|

कपिलवस्तु  : प्राचीन बुद्ध नगरी कपिलवस्तुबाटै निर्वाचित एक सांसदले गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागिता जनाएका छन्। अन्तर्राष्ट्रिय समुदायमा बुद्ध जन्मस्थलबारे भ्रामक प्रचार गर्दै आइरहेको भारतले अक्टोबर ८ मा सीमावर्ती सिद्धार्थनगर जिल्लाको पाटनमा आयोजना गरेको कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप साह विशिष्ट अतिथि बनेका थिए।

भारत उत्तर प्रदेश सरकारले बुद्ध भारतको सिद्धार्थनगरमा जन्मिएको बारे आक्रामक प्रचार गरिरहेका बेला नेपालकै सांसद उक्त कार्यक्रमा सहभागी भएका थिए। 
उत्तर प्रदेश सकारद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथ, भाजपा केन्द्रीय सांसद जगदम्बिका पाल तथा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साह विशिष्ट अतिथि बनेका थिए। शाह आफैँले उक्त कार्यक्रममा सहभागी भएका तस्वीरहरू सामाजिक संजालहरूमा पोस्ट गरेका छन्। भारतमा बुद्ध जन्मिएको प्रचारमा नेपाली सांसदको सहभागिताप्रति कपिलवस्तुबासी भने रुष्ट बनेका छन्। 

साहको विवादित हर्कतप्रति कपिलवस्तुबासीले सामाजिक संजालहरूमा आक्रोश पोखेका छन्। ‘नेपालकै सांसदले बुद्ध जन्मस्थल भारत हो भनेपछि अरू के नै बाँकी रह्यो? अझ त्यसमाथि पनि कपिलववस्तुकै सांसद’, स्थानियबासी जनार्दन पाण्डेले भने। 

भारत उत्तर प्रदेश सरकारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी हुनेबारे उनले नेपाल सरकार परराष्ट्र मन्त्रालय तथा संघीय संसदमा कुनै जानकारी वा अनुमति लिएका छैनन्। नेपालका कुनै पनि सांसद, मन्त्री वा उच्च पदस्थ व्यक्ति भारत वा तेस्रो मुलुकले आयोजना गरेको कार्यक्रम, सभा, गोष्ठीमा सहभागी हुँदा अनिवार्य रूपमा यसबारे जानकारी गराउनु वा अनुमति लिनुपर्ने हुन्छ। ‘नेपालका सांसद हुन्, उनले देशको प्रतिनिधित्व गर्छन्, सिमानामा देश जोडिएको छ भन्दैमा चिनी किन्न गएझैँ कार्यक्रममा जान कूटनीतिक मर्यादासम्म नजान्ने केको सांसद?’, स्थानीय युवा शिव बञ्जाडेले आक्रोश पोखे।

यता, शाहले भने आफू सिद्धार्थनगर जिल्लाको तुलसीपुर मन्दिर क्षेत्रमा रहेको विद्यालयको मूर्ति अनावरण कार्यक्रममा सहभागी मात्र भएको बताए। ‘कसले के प्रचार गरेको छ थाहा छैन’, उनले भने, ‘मलाई मुख्यमन्त्रीले निम्तो गर्नुभयो, म गएँ, अरू कुरा थाहा छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.