|

भद्रपुर, (झापा) : झापाको मेचीनगरबाट हातहतियार, विस्फोटक पदार्थ र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीगर नगरपालिका ६ निवासी ३८ वर्षीय विशाल लिम्बू र सोही ठाउँका अनुप उराउ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएका प्रहरी टोलीले असोज २२ गते मेचीनगर ६ स्थित शंकास्पद अवस्थामा फेला परेको भारतीय डब्लुबी १७४२७००१ नम्बर प्लेटको बोलेरो गाडीमा चेकजाँच गर्दा दुई बोतल लागुऔषध र १० चक्की नाइटोजन ट्याब्लेटसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका दुईजना मध्ये लिम्बूमाथि शंका लागि प्रहरीले उनको घरमा खोनतलासी गर्दा हातहतियार, विस्फोटक पदार्थसहित गैरकानुनी चिजबस्तु बरामद गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

प्रहरीले लिम्बूको घरबाट एक केजी पाँच सय ग्राम लागुऔषध चरेस, विष्फोटक पदार्थ लोला थान ९, फ्युज, केप, तारसहित डिटोनेटर थान ४०, एक थान नक्कली पेस्तोल, सानो पिस्तोलमा फिट हुने फलामको म्याग्जिन एक थान, ४४० ग्राम बारुद, नक्कली सुन जस्तो देखिने एक थान औठी, एक थान चेन, आर्मी कलरको कम्ब्याट दुई थान, संघीय लिम्बूवान राज्यपरिषद् लेखिएको सम्मानपत्र, प्रशिक्षण कदरपत्र, सोहि परिसद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न  प्रकारका स्ट्याम्प छाप, प्याड, पंचिङ मेसिनलगायतका कागजातहरू, बाला सुब्बा, सीताराम आङ्देम्बे नामबाट बनाएको दुई थान नागरिकता, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नामको सवारी चालक अनुमति, दुई सेट मोबाइल फोन र एक थान करशेन बरामद गरेको छ। यता प्रहरीले उनीहरूमाथि लागुऔषध, बम विष्फोटक पदार्थ, हातहतियार खरखजनासम्बन्धी मुद्दा दर्ता गराई आवश्यक अनुसन्धान सुरु गरिसकेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

उनका अनुसार लागुऔषधमा १५ वर्षदेखि जन्म कैद वा पाँचदेखि २५ लाखसम्म जरिवाना, विष्फोटक पदार्थमा १० वर्षसम्म कैद र हातहतियारमा तीन वर्षसम्म कैद हुने व्यवस्था कानुनले तोकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.