|

भक्तपुर : आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादशैँ। यस चाडलाई नेवार समुदायमा मोहनी नखाः भनिन्छ भने ठाउँ विशेषअनुसार कसैले दशैँ, कसैले दुर्गापूजा, कसैले विजयादशमी, कसैले नवरात्रि पनि भन्ने गर्छन्।

महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको मोहनी लगाई आफ्नो वसमा पारी बध गरेको कारण नेवार समुदायमा दशैँलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्। भक्तपुरमा बडादशैँ विशेष महत्त्वका साथ मनाउने गरिन्छ। भक्तपुरका जीवित परम्पराहरूमध्ये नवदुर्गा नाच पनि एक हो। विजयादशमीको दिन नवदुर्गा देवगण सिद्ध हुने भएकाले पनि बडादशैँलाई भक्तपुरबासीले विशेष महत्त्वका साथ मनाउने गरेको संस्कृतिकर्मी धौभडेल बताउँछन्।

प्रत्येक वर्ष घण्टाकर्ण पर्वका दिनदेखि नवदुर्गाको मुकुण्डो बनाउने कार्य सुरु हुन्छ र महानवमीको राती मांसाहुति यज्ञ गरी महिषासुर राक्षसको प्रतीक खम्येको बली दिएर ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणले सिद्धि प्राप्त गर्छन्।

घटस्थापनाको दिनदेखि दशैँको नवरात्रि सुरु हुन्छ। नवरात्रिमा भक्तपुरका स्थानीय बासिन्दा विभिन्न शक्तिपिठको दर्शनका लागि जाने गर्छन्। नवरात्रिमा भक्तपुरको ब्रह्मायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, ईन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, एकान्त कुमारी देवगृह र तलेजुमा विशेष मेला लाग्छ।

बडादशैँ १५ दिनसम्म मनाइने चाड भए पनि विशेषगरी सप्तमीदेखि दशमीसम्म बडो हर्षोल्लासका साथ मनाइने परम्परा छ। नेवार समुदायले सप्तमीको दिन घरघरमा फूलपाती भित्र्याउने गर्छन्। यस दिनलाई नेवार समुदायले स्याकोट्याको भन्ने गर्छन्। यो दिन तलेजुलाई आफ्नो देवगृहबाट कुमारी चोक (दशैँ घर)मा स्थानान्तरण गरिन्छ। यसलाई द्यः क्वहा विज्याइगु (देवता तल आएको) भनिन्छ।

महाअष्टमीको दिनमा नेवारहरूले दशैँका लागि मासु भित्र्याउने परम्परा छ। यो दिन बिहानै नुहाइधुवाई गरी देवीलाई पूजा गरी सम्येखाई बेलुका कुछी भ्वय (दुई मानाको भोज) खाने गर्छन्। विशेषगरी केराको पातमा राखेर खाने यो भोजमा छोयला, अण्डा, माछा, अम्बा, केरा, बारालगायत १२ थरी पकवान आवश्यक पर्छ। यो दिनमा १८ भुजा भएकी भगवतीलाई आह्वान गर्न डमरु, घण्टा, शंख बजाई पूजा गर्छन्। राती व्यासीबाट निकुथु (रागाँ) जात्रा गरी तलेजु भित्र्याउँछन्।

अष्टमी र नवमीबीचको रातलाई कालरात्रि भनिन्छ। यो रातमा तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्यद्वारा विधिवत रूपमा पूजा गरी निकुथुसहित २५ राँगालाई बली दिइन्छ। पूजामा तलेजुलाई ८४ प्रकारका रोटीको मन्दिर बनाई चढाउने गिरन्छ। उक्त मन्दिरमा मुठल, छाना र गजुरसमेत राखिएको हुन्छ। सोही रोटी विजयादशमीको दिनमा तलेजुको प्रसादको रूपमा बाँड्ने गरिन्छ।

महानवमीको दिनलाई दशैँको महत्त्वपूर्ण दिनको रूपमा लिइन्छ। यस दिनलाई नेवार समुदायले नखाः भन्छन्। यस दिनमा तलेजुलगायत हरेकको घरघरमा भगवतीलाई भोगवली दिइन्छ। हरेकले आफ्ना काम गर्ने औजार, हातहतियार सबै पूजा गर्छन्। नेवार समुदायले विशेष प्रकारको दियो बालेर उक्त दियोमाथि माटोको सलिचा घोप्टो पारेर राखेर मोहनी बनाउने गर्छन्। यसै दिन नेवार समुदायमा घरमा सुख शान्ति र श्री प्राप्तिका लागि बेलविवाह नगरेका बालिकाहरूलाई जीवित देवी कुमारी मानी सिँगारपटार गरेर नयाँ लुगा, चुरा, पञ्चामृत दिएर पूजा गरिन्छ।

यस दिन बालिकालाई कुमारी मानेर पूजा गर्ने सम्बन्धमा दुईवटा लोककथन रहेका पाइन्छ। पहिलो, भक्तपुरका राजा जगज्योति मल्लसँग जोडिएको छ। राजा जगज्योतिसँग तलेजु भवानी स्त्रीको रूपमा सधैँ पासा खेल्न आउने गर्थिन्। एक दिन राजाले तलेजुप्रति कुदृष्टि लगाएपछि तलेजु रिसाएर पासा खेल्न आउन छाडिदिइन्। यसबाट राजा साह्रै दुःखी भएको देखेर तलेजु भवानी सपनामा आई 'ममाथि भक्ति छ, मसँग कुरा गर्ने हो भने नवमीको दिन शाक्य वा बज्राचार्यकी छोरी ल्याई मेरो आह्वान गरी पूजा गर्नू' भनी राजालाई आदेश दिइन्। सोहीअनुसार आज पनि भक्तपुरमा महानवमीको दिन शाक्य र बज्राचार्यका छोरीलाई कुमारी पुज्ने प्रचलन छ। यो पूजा गर्ने ठाउँ कुमारी चोक नामले प्रचलित छ।

अर्को कथनअनुसार भक्तपुरका राजासँग एउटा हीराको यन्त्र थियो। राजाले यन्त्रलाई बडो प्रेम र भक्तिपूर्वक पूजा गरिराखेकाले देवी खुसी भई सोही यन्त्रमार्फत् राजासँग कुराकानी गर्ने गर्थिन्। उक्त यन्त्रलाई महिलाहरूलाई नदेखाउने आज्ञा देवीबाट राजालाई भएछ। राजाले हुन्छ भनी सुरक्षित ठाउँमा राखेको यन्त्रलाई एक दिन राजकुमारीले देखेर लिएपछि हराएछ। यस दिनदेखि राजाले देवीसँग कुरा गर्न नपाएर राजा साह्रै शोकसंतप्त भएको देखेर सपनामा देवी प्रकट भई 'यदि मसँग कुरा गर्ने हो भने शाक्य भिक्षुकी छोरी लिएर बडो श्रद्धापूर्वक पूजा गर्नू, म तिनमै लीन भई आउँछु र तिनैसँग कुरा गर्नू' भनी अन्तर्ध्यान भइन्। सोहीअनुसार महानवमीको दिनमा कुमारी पूजा गर्ने चलन चलाएको भन्ने कथन रहेको वंशावलीमा उल्लेख छ।

महानवमीको साँझ ब्रह्मायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धिप्राप्तिका लागि बली दिन भक्तपुर नगरपालिका- ३, गछेंस्थित नवदुर्गा देवीको द्यछें (देवघर)भित्र राखेर पालन पोषण गरिएको खम्ये दौडाएर ब्रम्हायणी पुर्‍याउने प्रचलन रहेको छ। यो प्रचलनलाई भक्तपुरमा खम्ये जात्रा भनिन्छ। बडादशैँको धार्मिक आख्यान महिषासुर राक्षसको बधसँग गाँसिएको छ। भक्तपुरमा खम्येलाई सोही महिषासुर राक्षससँग तुलना गरिन्छ। भक्तपुरमा राक्षसी स्वरूप खम्येको हार र देवी शक्तिको जीतको रूपमा खम्ये जात्रालाई लिने गरिन्छ। यो जात्रा नवदुर्गा देवीहरू मिलेर महिषासुरलाई बध गरेको खुसियालीमा मनाउने एक मात्र पृथक जात्रा हो। नवमीकै दिन राती लालाछेंमा नवदुर्गाको मुकुण्डो प्रदर्शन गरी देवगण आएर मुकुण्डो ब्रह्मायणी मन्दिरमा लिएर जान्छन्।

दशमीको दिन भवानीलाई विधिवत रूपमा अन्तिम पूजा गरिन्छ। यो दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको बध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी पनि भन्ने गरेको संस्कृतिविद्हरू बताउँछन्। यो दिन भक्तपुरको ब्रह्मायणीमा ठूलो मेला लाग्छ। यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादको रूपमा शिरमा लगाइन्छ। तलेजुसमेत विधिवत रूपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुन: देवगृहमा विराजमान गराइन्छ।

राती ब्रह्मायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ। देवीले दैत्यहरूलाई बध गरेको सम्झनामा यो जात्रा संचालन गरिएको संस्कृतिकर्मीहरू बताउँछन्। खड्ग जात्रालाई पायो जात्राको रूपमा पनि लिइन्छ। यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत रूपमा पूजा गर्छन्। यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोसाक लगाएका मानिससमेत सहभागी हुन्छन्।

किंवदन्तीअनुसार सत्ययुगमा दैत्यहरूले ब्रह्माको तपस्या गरे। ब्रह्माले खुसी भई दैत्यहरूलाई वरदान माग्ने आज्ञा दिए। दैत्यहरूले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रह्माले स्वास्नीमान्छेबाहेक कसैले मार्न नसक्ने वरदान दिए। वरदान प्राप्त गरेपछि दैत्यहरू स्वर्गमा गई देवताहरूलाई दुःख दिन थाले। यो देखेर महादेव, ईन्द्र र विष्णु मिलेर शक्ति स्वरूपा देवीको उत्पति गराए। दैत्यहरूसँग युद्ध गराए। अन्तमा मुख्यमुख्य दैत्यहरू सबै मारिए। बाँकी दैत्यहरू कोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए। देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यहरूलाई खोजीखोजी मार्न थाले। यसैको सम्झनामा खड्ग जात्रा सुरु भएको लोककथन रहेको पाइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.