|

काठमाडाैं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

एनआरएनएले निर्माण सुरु भएको करिब ४ वर्षपछि ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई बिहीबार एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो। पार्क निर्माणको जिम्मा स्पेश क्राफ्ट नामक कम्पनीले पाएको थियो।

३२ रोपनी क्षेत्रफलमा पार्क बनाउन सुरुमा दुई करोड रुपैयाँ खर्च हुने बताइएकामा केही संरचना थप गरिएका कारण लागत दुई करोड ४२ लाख ९९ हजार १८४ रुपैयाँ खर्च भइसकेको एनआरएनएले जनाएको छ। पार्क निर्माणका लागि हालसम्म एक करोड ५३ लाख ६८ हजार २६८ रुपैयाँ सहयोगको प्रतिबद्धता आएकोमा एककरोड १७ लाख ८५ हजार ३८३ रुपैयाँ सहयोग प्राप्त भइसकेको छ।

पार्क निर्माणका लागि संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले २५ लाख, पूर्वअध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले जनही १५ लाख, डा. निरजगोविन्द श्रेष्ठले १० लाख रुपैयाँ सहयोग गरेका छन्। यसबाहेक अन्य सहयोगी संस्था र व्यक्तिले पनि पार्क निर्माणमा सहयोग गरेका छन्। शंखमूल पार्कमा स-साना पोखरीहरू, चौबिसै घण्टा पानी बग्ने शंखमूल धारा लगायत संरचना निर्माण भएका छन्।

सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनलाई पार्क हस्तान्तरण गरे। अध्यक्ष भट्टले पार्क निर्माणमा चुनौती धेरै भए पनि आफ्नै पालामा सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गरे। यस्तै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले एनआरएनएले निर्माण गरिदिएको पार्क संरक्षण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा सहरी विकासमन्त्री मोहम्मद इस्तिायक राईले अनुकरणीय काम गरेर सरकारलाई गुन लगाएको बताए।अहिले देशमा स्थिर सरकार रहेकोले बैदेशिक लगानीको उपउक्त वातावरण पनि भएकोले गैरआवासीय नेपालीले देश निमार्णमा लगानी गर्न पनि आग्रह गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, निवर्तमान अध्यक्ष शेष घले तथा पूर्वअध्यक्ष जीवा लामिछानेले सामाजिक काममा एनआरएनको सधै साथ रहने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.