ट्रयाक एण्ड फिल्डका चर्चित जमैकन धावक उसेन बोल्टले फुटबलमा सनसनिपुर्ण प्रदर्शन गरेका छन्।
विश्वकै सर्वाधिक छिटो मानिसका रुपमा रहेका बोल्टले व्यावसायिक फुटबल करियरको लागि अष्ट्रेलियामा भएको खेलमा सनसनिपुर्ण दुई गोल गरे। अष्ट्रेलियाको शीर्ष डिभिजन क्लबबाट खेलेका बोल्टको पहिलो गोल सनसनिपुर्ण रहँदा दोस्रो गोल रोमाञ्चक देखियो।
बोल्टले अष्ट्रेलियाको ए डिभिजनको क्लब सेन्ट्रल कोष्ट मरिनर्सबाट पहिलो खेल खेलेका हुन्। शुक्रबार म्याकर्थर साउथ वेष्टविरुद्ध मैत्रीपूर्ण खेलमा बोल्टले दुई गोल गरे। उक्त खेलमा बोल्टको टिम सेन्ट्रल कोष्टले ४–० को जित निकालेको थियो।
जितपछि बोल्टले आफ्नो ट्रेडमार्क लाइटनिङ पोज दिएका थिए। बोल्टको यो पहिलो खेल समेत रहेको थियो। खेलपछि बोल्टले सुरुवातमै दुई गोल गर्दा आफुलाई निकै खुसी लागेको बताए ।
मेरो पहिलो सुरुवात र दुई गोल, यो मेरो लागि निकै राम्रो हो, बोल्टले भने, म यस क्लबमा रहदा खुसी छु र म आफुलाई सुधार गर्दै लैजाने छु। आठ पटकको ओलम्पिक च्याम्पियन बोल्ट गत अगष्टबाट यस क्लबमा आबद्ध भएका थिए। बोल्टलाई सेन्ट्रल कोष्टले अनिश्चितकालका लागि टिममा राखेको हो ।
गत बर्ष ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका बोल्टले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमण्डबाट प्रशिक्षण लिएका थिए। यस्तै उनले नर्वे र दक्षिण अफ्रीकाका क्लबमा समेत ट्रायल र अभ्यास गरेका थिए। बोल्टले यसअघि आफ्नो मनपर्ने इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट समेत फुटबल खेल्न खोजेका थिए।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए। ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल हुँदै कास्यमा चित बुझाउन बाध्य भए।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ स्वर्ण जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन्। उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।