भिन्न शैलीमा दशैँ

|

काठमाडौं : घटस्थापनासँगै सबै नेपालीको घरमा दशैँ प्रवेश गरेको छ। दशैँको सामग्रीले बजार ढपक्कै ढाकेको छ। गाउँमा पनि दशैँको धपेढी त्यतिकै बढेको छ। अरूलाई जस्तै राजनीतिककर्मीलाई पनि दशैँले छपक्कै छोपेको छ। राजनीतिक दलका नेताहरू अहिले दशैँको शुभकामनाका लागि गरिने कार्यक्रममा देशका विभिन्न ठाउँ गएका छन्।

लामो समयको राजनीति धपेढीबाट थाकेका नेताहरू दशैँलाई आराम गर्ने समयका रूपमा लिएर आफ्नो परिवारसँगै दशैँ मनाउने गर्छन्। त्यसका अलवा दैनिकजसो हुने चियापान कार्यक्रममा पनि सहभागी हुने गर्छन्। अहिले नेताहरू जिल्ला जिल्लामा शुभकामना आदानप्रदानमा व्यस्त छन्। त्यसपछिका केही दिन अफ्नो परिवारसँग बिताएर उनीहरू दशैँ मनाउने गर्छन्।

तर, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने दशैँलाई सधैँ विशेष र भिन्न शैली छ। यस वर्ष पनि अरू नेताको भन्दा फरक तरिकाले दशैँ मनाउने योजनामा छन्, शर्मा। नेपाली राजनीतिमा सधैँ चर्चामा रहने पात्र हुन्, उनी। गत वर्ष मंसिरमा झापा क्षेत्र नम्बर १ बाट आफू पराजित हुँदा निर्वाचित नेकपाका सुरेन्द्रकुमार कार्कीलाई फूलमालासहित उनी बधाई दिएर चर्चामा आएका थिए। जुनबेला अन्य क्षेत्रमा प्रतिस्पर्धा गरेका उम्मेदवारबीच गालीगलोज नै चलिरहेको हुन्थ्यो। तर, शर्मा र कार्कीबीचको हार्दिकताले नेपाली राजनीतिमा नै नयाँ पाठ सिकाएको थियो। यस्तै, यसपटक पनि उनी चाडपर्वलाई राजनीतिकर्मीे कसरी मनाउनुपर्छ भन्ने पाठ सिकाउँदै दशैँ मनाउँदै छन्।

उनी सधैँको वर्ष जस्तै यस वर्ष पनि उनी समाज सेवा गरेर दशैँ मनाउने योजनामा छन्। अघिल्लो शनिबारदेखि नै उनको दशैँका कार्यक्रम सुरु भएको छ। तर, उनी चाडपर्वलाई मनोरञ्जनसँगै रचनात्मक बनाउने गरेका छन्। अघिल्लो शनिबार काठमाडौं–झापा क्षेत्र नम्बर १ सम्पर्क समितिले गरेको कार्यक्रममा पनि उनले रक्तदान गरेर शुभकामना आदानप्रदान गरेका थिए। ‘केही रचनात्मक काम गर्दै चाडपर्व बनाऊँ भन्ने मेरो लक्ष्य हो’, उनले भने,‘त्यसकारण शनिबार भएको रक्तदान कार्यक्रममा गरेर शुभकामना आदानप्रदान गरेर मनाइयो। २१ जना युवाले त्यो दिन रक्तदान गरे।’

प्रवक्ता शर्मा अहिले नवलपरासी छन्। उनी शुक्रबार झापा पुग्दै छन्। झापा गएर उनको दशैँ सुरु हुन्छ। उनी आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर १ मा गएर विभिन्न कार्यक्रमको आयोजना गर्दैछन्। तर उनको कार्यक्रम भाषणरहित हुन्छ। ‘चिया विस्कुट खाएर कार्यक्रम गर्नुभन्दा केही रचनात्मक काम गर्दा धेरै राम्रो हुन्छ’, शर्माले भने।

दशैँसँगै शर्मा आफ्ना मतदातासँग रमाउने योजनामा छन्। कूटनीतिक राजनीतिका कारण सधैँ चर्चामा रहने शर्मा यसपटक झापाको आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य शिविर गर्दै छन्। २७ गते शनिबार आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको बुद्धशान्ति गाउँपालिाकामा उनी एक दर्जन डाक्टरसहित उनी पुग्दै छन्।

करिब पाँच लाखको औषधि लिएर स्वास्थ्य शिविरका लागि उनी त्यहाँसम्म पुग्ने छन्। ‘सबैको सुस्वास्थ्य कामना गर्दै दशैँसँगै स्वास्थ्य शिविर भनेर म गाउँसम्म जाँदैछु। त्यहाँ भाषण पनि हुँदैन। त्यहाँ आउनुभएका मध्ये सबैभन्दा वृद्धको स्वास्थ्य जाँच गरेर उद्घाटन गर्छौँ’, शर्माले भने,‘हामी शिविरमा सबै प्रकारका रक्त परीक्षण पनि गर्छौँ।’ त्यहाँ उक्त औषधि नि:शुल्क वितरण गरिनेछ। औषधिका लागि मेडिकल क्षेत्रमा कार्यरत झापाका उमेश सुवेदी, सुरेश खतिवडा र एकराज सुवेदीले सहयोग गरेको शर्माले बताए। कार्यक्रमको व्यवस्थापनका लागि कांग्रेस झापा क्षेत्र नम्बर १ क्षेत्रीय सिमित र गाउँसिमित लागेका छन्।

दशैँमा परिवारसँग मनोरञ्जन नगर्ने भन्ने हाम्रो प्रश्नमा उनले भने,‘म त्याहाँ परिवारसँगै हुन्छु। मेरो श्रीमती जान्छिन्। छोराछोरी जान्छन्। त्यहाँ मेरा मतदाताहरू हुनुहुन्छ।’ यस्तै, गत वर्ष शर्माले १३ वर्षीया छोरी स्वीकृतिबाट रिक्सा चालक मजदुर शम्भु चौधरीका टीका लगाएर लुगाकपडा सहयोग गरेका थिए। चौधरीको परिवार निकै विपन्न छ। यसपटक पनि यसरी नै दशैँ मनाउने योजनामा छन्, शर्मा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.