|
प्रधानमन्त्री प्रचण्डसँग बहिनी अप्सरा

काठमाडौं : अप्सरा भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जेठी बहिनी हुन् भने गंगाराम दाहालकी दिदी। ६ बहिनी र एक भाइका जेठा दाजु प्रधानमन्त्री प्रचण्डका माइली बहिनी ताराको भने निधन भइसकेको छ। अहिले पाँच जना बहिनी मात्रै छन्, प्रधानमन्त्रीका। उनै पाँच बहिनी अप्सरा, सीता, कमला, विष्णुमाया र सरस्वती भाइटीकाको दिन प्रधानमन्त्रीको निम्तोमा बालुवाटार जाने तयारीमा छन्। प्रधानमन्त्रीले भाइटीकामा भेटघाटका लागि भन्दै केही दिनअघि बालुवाटार आउन खबर गरेका थिए।

२०५२ सालमा सशस्त्र युद्ध सुरु गरेर भूमिगत भएपछि दाइ प्रचण्डलाई तिहारमा टीका लगाउने अवसर जुटेको छैन, अप्सरालाई। द्वन्द्वात्मक तथा भौतिकवाद विश्वास राख्दै आएको बताउने प्रधानमन्त्री प्रचण्डले सशस्त्र द्वन्द्वमा लागेपछि दसैँ, तिहारमा टीका लगाएका छैनन्।

उनका पाँच बहिनीले पनि ०५१ सालपछि दाजु प्रचण्डको निधारमा हात राख्न पाएका छैनन्। २०५० सालसम्म भने प्रधानमन्त्री प्रचण्डले आफ्ना बहिनीहरुको हातबाट टीका लगाउने गरेको अप्सराको भनाई छ।

२०५० सालतिर सशक्त राजनीतिमा लागेका प्रचण्ड दश वर्षे सशस्त्र द्वन्द्वको तयारीमा थिए। त्यतिबेला तिहारमा टीका लगाउन बहिनीहरुलाई बोलाउन गरेका प्रधानमन्त्री प्रचण्डले अहिले टीका लगाउन नभई भेटघाटका लागि बोलाउने गरेका छन्। ‘२०५० सालसम्म तिहारमा टीका लगाउन बोलाउनुहुन्थ्यो, त्यतिबेला दाई र गंगाराम भाइलाई सँगै टीका लगाएका छौँ’ अप्सरा २३ वर्षअघि फर्किइन्। सबै दिदीबहिनी मिलेर २०५० सालसम्म मिलेसम्म टीका लगाउने गरेको उनको भनाई छ।

५१ सालपछि सशस्त्र द्वन्द्वको अन्तिम तयारी गरी भूमिगत भएका प्रचण्ड एकैपटक २०६३ साल असार २ गते मात्र सार्वजनिक भए। भूमिगत जीवनमा प्रचण्ड र बहिनीहरुबीच तिहारमा भेटघाट गर्ने समय मिलेन। झण्डै एघार वर्षपछि सार्वजनिक भएका प्रचण्डले तिहारमा बहिनीहरुलाई बोलाउने शैलीमा एकाएक परिवर्तन ल्याए।

२०५० सालअघि टीका लगाउन बोलाउने बहिनीहरुले त्यसपछि भेटघाटका लागि मात्रै बोलाए। ‘सार्वजनिक भएपछि दाइले म टीका लगाउँदिन, टीका नलगाए पनि भेटघाट गर्न आओ, खाऔँला, भेटौँला भनेर बोलाउनुभयो, यो वर्ष पनि त्यसरी नै भेटघाटका लागि बोलाउनुभएको छ’ थाहाखबरसँग अप्सराले भनिन्।

१३ वर्षपछि मात्रै भयो भेट

भूमिगत बनेपछि दाजु प्रचण्ड र बहिनी अप्सराबीच झण्डै १३ वर्ष भेट भएन। २०५१ सालबाट घर छाडेदेखि प्रचण्ड एकैपटक २०६३ सालमा मात्रै घर भित्रे। प्रचण्ड भूमिगत बनेपछि दाइ र भाइलाई सँगै टीका लगाउने अवसर गुमाइन्, अप्सराले। प्रधानमन्त्री प्रचण्डले टीका नलगाए पनि उनका भाई गंगारामले भने लगाउने गरेका छन्।

भूमिगत जीवनबाट सार्वजनिक भएपछि दाजु प्रचण्ड र अप्सराबीच काठमाडौंमा भेट भयो। सार्वजनिक भएपश्चात प्रचण्ड पर्सामा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए। अप्सरा र साइली बहिनी सीताबाहेक अन्य दिदीबहिनीले पर्सा पुगेरै भेटेका थिए, प्रचण्डलाई। अप्सरा र सीतालाई नपाएकोमा प्रचण्डलाई पनि नरमाइलो लागेको रहेछ। त्यसैले उनले अप्सरा र सीतालाई पछि काठमाडौंमा भेट्न बोलाए, र १३ वर्षपछि भेट्ने अवसर मिल्यो उनीहरुलाई।

भ्याएसम्म टीका लगाउँछन्, गंगाराम

प्रधानमन्त्री प्रचण्डले टीका नलगाए पनि उनका भाई गंगरामले भने लगाउने गरेका छन्। लन्डनमा स्थायी रुपमा बसोबास गर्ने गंगाराम तिहारमा भ्याएसम्म नेपाल आउने गरेका छन्। ‘गंगाराम भाइ भ्याएसम्म नेपाल आउँछन्, र मिलेसम्म हामीले टीका लगाइदिने गरेका छौँ’ अप्सराले भनिन्। प्रचण्ड भूमिगत भएको पछिल्लो एक दशक पनि उनीहरुले गंगारामलाई टीका लगाइदिए। अघिल्लो वर्षको तिहारमा पनि गंगारामलाई टीका लगाइदिएको बताउँछिन्, अप्सरा। पछिल्लोपटक तीजमा दिदीबहिनीलाई भेट्न नेपाल आएका थिए गंगाराम। ‘भाइको काठमाडौँमा काम परेको बेला नेपाल आउँछन्, र हामीलाई भेटेर जाने गरेका छन्’ अप्सरा भनिन्।

दाजुको इच्छा नै हाम्रो खुशी

२०५० सालसम्मको तिहार र अहिलेको तिहारमा खासै भिन्नता नभएको बताउँछिन्, अप्सरा। यद्यपी ०५० सालसम्म दुई दाजुभाइले टीका लगाएर तिहार मनाउने गरेकी उनले पछिल्लो वर्ष एक मात्रै भाईलाई टीका लगाउने गरेकी छिन्। ‘टीका लगाए पनि नलगाए पनि आखिर रमाइलो नै गर्ने हो, दाइले जहिले पनि बोलाउनुहुन्छ, हामी खुशी छौँ’ अप्सराले भनिन्, ‘टीका लगाइदिने तिहार र अहिलेको तिहारमा खासै भिन्नता देख्दिन।’

अप्सराले प्रधानमन्त्री प्रचण्डको इच्छा नै आफूहरुको खुशी भएको बताइन्। प्रधानमन्त्रीले टीका नलगाउँदा खल्लो लाग्छ कि लाग्दैन भन्ने थाहाखबरको जिज्ञासामा उनले भनिन्, ‘दाइको इच्छा नै हाम्रो खुशी हो।’

दाइले टीका लगाउनैपर्छ भन्ने दिदीबहिनीको जिकिर नभएको उनले प्रष्ट पारिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.