|

बुटवल : रुपन्देही तिलोत्तमा नगरपालिकामा विभिन्न दातृ निकायका प्रतिनिधिले शुक्रबार छलफल गरेका छन्। 

विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फारिस हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन हेर्ने समूह नेता सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मा, युरोपियन युनियनका कन्सलटेन्ट तेजराज दाहाललगायत दातृ निकायको टोलीले तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको हो। 

छलफलमा नगरपालिकाका तर्फबाट नगर प्रमुख वासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, उपसचिव हरिप्रसाद ज्ञवाली, प्रवक्ता सुरेन्द्र श्री, कार्यपालिका सदस्य, सल्लाहकार, कर्मचारीलगायतको सहभागिता थियो। 

दातृ निकायका प्रतिनिधिले नगरपालिकाबाट हालसम्म सम्पादन भएका काम, प्रस्तावित योजना तथा कार्यक्रम र कार्यसम्पादन गर्दा भोग्नुपरेका समस्याका बारेमा जानकारी लिएका थिए। उनीहरूलाई नगर प्रमुख घिमिरेले नगरपालिकाको वस्तुस्थिति, नगरपालिकाले अघि सारेको नीति तथा कार्यक्रम, योजनाका बारेमा जानकारी गराएका थियो। 

नगर प्रमुख घिमिरेले सीमित स्रोत-साधनले ठूला पूर्वाधार विकासका काम गर्न नसकिने बताउँदै नगरपालिकाले अघि सारेका चक्रपथ, क्षेत्रीय बसपार्क, सडकको स्तरोन्नति, कृषिउपज संकलन तथा प्रशोधन केन्द्र, अत्याधुनिक ल्याण्डफिल साइटलगायत प्रस्तावित योजनामा सघाउन दातृ निकायका प्रतिनिधिलाई आग्रह गरेका थिए। 

सो अवसरमा विश्व बैंकका नेपालस्थित देशीय निर्देशक जर्वोसले संघ, प्रदेश र स्थानीय तहको संस्थागत संरचना, जनशक्ति, पूर्वाधार, क्षमता विकासका सन्दर्भमा विश्व बैंकले काम गर्न चाहेको जानकारी गराए। प्रदेश ५ मा पर्यटन विकासका लागि तयार हुँदै गरेको सहयोगसम्बन्धी आयोजनाका बारेमा जानकारी गराउँदै उनले तिलोत्तमा नगरपालिकासँग मिलेर काम गर्न आफूहरू तयार रहेको पनि बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.