|

सल्यान : दशैँ तिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै जिल्लाका किसानहरुलाई धान भित्र्याउन चटारो परेको छ। खेतमा धान पाकेर पहेँलपुर भएपछि जिल्लाभरका किसानहरुलाई पाकेको धान भित्र्याउन चटारो परेको हो। जिल्लाका जुनसुकै ठाउँमा गए पनि किसान धान काट्ने, चुट्ने, सुकाउने र पराल थन्काउनेमा व्यस्त छन्।

खेतमा लहलह झुलेको धानमा पानी पर्‍यो भने वर्षदिनभरिको दुःख खेरजाने कुमाख गाउँपालिका वडा न ३ रागेचौरका किसान गुमानसिंह रावतले बताए। ‘चाडपर्वनजिकै  आइसक्यो चाडवाड आयो भने काम गर्ने फुर्सद हुँदैन, फेरि असिना पानी आयो भने त परिवार पाल्नै गाह्रो भइहाल्छ’ उनले थपे, ‘असिना पानीको भर छैन जतिखेर पनि आउन सक्छ असिना पर्‍यो भने पानी आयो भने वर्षदिनभर खाने सबै हराइहाल्छ त्यसैले रातदिन नभनेर धान काट्ने, चुट्ने, गरी रहेका छौँ।’

आउँदै गरेको दशैँ तिहार फुर्सदसँग मनाउन र वर्ष दिन दुःख गरेर उब्जाएको धान भित्र्याउन रातदिन एक भनेर व्यस्त भएको अर्का किसान मुकुन्द हमालले बताए।   यो वर्ष समयमै धान रोपाइँ भएको र रोग किराको संक्रमण पनि खासै नदेखिएकाले धान उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्रको कार्यालय सल्यानको अनुमान छ। उन्नत जातका बिउ बढी प्रयोग भएकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका पृथ्वीराज लामिछानेले बताए। उनले भने, ‘विगतका वर्षहरु भन्दा यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेका छौँ। गतवर्षको भन्दा ५ देखि १० प्रतिशतसम्म धान वृद्धि हुने अनुमान गरेका छौँ।’

उत्पादनमा वृद्धि गर्नका लागि बिउको सही छनोट, धान रोप्ने तरिका जैविक मल तथा कम्पोष्ट मलको प्रयोग लगायतमा किसानहरु सचेत बन्दै गएकाले उत्पादनमा वृद्धि हुने लामिछानेको भनाइ रहेको छ। गत आर्थिक वर्ष ०७४/०७५ मा जिल्लामा २८ हजार ९ सय ८२ मेट्रिक टन धान उत्पादन भएको थियो भने ७ हजार १ सय ३५ हेक्टर क्षेत्रफलमा  खेती गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.