|

काठमाडाैं :  गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ। 

शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए। 

वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै छ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ। यसअघि एक महिलासहित तीन उपाध्यक्ष रहने व्यवस्था थियो। 

विधानसभाले गरेको निर्णय विशेष महाधिवेशनमा लगेर पारित गर्नुपर्ने भएकाले अब विधानसभा नरहने उहाँले जानकारी दिए। परिषद्को कार्यकाल भने साविक झै दुई वर्ष नै रहने भएको छ। महाधिवेशनमा प्रतिनिधि सङ्ख्या भने पुरानै विधानअनुसार प्रति एक हजार बराबर १०० नै रहने भएका छन्। 

हाल तीन उपाध्यक्ष रहेकामा विषयगत उपाध्यक्ष थप्ने, एनआरएनएको दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने, महाधिवेशन प्रतिनिधि सङ्ख्यामा पुनःमूल्याङ्कन गर्नेलगायत प्रस्ताव विधानसभामा प्रस्तुत भएको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए। सात समूहमा भएको छलफलले उपाध्यक्ष थप्ने र विधानसभा नरहने निर्णयबाहेक अरु नयाँ प्रस्ताव पारित गर्न सकेन। 

सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले संशोधन प्रस्ताव पेश गरेको थियो। सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश भएको थियो। 

यसैबीच शुक्रबारदेखि गैरआवासीय नेपालीको ‘विश्व विज्ञ सम्मेलन’ शुरु भएको छ। असोज २८ गतेसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक सीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल भइरहेको छ। 

सम्मेलनमा गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान र सीप उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्र्रिया गरिने छ। 

सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवी, निजी क्षेत्रको समेत सहभागिता रहने जनाइएको छ । सम्मेलनमा कूल १६० कार्यपत्रमाथि छलफल हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.