दाङ : मालश्रीको धूनसँगै दशैँमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दशैँ आएको सङ्केत गर्छ। तर,अचेल भने यस क्षेत्रमा मालश्रीका धून सुनिन छाडेका छन्।
केही वर्ष पहिलेसम्म दशैँमा घरघरमा सारङ्गी बाजासहित दुर्गा जगाउन आउने गन्धर्व समुदाय हाल भने देखिन छाडेका छन्। पहिले प्रत्येक घरघरमा गन्धर्व समुदायका व्यक्ति दुर्गामा मालश्रीको धूनसँगै गाउन आए पनि अचेल एक दुई स्थानमा मात्र सो धुन बज्ने गरेको छ।
दाङ तुलसीपुर–७ का स्थानीय समाजसेवी कृष्णकुमार गिरीले भने, ’पहिलेपहिले बिहानै दुर्गा जगाउन भन्दै गन्धर्व समुदायका व्यक्ति घरघरमा आउने गर्दथे, हाल भने सो धुन लोप हुने अवस्थामा छ।' तुलसीपुर-७ का विमल गौतमले एक जना गन्धर्व भए पनि आफ्नो घरमा आउँदा पुरानै संस्कृतिको जगेर्ना भएकोमा खुशी व्यक्त गर्छन्।
हाल एक\दुईबाहेक अन्य गन्धर्वले सो पेशा छाडेका छन्। युवा पुस्ताले चासो नदिँदा तथा राज्यले आफूहरूको पेशा संरक्षणका लागि चासो नदिँदा मालश्री तथा अन्य समयमा सारङ्गी बाजा बज्न छोडेको तुलसीपुर–४ निवासी शालिकराम गन्धर्वको भनाइ छ। उनले भने ‘राज्यले यसतर्फ कुनै चासो दिएन, हाम्रो छोराछोरीले पनि पेशा अँगालेनन्।‘
कहीँकतै एक/दुई जना गन्धर्वले पुख्र्यौली पेशा अँगाले पनि नयाँ पुस्ताले निरन्तरता दिन नसकेकोले पेशा सङ्कटमा परेको बताइएको छ। कसैले आग्रह गरेमा केही घरमा आफू दुर्गा गाउन जाने गरेको र एक्लैले नभ्याउने उनको भनाइ छ। प्रेम गन्धर्वले भने ’हामी जस्तै दुई\चार जना पुराना व्यक्तिले संस्कृति जर्गेना गर्ने प्रयास गरेका छौँ।' घटस्थापनादेखि दुई\चार घरमा दुर्गा जगाउँदै आएको छु।’
दाङको तुलसीपुर–४ मा करीब ६० घर गन्धर्व परिवारको बसोबास भए पनि थोरैले मात्र सारङ्गीवादन जानेका छन्। आफूहरूलाई राज्यले सहयोग नगर्दा सारङ्गी बाजा लोप हुने अवस्थामा पुगेको अर्जुन गन्धर्वले बताए। उनले स्थानीय निकाय तथा सम्बन्धित संस्थाले आफूहरूको पेशा संरक्षण र जीविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउनसमेत माग समेत गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।