राजनीति

'संघीय सरकारले कर्मचारी नपठाए आफैँ भर्ना गर'
SHARES

असोज २६, २०७५

    सुर्खेत : कर्णली सरकारले गठन गरेको विज्ञ समूहले प्रक्रिया मिलाएर कर्मचारी भर्ना गर्न सुझाव दिएको छ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश सरकारको विज्ञ समूहका संयोजक जनार्दन शर्माले विज्ञ समूहको दुई दिन बसेको बैठकले उक्त सुझाव दिएको हो।

    कर्णाली सरकारको आवश्यक संरचना र जनशक्ति अभाव भएकाले सरकारका काम अलपत्र अवस्थामा रहेको भन्दै केन्द्रबाट कर्मचारी आएनन् भनेर बाटो हेरर बस्ने अवस्था नभएको शर्माले बताए।

    प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका नेकपाका कर्णाली प्रदेश इन्चार्ज समेत रहेका शर्माले विजयादशमीको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा कर्णालीबासीको क्षमता र अधिकार प्रयोग गरेर उत्कृष्ट कर्णाली प्रदेश बनाउन सकिने बताए। उनले भने, ‘केन्द्रबाट कर्मचारी आएनन्, कर्मचारी बिना काम गर्न सकिएन भनेर अब हुँदैन, प्रदेशलाई आवश्यक पर्ने जनशक्ति कानुनी प्रक्रिया मिलाएर आफैँ भर्ना गर्न प्रदेश सरकारलाई सुझाव दिएका छौँ।’

    कतिपय कर्मचारीले संघियता विरोधी काम गरिरहेको र अझै पनि केन्द्रीकृत प्रणालीको शैलीबाट काम गरीरहेको शर्माको भनाई छ। केन्द्रबाट कर्णालीमा ३३ प्रतिशत मात्र कर्मचारी आएको बताउँदै उनले अब प्रदेश सरकारले आफैँले कर्मचारी भर्ना गर्ने वातावरण बनाउनुपर्ने बताए।

    उनले कर्णाली प्रदेशको विकासका लागि केन्द्रको मुख ताक्न नहुने बताएका छन्। ‘हाम्रो कर्णाली हामी आफैँ बनाउँछौँ’, उनले भने, ‘यसका लागि कर्णाली बासी सबैले योगदान पुर्‍याउनु पर्दछ।’ उनले थपे, ‘कर्णाली प्रदेश सरकारलाई आवश्यक सल्लाह र सुझावमात्र हैन योजना बनाउन पनि यो विज्ञ समूहले सहयोग गर्ने छ।’

    कर्णाली विज्ञ समूहको बैठकले सरकारको आवश्यकतामा मद्दत गर्ने, प्रदेशको सरकारको संरचना निर्माणमा सहयोग पुर्‍याउने, कर्णाली विकासको ५ वर्षीय, १५ वर्षीय र ५० वर्षीय रणनीति तथा व्यवस्थित योजना निर्माण गर्ने निर्णय भएको शर्माले जानकारी दिए।

    योजनामा भन्दा कार्यान्वयन र परिणाम समेत महत्वकांक्षी हुनुपर्नेमा शर्माले जोड दिए।

    एक फरक प्रसंगमा उनले नेकपाको कमिटीले तल्लोस्तरसम्म पूर्णता नपाएको र पार्टी स्थायी कमिटीको आगामी कात्तिक ४ गते बस्ने बैठकले सबै टुङ्गो लगाउने जानकारी दिए। कार्यक्रममा उनले अब पार्टीभित्र कुनै गुट नहुने र पार्टी विधि विधानसँग चल्ने बताए।

    कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, डा. पुण्य रेग्मी, डा. कुशेन्द्र महत र डा. गोविन्द वियोगी लगायतका विज्ञहरूको सहभागिता रहेको थियो।

धर्मराज जिसी

जिसी थाहाखबरका सुर्खेत संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]