|

उदयपुर : केही वर्षयता उदयपुरका विभिन्न वन क्षेत्रबाट ठूलो परिमाणमा रुख काटिने क्रम जारी छ। विद्युत् र सडक विस्तारका विकासे योजनाले वन क्षेत्रका रुखहरू काटिएका हुन्।

सगरमाथा लोकमार्ग, नगदाह–फत्तेपुर–धरानरचतरा–सिन्धुली–हेटौडा सडक योजना, सोलु कोरिडोर र हेटौंडारढल्केबर दुहबी ४०० केभी प्रसारण लाइन विस्तार आयोजनाबाट वनका रुख काटिएको जिल्ला डिभिजन वन कार्यालय गाईघाटले जानकारी दिएको छ। 

डिभिजन वन कार्यालय उदयपुरका अनुसार २६ हजार ५२१ रुख काटिएका छन्, जसमा सामुदायिक वन क्षेत्रबाट मात्र ८ हजार ३९३ रुख काटिएका छन्।

विकास निर्माणका योजनाहरू वन क्षेत्रमा परेपछि प्रत्येक आयोजनाले एक रुख काटिएवापत २५ वटा रुख रोप्नुपर्ने सरकारी नीति छ। ‘सडक र विद्युत् विस्तारका लागि रुख काटिएपछि पुन: रोप्नुपर्ने नियम छ,’ डिभिजन वन कार्यालयका लालबाबु यादवले भने, ‘सडक मात्र  विस्तार भएको क्षेत्रका ४१ सामुदायिक वन र अन्य क्षेत्र राष्ट्रिय वनमा परेका छन्, तर, पनि आयोजनाले बिरुवा रोप्ने गरेका छैनन्।’ सडक र विद्युत् विस्तार अायोजनका लागि वातावरणीय असर प्रभाव मूल्यांकन गरेर मात्र रुख काटिन्छ।

रुख रोप्नका लागि बजेट मागे पनि हालसम्म निकासा नभएको धरान–चतरा–हेटाैँडा सडक योजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ।  ‘रुख रोप्नका लागि १ करोड ५७ लाख ३४ हजार रुपैयाँ  लाग्छ,’ डिभिजन वन कार्यालय उदयपुरका यादवले भने, ‘तर हालसम्म रकम उपलब्ध भएको छैन।’ रकम उपब्ध भए वन कार्यालयले नै रुख रोप्ने उनले बताए।

सडकले कटान गरेको रुखको क्षतिपूर्तिस्वरूप ७१.८७ हेक्टरमा १ लाख १४ हजार ९९२ विरुवा रोप्नुपर्ने हुन्छ। तर हालसम्म एउटा रुख पनि रोपिएको छैन। बिरुवा रोप्नुपर्ने ७१.८७ हेक्टर जग्गा उपलब्ध गराउन पनि समस्या हुने वन अधिकारी बताउँछन्।

सडक विस्तारका लागि ठूलो संख्यामा रुख काटिँदा असर पर्ने सर्वसाधारणले गुनासो गरेका छन्।

धरान–चतरमा काटिए १२ हजार रूख

निर्माणधीन धरान–चतरा–गाईघाट कटारी हुँदै सिन्धुली–हेटौँडा जोड्ने वैकल्पिक लोकमार्गमा पर्ने १२ हजार रुख काटिएका छन्। यो सडक सुनसरीमा १८.८ किमि, उदयपुरमा १०८.५ किमि, सिन्धुलीमा १३५ किमि र मकवानपुर जिल्लामा ४९.३५ किमि भागमा पर्छ। हालसम्म यो योजनाको कुल लम्बाइमध्ये करिब २० किमि कालोपत्रे, करिब ११० किमि ग्राभेल छ भने बाँकी धुले सडक छ। आयोजनाका अनुसार सम्पूर्ण सडक दुई लेन बिस्तार गरेर स्तरोन्नति गरिनेछ। हाल कालोपत्रे भइसकेको करिब २० किमि बीपी राजमार्ग र पूर्वी खण्डको ४८ किमि सडक विभागले कालोपत्रे तथा बिस्तार गर्ने जिम्मा लिएको छ। सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ। सडक विस्तार गर्दा पश्चिम खण्डमा ४ हजार ५०० र पूर्वी खण्डमा ८ हजार रूख काटिएका छन्। 

नदाहा रुपनगर सडकमा ५००

नदाहा–कोशीपुल चतरा रुपनगर सडक योजनाले सडकमा पर्ने ५८१ सालका रुख काटेको छ। निार्माण भइरहेको जम्मा ६२ किलोमिटर सडक खण्डको उदयपुरमा पर्ने ४२ किमिमा मात्र ५८१  रुख काटिएको हो। वन नीतिअनुसार सडक निर्माणका लागि एक बिरुवा काटेबापत २५ बिरुवा रोप्नु पर्ने अर्का सहायक वन अधिकृत जागेश्वर साहले बताए। ‘सडक आयोजना क्षेत्रभित्र पर्ने ५८१ रुख काटेबापत १५ हजारभन्दा बढी बिरुवा खुल्ला भएका वन क्षेत्रमा रोप्नुपर्छ।’ अधिकृत साहले भने, ‘त्यसका लागि सडक आयोजनाले ४० लाख ६ हजार रुपैँया वन कार्यालयमार्फत सरकारलाई बुझाउने सम्झौता भएको छ।’

विद्युत्् विस्तारले वन सखाप

सुनसरीको दुहबी–मकवानपुरको हेटौंडा विद्युत् विस्तारका लागि उदयपुरको वन क्षेत्रमा ठूलो परिमाणमा सालका रुख काटिएको छ। हेटौडा–ढल्केबर–दुहबी ४ सय केभी विद्युत् प्रसारण लाइन निर्माणको क्रममा उदयपुरको दुई सामुदायिक वन क्षेत्रबाट ३ हजार ६०० हरियो सालको रुख काटिएको हो।

‘४ सय केभी विद्युत् प्रसारण लाइन निर्माणका लागि तपेश्वरीका बेला जनशक्ति र अमर ज्योति सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रका ३ हजार ६५१ रुख कटान गरिएको वन कार्यालयको भनाइ छ। यस आयोजनाले काटेवापत विरुवा रोप्न अहिलेसम्म मानेको छैन।

सोलु करिडोरले ८०० रूख काटियो 

सोलु कोरिडोर प्रसारण लाइन विस्तार आयोजनाले पनि उदयपुरकै विनाश गरेको छ। सोलु कोरिडोर १३२ केभी प्रसारण लाइन विस्तार गर्दा घना वन क्षेत्र नै पुगेको छ। उदयपुरमा १५ वटा सामुदायिक वन क्षेत्रबाट सात हजार ८०० बिरुवा तथा सालका रुख कटान गरिएको छ।  डिभिजन वन कार्यालय उदयपुरका अधिकृत यादवले भने, ‘आयोजनाले विनाश हुने विरुवाको २५ गुणा बढी बिरुवा रोप्नु पर्ने प्रावधान छ,’ ताकेता गर्दा पनि रोप्दैनन्।’ अन्य साना साना विकास निर्माणका कामले पनि वनकै रुख बिरुवामा कटान गर्ने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.