|

धनगढी : दशैँ मनाउन ४ वर्षपछि भारतको बैङलोरबाट नेपाल आएका बझाङका प्रेम बिकले सीमामा केही रकम दिएर मात्रै नेपाल प्रवेश पाए। ५ दिन लामो यात्राभन्दा नेपाल-भारत सीमा नाकामा धेरै समस्या झेलेको उनले बताए। ‘बैंङलोरदेखि आउँदा कहीँ कतै दुःख भएन तर सीमामा पैसा तिर्नुपर्‍यो। चियापानी नदिएसम्म आउन पाइनँ’ प्रेमले दुखेसो पोखे।

यस्तो पीडा र गुनासो प्रेमको मात्रै छैन। बझाङकै अमरबहादुर गिरीले पनि नेपाल पुग्दासम्म दुई हजार भारतीय रकम बुझाएको बताए। ‘ट्रेनबाट उत्रिएपछि मैले मात्रै दुई हजार भारु तिरेर नेपाल आए। टिकट होइन, त्यो रकम त मैले भारतीय प्रहरीलाई बुझाएको हुँ’ गिरीले भने। बिक र गिरीको जस्तै समस्या भारतकै अहम्दाबादबाट दशैँ मनाउन आएका केशव कुवँरले पनि झेल्नुपर्‍यो। उनले आफूसँग सीमामा ७ हजार रुपैयाँमा मागेको र केही रकम दिएर आएको बताए।

‘भारतीय प्रहरीलाई कम पैसा दिनु पर्ने रहेछ। नेपाल पुलिसलाई बढी दिनुपर्ने रहेछ’ कुँवरले बताए। ‘म बनबासाको बाटो हुँदै आएको हुँ। त्यहाँबाट केही सामग्री लिएर आएको थिए। भारतीय प्रहरीले सोध्यो, 'मैले सबै कुरा भने र परिचय पत्र देखाए अनि उनीहरूले छोडिदिए। तर नेपाल प्रहरीले सातहजार रुपैयाँ माग्यो। मलाई धेरै ज्ञान थिएन अलिकति खर्चपानी दिएर आए।’ कुँवरले गुनासो पोखे। उनले परदेशबाट दशैँ मनाउन आएको र नेपाल प्रवेश गर्नु पूर्व नै दशैँ खल्लो भएको बताए।

मजदुरी गरेर फर्कनेहरू मात्रै होइनन्, रोग बिरामको उपचार गरेर फर्कनेहरूलाई पनि सीमामा सताउने गरेको पाइन्छ। कतिपय ठगिएर आउँछन्। कतिपय लुटिएर आउँछन्। धनगढीका विकास वडले बनवासा नाकामा आफूसँग भएको १० हजार लुट्ने प्रयास भएको र सरोकारवालाहरूको पहलबाट त्यो रकम पाएको बताए। उने भने, ‘भारतीय प्रहरीले मलाई यहाँ आइज भन्यो। मसँग पैसा थियो। सुरुमा १० हजार समात्यो। मैले दिन्न भने। दुईहजार निकाल भन्यो। मैले दिन्न भनेपछि मेरो खल्तीमा आफैँले हात हालेर २०० निकाल्यो। त्यो मान्छे प्रहरीको कपाल काट्ने रहेछ। मैले निरीक्षकलाई गुनासो पोखेपछि मैले त्यो रकम पाए।’ वडले आफू लुटिनबाट बचेको भए पनि अरुहरू लुटिने गरेको बताए। उनीहरू त प्रतिनिधि पात्र मात्रै हो।

दशैँ लागेसँगै घर फर्कने नेपालीहरू प्रत्येक दिनजसो सीमामा लुटिने र कुटिने गरेका छन्। उनीहरूलाई भारतीय प्रहरीले मात्रै होइन नेपाल प्रहरी, सशस्त्र प्रहरी र रिक्सावालाहरूले पनि लुटपाट गर्ने गरेको गुनासो बढ्न थालेको छ। भारतीय भूमिमा भारतीय सीमा सुरक्षा बलले र नेपाली भूमिमा आफ्नै नेपालीले ठग्ने र लुट्ने गरेपछि दशैँ मनाउन वर्षाैपछि घर फर्केकाहरू दशैँ खल्लो भएको बताउँछन्।

सीमामा नेपालीहरू लुटिने गरेको घटना बढेपछि बुधबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थलगत अवलोकन गरेका छन्। उनले नेपाल-भारत सीमा नाकामा सहज आवगमनका लागि वातावरण तयार गर्ने निर्देशन दिएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले सीमा क्षेत्रको स्थलगत अनुगमन गरेपछि दिएको निर्देशनले नेपाली लुटिने र कुटिने क्रम कम हुन्छ कि भन्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.