|

रुकुम : दशैं तिहार नजिकिएसँगै हुन सक्ने सम्भावित कालो बजारीलाई रोक्न मुसीकोट नगरपालिकाले वडाहरूमा रहेका विभिन्न बजारमा अनुगमन गरेको छ। 

नगरपालिकाले खलंगा बजारका खाद्य तथा किराना एवं एग्रोभेट र मासु पसलको अनुगमन गरेको हो। अनुगमनको क्रममा कतिपय पसलमा अखाद्य वस्तु तथा म्याद गुज्रीएका सामान समेत भेट्टिएको र त्यस्ता सामान नष्ट गरिएको थियो। त्यसै गरी कतिपय पसलमा मूल्यसूची नराखिएको, सरसफाइलाई ध्यान नदिइएको र दर्ता नगरेरसमेत पसल सञ्चालन गरेको पाइएको थियो। 

अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका पसललाई जति सक्दो चाँडो सबै किसिमका मापदण्ड पूरा गरेर नगरपालिकामा आफ्नो व्यवसाय सूचीकृत गर्न पनि अनुरोधसहितको निर्देशन गरिएको मुसीकोट नगरपालिकाकी उपप्रमुख एवं अनुगमन टोलीकी संयोजक प्रेमकुमारी सुनारले बताइन।

सुनारकाका अनुसार व्यापारी तथा उपभोक्तामा सचेतना नहुँदा बजारमा ठूलो मात्रामा म्याद गएका समान बिक्री वितरण भइरहेका छन्। अनुगमनको पहिलो चरणमा सचेतनासहित सानोतिनो म्याद गएको मात्र सरसमान बरामद गरिएको र आगामी दिनमा पुनः त्यस्तो पाइएमा कडा कारबाहीसहित सम्पुर्ण समान बरामद गरिने उनको भनाइ छ। दैनिकजसो बजारका विभिन्न ठाउँमा  अनुगमनलाई निरन्तरता दिइरहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.