बैठक बहिष्कार गर्न इतर समूह जिल्लामा

|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै निर्णयका कारण समय समयमा अप्ठ्यारोमा पर्दै आएका छन्। संस्थापनइतर समूह एक भएर देउवालाई सधैँ अप्ठ्यारोमा पार्ने गरेका छन्। यस पटक पुनः कांग्रेस सभापति शेरबहादुर देउवालाई संकट आइपरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति देउवा समूहको बहुमत छ। त्यही बहुमतको भरमा देउवाले आइतबार मध्यराती भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाउँदै विधान पारित गर्‍यो। पार्टीले विधान बनाउने अधिकारसहित नेविसंघका छ पदाधिकारी सम्मिलित कार्यसमिति बनाएको थियो। उक्त कार्यसमितिले उमेर हद हटाउने केन्द्रीय कार्यसमिति बैठकबाट सर्वसम्मत् रूपमा नेविसंघको महाधिवेशनका लागि बनेको निर्देशक कार्यसमितिमार्फत् पार्टीलाई पठाएको थियो। 

तर उक्त निर्देशक कार्यसमितिका संयोजक तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले देउवासँगको परामर्शमा नेविसंघले पठाएको विधानविपरीत ३२ वर्षभन्दा माथिका विद्यार्थी नेताले नेविसंघको राजनीति गर्न नपाउने विधान पारित गरे। बहुमतको बलमा उक्त विधान पारित गर्दै गर्दा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले एकै पटक ‘नोट अफ डिसेन्ट’ लेख्दै बैठकबाट बाहिरिए। कांग्रेसमा एकै पटक शीर्ष नेताले यसरी ‘नोट अफ डिसेन्ट’ लेख्नु इतिहासमै पहिलो घटना हो। उनीहरू त्यतिमा मात्र रोकिएनन्, मध्यरातमा देउवा समूहले बहुमतमा बलमा गरेको निर्णयको विरुद्ध कसरी अघि बढ्ने भन्ने सामूहिक धारणा तय गर्न पटक पटक छलफलमा जुटे। 

करिब तीन महिनाअघिसम्म विपरीत ध्रुवमा रहेका देउवाइतर समूहका नेताहरू अहिले सभापति देउवाकै कारण एक हुँदै आएका छन्। उनीहरूलाई आफूविरुद्ध खडा गर्न आन्तरिक सहमतिबिनै गरेका निर्णय नै काफी छन्। एक भएर पनि विभिन्न कारणले छुट्ने अवस्थामा पुगेका देउवाइतर समूहका नेताहरू देउवाका पछिल्ला केही निर्णयका कारण एक भएका छन्। बोलचालसमेत बन्द हुने अवस्थामा पुगेका वरिष्ठ नेता पौडेल र नेता सिटौलाको सम्बन्ध पनि पछिल्लो समय देउवाकै कारण सुमधुर बन्दै गएको छ। अहिले उनीहरूको भेट्ने क्रम पनि बाक्लिएको छ। 

बहुमतको बलमा नेविसंघको विधानलाई उमेर हद लगाएर पारित गर्ने निर्णय गरेसँगै देउवा पुनः एक पटक अप्ठ्यारोमा परेका छन्। कांग्रेसमा विभिन्न निर्णय गर्न आन्तरिक सहमतिको आवश्यकता पर्छ तर सहमतिबिनै गरिएको यो निर्णयका कारण संस्थापनइतर समूहका नेताहरू सभापतिविरुद्ध खनिएका छन्। 

आइतबार राती नेविसंघको उमेर हद लगाउने निर्णय गर्दै गर्दा विधानका अन्य विषयमा छलफल गर्न २५ गते बिहीबारका लागि कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो। तर सभापतिइतरका शीर्ष नेताहरू बैठकमा सहभागी नहुने निर्णयमा पुगेपछि देउवा संकटमा परे। अन्तत: देउवा बैठक नै स्थगित गर्ने अवस्थामा पुगे। ‘सभापतिले बलजफ्ती बहुमतको आधारमा निर्णय गर्ने भए किन हामी बैठकमा जाने?’, नेता कृष्णप्रसाद सिटौलाले भने, ‘उहाँको बहुमत छ। एक्लै निर्णय गरे भइगयो नि!’

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने अन्य कारण नभई दशैँ लागेकाले केन्द्रीय सदस्य काठमाडौंबाहिर हुने भएकाले बैठक स्थगित गर्नुपरेको बताए। ‘अब सबै नेताहरू दशैँका लागि जिल्ला जाँदै हुनुहुन्छ’, उनले भने, ‘बाधाका रूपमा रहेको नेविसंघको उमेर हदका बारेमा हामीले निर्णय गरिहाल्यौँ। अब अन्य विषय नेविसंघले पठाएबमोजिम नै पारित हुन्छ। अब दशैँपछि केन्द्रीय कार्यसमिति बैठक बस्छ।’ 

तर सभापतिइतरका एक नेताले भने अहिलेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठक बस्नु उचित नभएको बताए। ‘नेविसंघ भद्रगोल थियो। अराजकता थियो। उमेर हद लगाएर राम्रै निर्णय भयो’, उनले भने, ‘तर अहिलेको समय उचित भएन। यो बेला पुनः बैठक बस्नु उचित हुँदैन। सभापति चौतर्फी घेरामा हुनुहुन्छ। त्यस कारण बैठक स्थगित भएको हो।’

देउवाइतर समूहका नेताहरूले बैठक जहिले बसे पनि नेविसंघले दिएको विधान जस्ताको त्यस्तै छलफलमा नल्याएसम्म बैठकमा सहभागी नहुने मनस्थिति बनाएका छन्। सभापति लोकतान्त्रिक पद्धतिविपरीत प्रस्तुत भएको भन्दै उनीहरूले यसअघि भएको निर्णय नसच्याएसम्म बैठकमा सहभागी नहुने निष्कर्षमा पुगेका हुन्।

‘हामीलाई पनि आन्तरिक बैठक बहिष्कार गर्ने कुनै मनसाय थिएन तर सभापतिजीले बैठकमा सहभागी हुने वातावरण नै तयार गर्नुभएन’, नेता अर्जुननरसिंह केसीले भने, ‘म पनि कांग्रेसको केन्द्रीय कार्यसमितिमा २१-२२ वर्षदेखि छु। अहिलेसम्म भ्रातृसंगठनले सर्वसम्मत रूपमा पठाएको विधानलाई लुकाएर अर्को ल्याउने गरिएको थियो। बैठकमा ल्याएको विधानलाई अध्ययन नै गर्ने मौका नदिई पारित गरेको घटना पनि पहिलो हो।’ 

यो निर्णयलाई नसच्याएसम्म आफूहरू बैठकमा नबस्ने उनले बताए। ‘बैठक स्थगित भएको कुरा सुन्नमा आएको छ। बैठक स्थगित गरेर मात्र केही हुँदैन’, नेता केसीले भने, ‘एकोहोरो तरिकाले लुकाएर गरिएको निर्णयलाई सच्याएर पुरानो विधानलाई अध्ययन गर्न दिने भए मात्र हामी बैठकमा सहभागी हुन्छौँ। नभए बैठकमा सहभागी हुनुको औचित्य छैन।’ देउवा समूहले नेविसंघको महाधिवेशन नचाएको केसीको आरोप छ। ‘उहाँहरू (देउवा समूह) नेविसंघलाई आफ्नो भजन मण्डली बनाउन चाहनुहुन्छ’, उनले भने, ‘तर हामी यस्तो हुन दिँदैनौँ।’

सिटौलालाई देउवाको फोन!

सभापति देउवा बैठक स्थगित गर्ने मनस्थितिमा थिएनन्। उनले बिहीबारको बैठकका लागि निकै प्रयास गरे। उनी मंगलबारदेखि नै बैठकको तयारीमा थिए तर इतर समूहका चार नेता बैठकमा कुनै हालतमा सहभागी नहुने अडानमा उभिएपछि देउवा निराश भएर बैठक स्थगित गर्न पुगे। 

स्रोतका अनुसार देउवाले इतर समूहका मियोको रूपमा रहेका सिटौलालाई मिलाउन निकै प्रयास गरे तर सिटौलाको अडानलाई उनले जित्न सकेनन्। सिटौलालाई मनाउनका लागि मंगलबार बिहानै उनकै निवास चण्डोलमा महामन्त्री पूर्णबहादुर खड्कालाई देउवाले पठाए तर सिटौलाले अडान छाडेनन्। देउवाले सिटौलाई भेट्न पटक पटक बूढानीलकण्ठ बोलाए तर सिटौला भेट्न तयार भएनन्। 

त्यसपछि सिटौलालाई फकाउन देउवाले बुधबार बिहानै फोन गरेका थिए। महामन्त्री डा. शशांक कोइराला बुधबार चितवन जाने र बैठकमा सहभागी हुन नसक्ने बताएपछि देउवाले सिटौलालाई अात्तिएर फोन गरेका थिए तर सिटौलाले आइतबारको बैठकमा हप्कीदप्की गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र मीनबहादुर विश्वकर्माले आचरण सुधार नगरेसम्म बैठक नबस्ने देउवालाई जवाफ दिए। त्यसपछि देउवा बैठक स्थगित गर्ने मनस्थितिमा पुगेको कांग्रेस स्रोतको दाबी छ। 

बैठक बहिष्कार गर्न जिल्लामा कार्यक्रम

सभापतिइतरका समूह बैठक छल्नका लागि विभन्न जिल्लामा दशैँको शुभकामना भन्दै कार्यक्रम राख्न लगाएको स्रोतको दाबी छ। उनीहरूको आन्तरिक छलफलबाट विभिन्न जिल्लामा कार्यक्रम राख्न लगाउँदै काठमाडौं छाड्ने निर्णयमा पुगे। 

स्रोतका अनुसार बुधबार कार्यक्रमका लागि भन्दै कृष्ण सिटौला विराटनगर पुगे। महामन्त्री डा. शशांक कोइराला चितवन गएका छन्। यस्तै, वरिष्ठ नेता पौडेल पनि बिहीबार बिहानै गृहजिल्ला तनहुँ जाँदै छन्। यसैगरी नेता प्रकाशमानसिंह, अर्जुननरसिंह केसी र रामशरण महत नुवाकोट जाँदै छन्। नेता डा. शशांक कोइराला आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत सहभागी भएनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.