|

तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला तथा बालिका बलात्कार र हत्याका घटनालाई निरुत्साहित गर्न नसक्दा सामाजिक मूल्य मान्यता विखण्डन भएको बताएका छन्। मुख्यमन्त्री गुरुङले जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा आयोजित ६३औँ प्रहरी दिवसको अवसरमा ‘महिला हिंसा हिंसा र लागुऔषध विरुद्ध साथ साथै हिंडौं’ कार्यक्रममा बताएका हुन्।

बेरोजगारीले गर्दा काम नपाएर नकारात्मक सोचाईको वृद्धिले समाजमा अपराधिक गतिविधी बढ्दा समाजमा विखण्डन बढेको मुख्यमन्त्री गुरुङको दावी छ। परिवर्तित समयअनुसार आमनागरिकलाई सचेतना गर्न नसक्दा त्यस्ता घटना वृद्धि हुँदै गएको भन्दै मुख्यमन्त्री गुरुङले भौतिक आवश्यकता तथा प्रविधिको विकासले सामाजिक संस्कार र संस्कृतिलाई चुनौती दिइरहेको बताए।  ‘यसको अन्त्यको लागि रोजगार मुलक शिक्षा जरुरी रहेको छ,’ उनले भने ‘गण्डकी प्रदेशलाई आधुनिकीकरण गर्दै टेक्निकल कलेज स्थापना गरिने तयारीमा छौँ।’ गण्डकी प्रदेशलाई आधुनिकीकरण गर्न  किशोरावस्था देखिनै उनीहरूको रोजाई अनुसार विज्ञान र प्रविधिमा आधारित शिक्षा दिन प्रदेशले प्राथमिकता दिने तयारीमा रहेको मुख्यमन्त्री गुरुङको भनाई थियो।

प्रहरी प्रशासनमा बढी राजनीतिककरण हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले यस्ता खालका विभिन्न घटनाहरुको सत्यतथ्य अनुसन्धानको लागि राजनीतिक आग्रह पूर्वाग्रहको अन्त्य गरिनुपर्नेमा जोड दिए। जनताको नजिकको सरकार स्थानीय तह बलियो नहुँदासम्म समृद्ध सरकार बनाउन नसकिने बताउँदै मुख्यमन्त्री गुरुङले प्रदेश सरकार र स्थानीय सरकारको सहकार्य हुनुपर्ने बताए। सञ्चार माध्यमले सकारात्मक भन्दा नकरात्मक विषयलाई उठान गरेकोले समाजमा असर पुर्‍याएको बताउँदै मुख्यमन्त्री गुरुङले त्यसप्रति सजक हुन पत्रकारलाई सुझाए।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’, प्रतिनिधिसभाका सांसद कलिला खान, राष्ट्रियसभाका सांसद प्रकाश पन्थ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका सांसदहरू आशा कोइराला, डोबाटे विक र सरिता गुरुङलगायतले अपराध न्यूनीकरणको लागि प्रहरी र सरकारको मात्रै दायित्व नभई आमनागरिकको समेत दायित्व हुनेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.