|

विराटनगर : मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्नेलाई मोरङ प्रहरीले लिखित परीक्षा लिन थालेको छ। मोरङमा दुर्घटनामा संलग्न अधिकांश सवारी साधन मादक पदार्थ सेवन गरी चलाएको पाइएकोले प्रहरीले दुर्घटना न्यूनीकरण र सवारी चालकमा सचेतना फैलाउन मादक पदार्थ सेवन गर्नेको परीक्षा लिन थालेको हो।

मोरङ प्रहरीले मापसे गरी सवारी साधन चलाउने चालकहरूलाई बुधबारबाट जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित परीक्षाको सुरुवात ‍गरेको छ। मंगलबार जिल्लाका विभिन्न स्थानहरूमा सवारी साधन चेकजाँच गर्ने क्रममा मापसे गरेको अवस्थामा भेटिएका चालकहरूले बुधबार परीक्षा दिएका हुन्।

मोटरसाइकल चालक ७४, ट्रक चालक दुई, ट्याक्टर चालक चार, टेम्पो चालक पाँच र सिटिसफारी चालक तीन गरी जम्मा ८८ वटा सवारी साधनका चालकहरूलाई मंगलबार मापसे गरेको अवस्थामा ट्राफिक प्रहरीले फेला पारेर २४ घण्टे पूर्जि दिएको थियो। उनीहरूमध्ये ३० जनाले परीक्षामा सहभागिता जनाएको मोरङ प्रहरीले जनाएको छ।

परीक्षमा ट्राफिक नियमसँग सम्बन्धित विभिन्न ८० वटा प्रश्नहरू सोधिएको छ। परीक्षा दिनेमध्ये १५ जनाले ८० प्रतिशतभन्दा बढी अंक ल्याई उत्तीर्ण भएका छन्। उत्तीर्ण भएका उनीहरूले ट्राफिक नियम अनुसार जरिवाना तिरेर आफ्नो सवारी साधन र कागजपत्र लगेका छन्।

परीक्षामा अनुत्तीर्ण भएका अन्य चालकहरूले भने पुनः परीक्षा दिनुपर्नेछ। उनीहरूले ८० प्रतिशत अंकसहित उत्तीर्ण भएपछि मात्र ट्राफिक नियमअनुसार थप कारबाही भोगेर आफ्नो सवारी साधन र कागजपत्र प्राप्त गर्ने मोरङ प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.