रोपाइँ सकेलगत्तै दशैँको पीर

|

ओखलढुंगा :  वर्ष दिनमा आउने पर्व दशैँ मनाउन घरबाहिर रहेकाहरू धमाधम घर फर्कन थालेका छन्। दशैँमा हुने नहुने सबैले ऋणपन गरेर पनि  मीठो मसिनु खाने प्रचलन छ। हुनेखानेहरू धुमधामका साथ चाडपर्व मनाई रहेका देखिन्छन् भने हुँदा खानेहरू वर्ष दिनलाई ऋणको भारी बोकाइ चाडबाडलाई बिदाइ गरेको देखिन्छ।

सालको पात बेचेर दशैँ खर्च 

'माग्नु पनि नपरोस् ढाँटी छली पनि गर्नु नपरोस् दुखले आफ्ना सन्तानलाई खुसी दिनु आमा बाबुको कर्तव्य हो।' सिद्धिचरण नगरपालिका ९ ज्यामिरेकी पार्वती विश्कर्माले भनिन्। आफ्नो जमिनमा वर्षमा ३ महिना मात्र खान पुग्ने र अरू ९ महिना मजदुरी गर्नुपर्ने विश्वकर्मा परिवारलाई दशैँ कसरी मनाउने भन्ने चिन्ता छ। सालको पात बेचेरै दशैँ खर्थ जुटाउने गरेको उनले सुनइन्। विगत वर्षदेखि नै आफूले सोह्श्राद्ध तथा दशैँ सुरु भएलगत्तै सालको पात बेचेर छोराछोरीहरूको रहर पूरा गर्ने गरेको उनी बताउँछिन्।

विगतमा असार साउनमा धान रोपाइँ तथा कोदो रोपाइँदेखि खासै काम नहुने हुँदा दशैँ खर्च जुटाउन धौ-धौ हुने विश्कर्मा परिवार अहिले ओखलढुंगा सदरमुकाममा शनिबार र बुधबार लाग्ने हटियामा सालको पात बेचेर दशैँ खर्च जुटाइरहेका छन्। फुर्सदको समयमा जंगलमा गएर एक भारी सालको पात लिएर हटियामा ल्याई बेचेर आफूले दशैँ खर्च पुर्‍याउने गरेको  विश्कर्माले बताइन्।

सोह्रश्राद्ध तथा दशैँ सुरु भएपछि आफूले हरेक हप्ता सालको पात ल्याई हटियामा बेच्ने गरेको उनको भनाइ छ। '३० देखि ५० रुपैँया मुठो सालको पात बेचेर एकभारी सालको पातबाट दुईहजारदेखि तीन हजारसम्म आम्दानी हुने गरेको छ' उनले भनिन। यहाँका दलित समुदायमका महिलाहरू जंगल गएर सालको पात ल्याई हटियामा बेच्ने गरेको भए पनि पछिल्लो समय  जंगल फडानी भएपछि रूखहरू सुकेको र साना बिरुवामा पात राम्रो नपाईने हुँदा समस्या भएको बताउँछन्।

सिजनमा पनि खुकुरी नबिक्दा दशैँ मनाउन समस्या

ओखलढुंगामा लाग्ने शनिबारे तथा बुधबारे हटियामा खुकुरीको व्यापार घटेपछि पुर्ख्यौली आरन पेसाबाट गुजारा चलाउनेहरूलाई दशैँ मनाउन नि कठिन भएको छ। दशैँको सिजन सुरु भए पनि तयारी खुकुरी आएसँगै खुकुरीको व्यापार घटेका कारण  समस्या भएको मोलुङ गाउँपालिका-२ टेकनपुरका ईश्वरबहादुर विश्वकर्माले बताए।

विश्वकर्मा समुदायले आफ्नो पुर्ख्यौली आरन पेसाबाट निर्माण गरेका खुकुरीहरू विगत वर्षको भन्दा यो वर्ष दशैँ लागे पनि बिक्री नभएको उनको भनाइ छ। २० घरभन्दा बढी विश्वकर्माहरूको बस्ती रहेका यस ठाउँमा आरनले मात्रै परिवार चलाउन धौधौ परेको विश्वकर्माको भनाइ छ।

सिद्धिचरण नगरपालीका-७ बिगुटारमा रहेका विश्वकर्मा समुदायका अधिकांशले पुर्ख्यौली पेसा छाडेर अहिले अन्य पेसा व्यवसाय गर्न लागेको कारण आरन पेसा गर्ने मान्छे खोज्नुपर्ने भएको स्थानीय मेखबहादुर विश्वकर्माको भनाइ छ। आफूहरूले बाली घरे प्रथा छाडेर व्‍यावसायिकरूपमा यो पेसा गरे पनि सिजनमा खुकुरीको व्यापर घटेपछि दशैँ मान्न धौ धौ भएको विश्कर्माहरू बताउँछन्।

रोपाइँ सकेलगत्तै दशैँको पीर

यस्तै अवस्था ओखलढुंगाको ग्रामीण भेगमा पनि रहेको छ। विशेष गरी ग्रामीण भेगमा रहेका दलित समुदायमा चाडबाड कसरी मनाउने चिन्ता रहेको छ। असारको रोपाइँ सकेलगत्तै दशैँका लागि र बालबच्चालाई  दशैँमा के दिने कसो गर्ने भनेर पिरोल्ने गरेको वर्ष दिन नै ज्यामी काम गरेर पेट पाल्ने गरेकी लिखुगाउँपालिका वडा नं ६ की  ६२ वर्षिय माया सार्कीको भनाइ छ। उनीआफ्नो श्रीमानले अर्कै श्रीमती लिएर हिडेपछि गाउँमै सुख दुःख गरेर आफ्ना ४ वटा छोराछोरी हुर्काएर बुढेसकालको साहरा भनेर बसे पनि बुढेसकालमा आफ्नो कोही नभएको बताउँछिन्।

छोराछोरी बुढेसकालमा साहरा बन्छन् भन्ने भए पनि आफूसँग छोराछोरी नबसेपछि उमेरसँगै पीडा बढेको सार्कीको भनाइ छ। 'छोराले सुख दिन्छन् भन्ने लागे पनि छोराहरू श्रीमती लिएर आआफ्नै बाटो लागेका छन्' उनले भनिन्।  बुहारी अर्कै संग हिडेको र छोराले कान्छी श्रीमती लिएर हिडेपछि दुईनातिनी पनि सँगै हुँदा दशैँ कसरी मनाउने चिन्ता रहेको छ सार्कीलाई। 'न त छोराहरू आउँछन् न त कहिलेकाहीँ आमा खाऊ भनेर नै रुपैयाँ पैसा नै दिन्छन् अब दशैँ कसरी मनाउनु?' उनले थपिन्, 'नातिनीहरूलाई के खुवाउनु यो चाडबाड हामी गरिबका लागि त आउँदा नि नआओस्।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.