|

काभ्रेपलाञ्चोक : प्रेस काउन्सिल नेपाललाई डिजिटलाइजेसनसँगै डाटा सेन्टरका रुपमा विकसित गरिने भएको छ। 

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको संयोजनमा काउन्सिलद्वारा शुक्रबार बनेपामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा काउन्सिलका उप-प्रशासकीय अधिकृत रामशरण बोहोराले काउन्सिललाई डिजिटलाइजेसनसँगै डाटा सेन्टरका रुपमा विकसित गरी सञ्चारमाध्यममा प्रकाशित प्रसारित सामग्री पाठक वा अनुसन्धानकर्ताले सजिलै पाउन सक्ने बताए। 

उप-प्रशासकीय अधिकृत बोहोराले हाल ६२ वटा टेलिभिजन र ३०० एफएम रेडियोका सामग्रीको २४ सैँ घण्टाका सामग्री सुरक्षित गरी अनुगमन भइरहेको बताए।काउन्सिलका सदस्य सुभेच्छाविन्दु तुलाधरले सञ्चारमाध्यमबाट महिलाका विषयमा प्रस्तुति हुँदा शब्द शब्दमा हिंसा भइरहेकाले सञ्चारकर्मीले जवाफदेही र उत्तरदायित्व नभुल्न आग्रह गरिन्। यसका लागि लैंगिक,अपांगता एवं बालबालिकाका लागि निर्देशिका तयारी अन्तिम चरणमा पुगेको उनले बताइन्। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले पत्रकारले गल्ती गरेमा क्षमा याचना दिने परिपाटी हटाएर कानुनी कारवाही नै गर्नुपर्ने धारणा राखे। नेपाल बार एशोसियशनका जिल्ला अध्यक्ष कृष्णप्रसाद सापकोटाले अहिले खोज पत्रकारिताभन्दा प्रतिशोध पत्रकारिता हाबी भएकाले जनतामा प्रतिकूल हुने गरी आफ्नो नैतिक बन्धनमा रहन आग्रह गरे।

 सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष विनोद सापकोटाले संस्था र व्यक्तिको ‘गोटी’ नबन्न आग्रह गर्दै पत्रकार महासंघमार्फत सञ्चारकर्मीलाई ‘चेन अफ कमाण्ड’ मा राख्नुपर्ने धारणा राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.