२६ प्रहरीमाथि छानबिन जारी

|

कञ्चनपुर : प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातले कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया किशाेरीको हत्या अनुसन्धानमा बदनियत देखिएका प्रहरीलाई नछाडिने बताएका छन्। शनिबार महानिरीक्षक बस्न्यातले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सँगको भेटघाटमा २६ जना प्रहरीमाथि छानबिन भइरहेको बताए। 

'वस्तुगत स्थितिको अध्ययन गर्न टोली खटिएको छ' उनले भने, ‘तयार गरिएको मिसिल, डकुमेण्ट्री र घटनाका विज्ञहरूसँग परामर्श लिने कार्य भइरहेको छ।’
घटनाको गहिरो रूपमा अनुसन्धानको कार्य भइरहेको उनको भनाइ छ। हत्यारा पत्ता लगाउन प्रहरीको टोलीले कसैको दबाब र प्रभावमा काम गरे नगरेको बारेसमेत अनुसन्धान भइरहेको छ। उनले भने, ‘अनुसन्धानको कार्य सूक्ष्म तरिकाले अगाडि बढाइएको छ।’ यसैबीच प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले नागरिक समाज, मानव अधिकारकर्मी र महिला अधिकारकर्मीसँग छुट्टाछुट्टै रूपमा छलफल कार्यक्रमको आयोजना गरी सुझाब लिएका छन्।

हत्या गरिएकी किशाेरी निर्मलाका बुबा यज्ञराज पन्तले घटनाको सबै कुरा बस्न्यातसमक्ष राखेको बताए। उनले भने, ‘मैले उहाँसँग अनुसन्धान गरी तत्काल अपराधी सार्वजनिक गर्न माग गरेको छु। घटनाका प्रमाण नष्ट गरी अपराधीलाई बचाउन खोज्नेमाथि समेत कारबाहीको माग राखेको छु।’ ‘प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातले अनुसन्धानको कार्य भइरहेकाले छिट्टै अपराधी पत्ता लाग्ने बताएका छन्’ उनले भने। 

शुक्रबार प्रहरी अतिरिक्त महानिरीक्षक बस्न्यातको छानबिन टोलीले निर्मलाको शव पाइएको घटनास्थलको उखुवारी, बम परिवारको घरको स्थलगत रूपमा निरीक्षण गरेकाे थियाे। टाेलीले निर्मलाका आमा र बुवालाई घरमै गएर भेटी घटनाबारे जानकारीसमेत लिएकाे थियाे। दीलिप विष्टसँग समेत टोलीले भेटेको छ। 

प्रहरी प्रधान कार्यालयले बस्न्यातको टोलीलाई हत्या घटना अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका सम्पादन भएका कार्यहरुको सूक्ष्म रुपमा विश्लेषण गरी वास्तविकता पत्ता लगाउने, केन्द्रबाट गठन भएको छ जना र बाँकी अन्य घटनामा संलग्न १७ जना गरीे २३ जना अनुसन्धानमा खटिएका कर्मचारीमाथि अनुसन्धान गर्न, घटना अनुसन्धानका क्रममा तयार भएका मिसिल,संकलित प्रमाणहरू,घटनासँग सम्बन्धित विज्ञको प्रतिवेदन, घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको बयान अन्य तथ्यहरूको अध्ययन विष्लेशण गरी घटनाको अनुसन्धान गर्न, घटनाको अनुसन्धानमा जिम्मेवार प्रहरीहरूले गरेका कमजोरी पत्ता लगाउन टोलीलाई गत भदौ ३१ गते खटाइएको थियो। 

यसैगरी टोलीलाई प्रहरी प्रधान कार्यालयले दोषी पत्ता लाग्न नसक्नुको कारण ,हरेक दिन पत्रपत्रिकामा  स्थानीय प्रहरीले प्रभाव र दवावमा अनुसन्धान गर्‍याे, लापरवारही गर्‍याे भन्ने कुरा  र छानविन समितिको अनुसन्धानबाट घटना अनुसन्धान कार्यमा संलग्न कुनै पनि प्रहरी कर्मचारीको बदनियत, हेलचक्रयाई वा लापरवाही देखिन आएमा कानुनी कारवाही गर्न कार्यादेश दिएको थियो।

टोली आजै काठमाडाैं फर्किने बताइएको छ। केही दिनभित्रै प्रतिवेदन तयार गरी प्रहरी प्रधान कार्यालयलाई बुझाइने जनाइएको छ। निर्मलाको गत साउन १० गते साथि रोशनी बमको घरबाट फर्कने क्रममा हत्या गरिएको अवस्थामा साउन ११ गते उखु बारीमा शव फेला परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.