|

काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भइसकेको छ। परिवारसँगको लामो समयपछिको भेटघाट र मीठामीठा परिकार खानु अनि दशमीको दिन मान्यजनको हातबाट निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आशीर्वाद लिनु दशैँको विशेषता नै हो। त्यसैले दशैँलाई मान्यजनको हातबाट आशीर्वाद लिने सँगसँग जमरा लगाउने पर्वसमेत भनेर बुझ्ने गरिन्छ।

दशैँको टीकाको दिन पहेँलो जमरा लगाउनुमा धार्मिक महत्त्व र विश्वाससँगै यसको औषधीय गुण पनि त्यति नै महत्त्वपूर्ण रहेको छ। जमरा एक महत्त्वपूर्ण आयुर्वेदिक औषधिसमेत हो, जसले स्वास्थ्यका लागि निकै फाइदा पुर्‍याउँछ।

गहुँको जमरा प्राचीनकालदेखि नै लोक तथा आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुँदै आएको छ। यसलाई अहिले आधुनिक चिकित्सामा समेट्ने समेत प्रयास गरिँदै छ। बजारमा बट्टामा बन्द गरिएका जमराका केही जुसहरू पनि पाइन्छन्। यसलाई घरमै पनि तयार गर्न सकिन्छ।

केके भिटामिन हुन्छ जमराको जुसमा?

अमेरिकाको विज्ञान प्रविधि स्रोत अनुसन्धान संस्थाले गरेको अनुसन्धानअनुसार जमराको जुसमा भिटामिन, खनिज, क्लोरोफिल पाइन्छ। यसमा गाईको दूधमा भन्दा ३० गुणा बढी भिटामिन बी तथा पालुंगोमा भन्दा ३.३ गुणा भिटामिन पाइन्छ। त्यस्तै, ६.५ गुणा क्यारोटिन, ५ गुणा बढी आइरन पाइन्छ। गाईको दूधमा भन्दा ११ गुणा बढी क्याल्सियम, सुन्तलामा भन्दा ७ गुणा बढी भिटामिन पाइन्छ।

यस्ता छन् जमराको जुस खानुका पाइदा

जमरामा धेरै पोषक तत्त्वहरू पाइन्छन्, जस्तै : प्रोटिन, कर्बोहाइड्रेट, भिटामिन (ए, बी, सी, ई, के, फोलिक एसिड आदि), खनिज, फलाम, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, फोस्फोरस, सेलेनियम, जिन्क।

जमराको प्रायः रस निकालेर र वटी (ट्याब्लेट) बनाएर पनि प्रयोग गर्नु राम्रो हुन्छ। यस्तै, भर्खर टुसाएको गहुँलाई पनि जुस बनाएर प्रयोग गर्न सकिन्छ। एक सातादेखि १० दिनको जमरा प्रयोग गर्नु राम्रो हुन्छ।  

 कुन उमेरकाले कति खाने र कुन समयमा खाने?

जमराको जुस सेवन गर्दा उमेरअनुसार सेवन गर्नुपर्छ। प्रौढका लागि ३० देखि १०० मिलिलिटर उपयुक्त हुन्छ। यसको सेवन सकेसम्म खाली पेटमा बिहान तथा बेलुका गर्ने गरिन्छ। रक्तअल्पता, ठूलो आन्द्राको घाउ, कब्जियत, मोटोपन, मधुमेह (चिनी रोग), असन्तुलित चिल्लोपन, उच्चरक्तचाप, अर्बुद, ल्युकेमिया, मुख, घाँटी, प्रोस्टेट, स्तनको समस्या, माइग्रेन, तनाव, अनिद्रा, थाइराइडको गडबडी, महिनावारीको गडबडी, वाथ, जोर्नी दुखाई, छाला  तथा कपालको रोग भएकाहरूका लागि धेरै पाइदा गर्छ।

यस्तै, जमराको जुसले  शरीरको वृद्धि तथा निर्माणमा मद्दत गर्छ। बुढ्यौली रोक्न, घाउ निको पार्न र विषाक्त पदार्थलाई निस्कासन गर्न पनि सहयोग गर्छ। अध्ययनका अनुसार केमोथेरापी तथा रेडियोथेरापीको असर कम गर्न पनि नियमित जमराको जुस सेवन गर्नाले सहयोग गर्छ।

(वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. राजेन्द्र गिरीसँगको कुराकानीको आधारमा तयार पारिएको।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.