|

जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश सरकारले जनताको अधिकार दिलाउनु कहाँ हो कहाँ आफ्नो अधिकार सम्मेत केन्द्रीय सरकारसँग लिन नसकेको बताएका छन्। प्रदेश २ सरकारले आफ्नो काम, कर्तव्य र अधिकारका लागि अग्रसर हुनुपर्नेमा संघीयतालाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाए।

जनकपुरधाममा मंगलवार प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता निधिले संघीय र प्रदेश सरकारले संघीयता धरापमा पार्ने खेलमा लागेको आशंका व्यक्त गर्दै उनले भने, ‘देशमा ७ प्रदेशमध्ये ६ प्रदेशमा नेकपाकै सरकार छ, प्रदेश २ मा मधेशवादीको सरकारले पनि संघीयता मर्म बुझ्न सकेन।’ उनले संघीय र प्रदेश सरकार संविधान र संघीयता डुबाउने खेलमा लागेकोले जनतालाई सचेत हुन आग्रह गरे।

प्रदेश २ को नामकरण सम्बन्धमा बोल्दै नेता निधिले जनकपरधाम सांस्कृतिक हिसाबले मिथिलाको धरोहर भएकोले मिथिला प्रदेशको प्राथमिकताका लागि सबै दल अग्रसर हुनुपर्नेमा जोड दिए। उनले प्रदेश २ मा स्थापना भएको एकमात्र राजर्षि जनक विश्वविद्यालय आधार क्याम्पसको रूपमा भएकोले जनकपुरको रामसागर रामस्वरूप बहुमुखी क्याम्पस भौतिक तथा संरचनागत सामग्री हस्तान्तरण गर्नुपर्नेमा सरकारले खासै चासो नदेखाएको प्रति दुःख व्यक्त गरे।

पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले भने, ‘प्रदेश सरकारको आँगनमा राजर्षि जनक विश्वविद्यालय स्थापना भएको छ, त्यो अगाडि बढोस् वा नबढोस् सरकारको कुनै मतलव छैन।’ उनले मधेश विकासको नारा बोकेर निर्वाचन जितेका मधेशवादी दल र उनको सरकारले विकासमा ध्यान केन्द्रित गर्नुपर्नेमा मुख्यमन्त्री र मन्त्री पद देखाउन र सुनाउनमै अधिकांस समय खर्चिएको आरोप लगाए।

उनले संघीय सरकारले प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, कानुन, जनशक्ति तयार गरेर पठाउनुपर्ने माग गर्दै निधिले भने, ‘वर्तमान सरकारको आयु त पाँच वर्ष छ, तर प्रधानमन्त्री र मन्त्रीहरूको आयु भने लामो छैन् ।’

उनले देशमा महँगी, उपभोग्य वस्तुहरूको असहज आपूर्ति, जघन्य अपराधको घटनालाई न्यूनीकरणका लागि असोज २८ गते देशभरका जिल्लाहरूमा विरोध र्‍यालीसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समेत जानकारी गराए। प्रेस युनियन धनुषाका अध्यक्ष शैलेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रामसरोज यादव, शिवचन्द्र चौधरी, पूर्वसांसद, पूर्वमन्त्रीहरूको समेत सहभागिता रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.