|

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारको सुरक्षालाई बलियो बनाउन ४ वर्षअघि जडान गरिएका सिसी क्यमेराहरु बिग्रँदै जाँदा सुरक्षा चुनौती बढेको छ। पर्वत उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको प्रयासमा जडान गरिएका सिसी क्यामेराहरु मर्मतको अभावमा काम नलाग्ने बन्दा दशैँ र तिहारको समयमा हुन सक्ने अपराध, चोरी, लुटपाट लगायतका विषयमा सुरक्षा चुनौती बढेको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार कुश्माको लोकतन्त्रचोक, प्रगतिचोक, मैत्रीचोक, फिल्महलचोक, अस्पताल चोक, दुर्लुङचोक, जिरो किलोमिटर लगायतका ठाउँमा जडान गरिएका २९ वटा क्यामेराहरुमध्ये अहिले ८ वटा सिसी क्यमेराहरुले मात्र गरिरहेका छन्। 

जडान गरिएका सिसी क्यामेरा कुस्मा नगरपालिकाले व्‍यवस्थापन गर्ने गरी हस्तान्तरण गरिएको थियो। यद्यपि नगरपालिकाले भने मर्मत नगर्दा समस्या भएको छ। प्रहरीले केबुल व्यवसायीको सहयोग लिएर सामान्य मर्मतको काम गरेर अरु क्यामेराहरुलाई संचालनमा राखेको डिएसपी तिवारीले जानकारी दिए।

‘बजारमा जोडिएकामध्ये अहिले आठवटा क्यामेरा मात्र रनिङ छन्।’ उनले भने, ‘सिसी क्यामेरा कण्डिसनमा भइदिएको भए यी चाडपर्वको बेलामा हामीलाई अपराध न्यूनीकरणमा सजिलो हुने थियो।’ क्यामेरा मर्मतका लागि प्रहरीसँग रकम अभाव भएका कारण कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीसँग कुराकानी भएको र बिग्रिएका क्यामेरालाई मर्मत गर्ने र काम नलाग्ने भएमा अरू क्यामेरा राख्न नगरपालिका सकारात्मक रहेको पनि डिएसपी तिवारीको भनाइ छ। कुश्मा नगरपालिकाका प्रमुख जोशीले पनि क्यामेरा मर्मत गरी बजारलाई सुरक्षित गर्नको लागि प्रहरीको अनुरोधअनुसार चाँडै काम सुरु गरिने बताए। 

क्यामेरा जडानका लागि पर्वत उद्योग वाणिज्य संघले पहल गरे पनि अहिले मर्मत नहुँदा व्‍यवसायीले पनि क्यामेरा बिग्रिएका कारण आफ्ना पसलहरू असुक्षरित हुन सक्ने गुनासो गरेका छन्। पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले क्यामेरा जडान गर्ने बेलामा सबैको चासो रहेको भए पनि अहिले क्यामेरा बिग्रँदा सबै चुपचाप रहेको बताए। क्यामेराहरुको व्यवस्थापन नगरपालिकालाई जिम्मा दिएका कारण नगरपालिकाले बिग्रिएका सिसी क्यामेरा मर्मत गरेर बजारलाई सुरक्षित बनाउनुपर्ने उनको भनाइ छ। 

पर्वतका तत्कालीन डिएसपी महेन्द्रकुमार श्रेष्ठको पहलमा कुश्माका मुख्यमुख्य चोकमा २९ ओटा सिसी  क्यामेराहरु जडान गरिएका थिए। कुश्मामा बैंक तथा वित्तीय संस्थाहरु, सहकारी संस्थाहरु, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोगमा झन्‍डै ३० लाखको लगानीमा क्यामेराहरु जडान गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.