|

बैतडी : जिल्ला अस्पताल ६ महिनादेखि अवरुद्ध शल्यक्रियाद्वारा सुत्केरी गराउने सेवा सुरु भएको छ। 

'एनेस्थेसिया असिस्टेन्ट' अभावमा बन्द भएको सेवा एनेस्थेसिया एसीटेन्ट आएपछि सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिइन्। सेवा शुरु भएसँगै शल्यक्रियाद्वारा सुत्केरी गराउनुपर्ने महिलाहरूका लागि सहज भएको छ। शल्यक्रियाद्वारा सुत्केरी गराउने सेवा नहुँदा जटिल समस्यामा डडेल्धुरा र धनगढी पठाउनुपर्ने बाध्यता हटेको छ। 

जिल्ला अस्पतालमै जटिलतायुक्त प्रसूति सेवा पुनः सुरु भएसँगै सेवाग्राही लाभान्वित भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा.जगदीशचन्द्र बिष्टले बताए। 'एनेस्थेसिया असिस्टेन्ट अभावमा ६ महिनादेखि सेवा सञ्चालन गर्न पाएका थिएनौँ', उनले भने, 'दरबन्दी पूर्ति भएसँगै सेवा सुचारु भएको छ।'  अब जटिल 'केस'हरू पनि जिल्ला अस्पतालमै अप्रेसन गरेर बच्चा जन्माउने सकिने डाक्टर विष्टको भनाइ छ।  

जटिल प्रसूति सेवा सुरु भए पनि जिल्लामा रगत अभाव भने कायमै छ। जिल्लामा ब्लड बैंक नहुँदा शल्यक्रिया गर्नुभन्दा पहिला रगतको खोजी गर्नुपर्ने बाध्यता रहेको डा. बिष्टले बताए। 'रगतको सुनिश्चितता भएपछि मात्रै शल्यक्रिया गर्नुपर्ने बाध्यता छ', उनले भने, 'अहिले सम्म रगतका लागि नेपाली सेना, नेपाल प्रहरी र कर्मचारीकै भर पर्नुपर्ने अवस्था छ।'  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.