिवमाया तुम्बाहाम्फेले आफ्नो बाल्यकाल, विद्यार्थी राजनीति, हालको विद्यार्थी राजनीति यसरी सम्झिइन्:

विभेदले विद्रोही चेत पलायो

तत्कालीन समयमा शिशु भन्ने कक्षा हुन्थ्यो। ‘ग’ पास गरेर ‘ख’ मा ‘ख’ पास गरेर ‘क’ मा। ‘क’ बाट  ‘१’ मा जाने चलन थियो त्यतिबेला। स्कुल पढ्दाखेरि ग, ख, क २/४ दिन, १०/१५ दिन, एक महिना पढेर शिवमाया सीधै कक्षा १ मा भर्ना हुने अवसर पाइन्। कक्षा ७ सम्‍म घरनजिकै स्कुल भए पनि ७ पास गरेपछि भने उनलाई पढ्नकै लागि एक घण्टाको पैदल बाटो हिँड्नुपर्थ्यो। त्योवेला स्कुलमा पढ्ने साथीहरू ठूलो उमेरको हुने भएकाले साथीहरू पनि थिए।

स्कुलमा विद्यार्थी संख्या धेरै नै थिए। त्यमा खेलमा चासो दिने प्रायः कसै थिए। शिवमाया पढाइमा पनि राम्रै थिइन् भने खेलकुदमा पनि उत्तिकै चासो थियो। खेलकुद र पढाइका कारण विद्यार्थी र सरहरू सबैले उनलाई चिन्थे। स्कुलमा हुने सामान्य गतिविधिहरूमा उनले सधैँ अगुवाको भूमिका निर्वाह गरिन्।

त्यसैवेलादेखि आफूले सामान्य रूपमा राजनीति बुझ्‍न थालेको उनी बताउँछिन्। ‘स्कुल पढ्दाखेरि नै मैले सामान्य रूपमा राजनीति बुझ्दै गएँ। राजनीति के हो भनेर जानेर त होइन तर विस्तारै-विस्तारै राजनीतितर्फ उन्मुख हुँदै गएँछु। हामीलाई कसैले राजनीति गर भनेर सिकाउने मान्छे कोही पनि थिएनन्’, उनले भनिन्।

शिवमायाको परिवार पूर्वी पहाडको लिम्बू परिवार हो। उनीहरू पछि झापा बसाइँ सरेर आए। झापामा उनीहरू मिश्रित समाजमा बसे। शिवमायाको परिवारमा छोरा र छोरीबीचमा फरक व्यवहार हुँदैनथ्यो। तर, उनका छिमेकीहरू (खासगरी क्षेत्री/ब्राम्हण समुदाय)मा छोराछोरीबीच विभेद थियो। उनका साथीहरू क्षेत्री/ब्राम्हण समुदायका थिए। त्यहाँ उनीहरूको घरपरिवारभित्र छोरा र छोरीबीचमा फरक व्यवहार गरेको देख्दा शिवमायालाई राम्रो लागेन। ‘मलाई कहिलेकाँही असहज हुन्थ्यो। छोरी र छोरीबीचको फरक देखिसकेपछि यसको अन्त्य गर्नका निम्ति केही गर्न सकिन्छ कि भनेर मलाई अनुभूत भयो’, उनी भन्छिन् ‘स्कुलमा पनि छात्रा र छात्रहरूबीचमा गरिने व्यवहारले पनि मलाई विभेदको अन्त्यका लागि लाग्नुपर्छ भन्ने कुरा विकास हुँदै गयो। तिनै वातावरणहरूले म विस्तारै विद्यार्थी राजनीतितर्फ उन्मुख हुँदै गएँ।’

त्यतिवेला नेविसंघको खासै चर्चा हुँदैनथ्यो। ०३९ मा स्कुल छुट्टी भएर घर फर्कंदै गर्दा शिवमायाको टिमलाई अर्को टिमले बाटो छेकेर कुट्न थाले। त्यसपछि दोहोरो लडाइँ नै पर्‍यो। त्ययसपछि अर्को तर्फका विद्यार्थीहरू घाइते भए। प्रहरीलाई शिवमायाहरूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा लगायो।

त्यो घटनापछि झापामा कुनै पनि संघर्षका कामहरू हुन लागेको सूचना सरकारले पायो भने सबैभन्दा पहिले पक्राउ पर्ने नामहरूमध्ये शिवमायाको पनि हुन्थ्यो। ‘झापामा कुनै पनि कार्यक्रम हुन लाग्यो कि हामीलाई पक्राउ गर्थ्यो प्रहरीले’, उनी भन्छिन्, ‘कुनै घटना घट्नेबित्तिकै मलाई पक्रन आइहाल्थ्यो। त्यसरी हामीले काम गर्‍यौँ।’

उनले विगत सम्झिइन्, 'प्रशासनको प्रतिबन्ध यतिसम्म थियो कि सामान्य अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि खुलेर मनाउन दिँदैनथ्यो। हामी लुकेर जंगलको छेउमा, खोलाको किनारमा, बगरमा गएर हामीले मनाउथ्यौँ। पुलिसले थाहा पायो भने पक्राउ गरिहाल्थ्यो।' 

उनी स्कुलमा अध्ययन दल भन्ने मोर्चाबाट विद्यार्थी राजनीतिमा आबद्ध भइन्। जो अनेरास्ववियुको एउटा एकाइ थियो। अध्यन दलमा आबद्ध भएर उनीहरूले विद्यार्थीहरू जम्मा गर्ने, आफूले जानेको कुरा सिकाउने, किताबहरू पढ्न लगाउने गर्थे। त्यतिबेला तत्कालीन पार्टीको जनवर्गीय संगठनहरूमध्ये विद्यार्थी संगठन, अनेमसंघ थियो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सानो एकाइबाट राजनीति सुरु गरेकी शिवमाया केन्द्रीय उपाध्यक्षसम्म बनेर काम गरिन्।

पूर्वको कम्युनिस्‍ट राजनीति

०२८ तिर पूर्वमा जमिनदारलाई सिध्याउने अभियान चलेको थियो। जसलाई हामी झापा आन्दोलन भनेर चिन्छौँ। त्यतिवेला उनी सानै थिइन्। त्यसैले राजनीति बुझिसकेकी थिइनन्। झापा आन्दोलन चर्केको बेला घरका अभिभावकहरू ‘तिमीहरू टाढा नजाऊ है टाउको काट्ने मान्छेहरू छन्’ भनेर उनीहरूलाई डर देखाउँथे। त्यसैले उनीहरू घरनजिकै वा आँगनमा मात्र खेल्थे। पछि बुझ्दै जाँदा मात्र उनले थाहा पाइन् कि त्यो कम्युनिस्‍ट पार्टीले थालेको अभियान थियो। जसले त्यहाँका जमिन्दारहरू सफाया गर्ने अभियान चलाएको रहेछ। 

पूर्वबाट सुरु भएको तत्कालीन कम्युनिस्‍ट राजनीतिले पश्चिममा पनि आफ्नो प्रभाव जमाइसकेको थियो। कम्युनिस्‍टको प्रभाव बढ्दै गयो शिवमायाहरू विद्यार्थी संगठनमा सक्रिय हुँदै गए। तर, सबै कामहरू लुकेर गर्नुपर्ने। पञ्चायतकालीन शासनव्यवस्था भएका कारण खुलेर गतिविधि गर्न प्रतिबन्ध थियो। ‘काम गर्दा हाम्रा बैठक, सभा/सम्मेलनहरू सबै लुकिछिपी गर्नुपर्ने अवस्था थियो। कम्युनिस्‍ट पार्टीमा आबद्ध भइसकेपछि सबै कामहरू भूमिगत रूपमा गर्ने गर्थ्यौं। घोषित रूपले हामी भूमिगत भएका थिएनौँ’, शिवमाया सम्झिन्छिन् ‘हाम्रो गतिविधि भने लुकिछिपी नै गर्ने गर्दथ्यौँ। त्योवेला काम गर्न गाह्रो त थियो तर पनि सहज ढंगले लिएर अगाडि लिन्थ्यौँ।’

शिवमायाले राजनीति सुरु गर्दा पार्टीका ठूला नेतासँग उनको चिनजान थिएन। पञ्चायतकालमा राजनीति गर्दा ठूला नेताहरूलाई कसैले चिन्न सक्ने अवस्था थिएन। पार्टीको कामहरू पनि विद्यार्थी संगठनहरुद्वारा बाहिरै गर्ने गरिन्थ्यो। ती गतिविधि पनि एकदमै लुकिछिपी गर्नुपर्ने र गरिहाले पनि पक्रिहाल्ने अवस्था थियो। विभिन्न जनवर्गीय संगठनहरूले काम गर्दा होस् वा पार्टीको गतिविधि सबैमा हामीले सहयोग गर्नुपर्ने हुन्थ्यो। तर, ती सबै लुकेर मात्र गरिन्थे।

त्योवेला विद्यार्थी संगठनमा सीधै विद्यार्थीलाई सदस्यता दिइँदैनथ्यो। उनीहरूलाई प्रशिक्षित गरेर अखिल र राजनीतिका बारेमा बुझाइसकेपछि मात्र उनीहरू अखिलको सदस्य बन्न योग्य बन्थे। तर, अहिले अवस्था त्यस्तो छैन। त्योवेला पार्टीको काम पनि विद्यार्थी संगठनले नै गरिदिन्थ्यो।

पहिले स्कुल, कलेज सबैतिर विद्यार्थी संगठन विस्तार हुन्थ्यो। तर, अहिले त्यस्तो छैन। पहिलेको विद्यार्थीको उमेर हाइस्कुलसम्म पुग्दा बढिसकेको हुन्थ्यो। तर, अहिले सानै उमेरका विद्यार्थीहरू स्कुलमा पढ्छन्। त्यसकारणले पनि हिजो र आजको विद्यार्थी राजनीतिमा केही फरक भएको उनले बताइन्।

विद्यार्थीले अध्ययन गर्ने बानी फरक छ

विद्यार्थी आन्दोलनबाट माथि उठेकी शिवमाया हिजो र अहिलेको विद्यार्थी आन्दोलन एकदमै फरक भएको बताउँछिन्। समयअनुसार अहिलेको विद्यार्थी संगठनले आफ्नो गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ छ। संगठन कमजोर वा बलियो भन्ने कुरा वातावरणले बनाउने उनको भनाइ छ।

पञ्चायतकालमा पार्टीले बाहिर गर्ने गतिविधि पनि विद्यार्थी संगठनले गर्नुपर्थ्यो। जसको कारण राजनीतिको सारा गतिविधि गर्ने भनेको विद्यार्थी राजनीतिले हो भन्ने आम बुझाइ थियो। हरेक गतिविधिमा अखिल देखिने भएकोले सारा काम अखिलले गर्ने उनको बुझाइ थियो।

अहिलेको अवस्थामा अखिलले आफ्नो काम भन्दै उनले अहिले र पहिलेका विद्यार्थीहरूको अध्ययन गर्ने, मिहिनेत गर्ने बानी चै अलिक फरक खालको भएको उनको बुझाइ छ।

राजनीतिले शिक्षाक्षेत्र कमजोर भएको होइन

राजनीतिका कारण समग्र शिक्षाक्षेत्र कमजोर भएको धेरैको बुझाइ छ। त्यो आरोप अहिलेका विद्यार्थी संगठनहरूले खेप्दै आएका छन्। तर, विद्यार्थी आन्दोलनकै कारण शिक्षाक्षेत्र कमजोर भएको भन्ने कुरा शिवमायालाई लाग्दैन। ‘पहिलेभन्दा अहिले परिमार्जन भएर पढाइ अगाडि बढेको छ। हामीले पढ्दाको पाठ्यक्रम र अहिलेको विद्यार्थीले पढ्ने पाठ्यक्रम फरक छ’, उनी भन्छिन् ‘पहिले र अहिलेमा केही परिवर्तन हुँदै आएको छ। केही परिवर्तन, परिमार्जन भएको छ केही नयाँ कुराहरू आएका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.