|

विश्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुटो भएको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ती महिलाले आरोप दर्ता गर्ने क्रममा सबै झुटा कागजात बनाएर पेश गरेको रोनाल्डोका वकिलको दाबी छ।

३३ वर्षीय रोनाल्डोलाई ३४ वर्षीया अमेरिकी महिला क्याथरिन मायोर्गाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। लस भेगासको होटलमा सन् २००९ मा भएको भनिएको घटना रोनाल्डोले अस्वीकार गरेका थिए। क्याथरिनले रोनाल्डोले होटलको कोठामा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्।

रोनाल्डोका वकिल पिटर क्रिस्टियानो एन्सनले जारी गरेको वक्तव्यमा रोनाल्डोले सबै आरोप स्पष्ट रूपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको भन्दै उनले चर्को आलोचना गरेका छन्। यसअघि जर्मनीको पत्रिका डेर स्पिगलमा आरोपसम्बन्धी खबर छापिएपछि रोनाल्डोले ‘फेक न्युज’ भन्दै अस्वीकार गरेका थिए। रोनाल्डोका प्रतिनिधिले साप्ताहिक म्यागजिनविरुद्ध कानुनी उपचारको बाटो प्रयोग गर्ने पनि बताएका थिए।

रोनाल्डोका वकिल क्रिस्टियानोले आरोप सम्बन्धी खबर प्रकाशन गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको अारोप लगाएका छन्। चोरी गरिएको र सजिलै 'म्यानुपुलेट' गर्न मिल्ने डिजिटल कागजातको भरमा आरोप लगाएको उनले बताए। यस्तै कागजातको महत्त्वपूर्ण भाग पूर्णरूपले परिवर्तन गरेर झुट बनाइएको रोनाल्डोका वकिलले बताएका छन्।

डेर स्पिगलले क्याथरिनले घटनालगत्तै लस भेगास प्रहरीमा उजुरी दिएको उल्लेख गरेको थियो। यस्तै सन् २०१० मा अदातल भन्दा बाहिर तीन लाख ७५ हजार अमेरिकी डलर लिएर घटनाका बारेमा सार्वजनिक रूपमा नबोल्ने सहमति गरेको पनि बताइएको छ।

‘सन् २००९ मा लस भेगासमा जे भएको थियो त्यो पूर्णरूपमा सहमतिमा भएको थियो’,रोनाल्डोका वकिल क्रिस्टियानोले भने।  सन् २०१० मा भएको सहमति बारेमा रोनाल्डोले अस्वीकार नगरेको तर यसको अर्थ गल्ती भएको वा त्यसलाई स्वीकार गरेको भन्ने नहुने उनले उल्लेख गरेका छन्। हुँदै नभएको घटनाका कारण आफ्नो प्रतिष्ठा खराब नहोस् भनेर रोनाल्डोले क्याथरिनलाई ठूलो रकम दिन तयार भएको क्रिस्टियानोको दाबी छ। यद्यपि सत्यतथ्य पता लगाउन प्रहरीले पुन अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.