पोखरा : यस वर्षको दसैंलाई पोखराका लागि १० हजार हाराहारीमा भेडाच्याङ्ग्रा र आठ हजार खसीबोका ल्याउने तयारी छ। तिब्बत, मुस्ताङ, मुगु र डोल्पादेखि १९ हजारजति च्याङ्ग्रा पोखरा ल्याइएका छन्। व्यापारी रमेश खड्कीका अनुसार पोखरा झरेका अधिकांश च्याङग्रा काठमाडौं लैजाने तयारी छ।
‘खासातिरबाट यसपाली च्याङग्रा आएको छैन। काठमाडौंका अधिकांश व्यापारी पनि यतै छन्,’ उनले भने, ‘मुस्ताङको च्याङग्राको माग अहिले निकै बढेको छ। धेरैजसो च्याङग्रा काठमाडौं जान्छ।’ १० हजारजति च्याङग्रा काठमाडौं लैजाने उनको भनाइ छ। यसबाहेक नारायणगढ, बुटवल लगायतका शहरमा पनि निर्यात हुन्छन्।
एउटा च्याङग्राको मूल्य २८ देखि ३२ हजार रुपैयाँसम्म पर्छ। दसैंमा अत्याधिक खोजी हुने हिमाली क्षेत्रका च्याङग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन्। ‘दसैंमा च्याङग्रा किन्ने चलन छ। वर्षमा एकपटक मात्रै आउने भएकाले पनि मान्छेहरु हुरुक्कै हुन्छन,’ खड्कीले भने, ‘हिमाली जडिबुटी खाएर हुर्केका भेडाच्याङग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाइदाजनक हुन्छ।’
पोखरामा दसैंमा २७ करोड रुपैयाँ हाराहारीको च्याङग्राको मासु बिक्री हुन्छ भने १६ करोड रुपैयाँको खसीबोकाको मासु बिक्री हुन्छ। यसबाहेक साढे सात करोड रुपैयाँको कुखुराको कारोबार हुन्छ। दसैंभरी ५० करोड रुपैयाँको मासु खपत हुने अनुमान गरिएको छ। खसीको तयारी मासु प्रतिकिलो ९८० रुपैयाँ र कुखुराको ३०० रुपैयाँ पर्छ पर्ने पोल्ट्री व्यवसायी मञ्च कास्कीका अध्यक्ष निर्मल खत्रीले जानकारी दिए।
उनका अनुसार दसैंमा एक लाख ८० कुखुरा बिक्री हुने अनुमान छ। यसबाहेक राँगा, भैसी, बंगुरलगायतको मासु पनि बिक्री हुन्छन्। पोखरामा वार्षिक डेढ अर्ब रुपैयाँभन्दा बढीको खसीबोका, च्याङग्रा र चार अर्ब रुपैयाँको कुखुराको मासु बिक्री हुन्छ। वर्षमा करिब एक लाख वटा खसीबोका, २५ हजार वटा भेडा च्याङग्रा र ६६ लाख वटा कुखुरा बिक्री हुन्छन्।
पोखरामा खपत हुनेमध्ये १५ प्रतिशत खसीबोका भारतबाट आयात हुने पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए। यसअघि ३० प्रतिशत जति खसीबोका भारतबाट आयात हुन्थ्यो। भन्सार मूल्य र खसीबोकाकै मुल्य पनि बढ्न थालेपछि अहिले नेपाली उत्पादनमा बढी जोड दिएको उनले बताए।
‘भारतबाट आउने खसीबोकाको मूल्य नै बढी भैसक्यो। त्यसमाथि भन्सार पनि ५०० रुपैयाँ बढ्यो,’ उनले भने, ‘नेपाली उत्पादनलाई प्राथमिकता दिऔं भनेर आयात घटाएका छौं। अहिले अधिकाशंले नेपालकै खसीबोका किन्न पाउँछन्।’ पोखरामा भारतसहित दाङ, सुर्खेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्जलगायतका जिल्लाबाट खसीबोका आयात भैरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।