|

बैतडी  : बैतडी जस्ता मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरो जस्ता पुराना बालीहरु लोप हुन थालेका छन्। पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बालीहरु लोप हुन थालेका हुन्। कोदो,मादुरो जस्ता बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि बालीहरुको महत्व नबुझ्दा लोप हुन थालेका हुन्।

कुनै समय सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरा लगायतका उच्च पहाडी तथा हिमाली भेगमा प्रसस्त मात्रामा कोदो र मादुराको खेती गरिन्थ्यो। यस्तै कुनै समय बैतडीका किसानहरुको खेतबारीमा पनि प्रसस्त उत्पादन हुने कोदो र मादुरो खोति अहिले लोप भइसकेको छ। अन्नहरुमध्ये स्वास्थ्यका लागी निकै फाइदाजनक मानिने कादो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको बैतडीको सुर्नया ३ का प्रेमसागर भट्टको भनाई छ।

आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकाहरुमा कुपोषण समेत देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए। कोदो,मादुरो, भटमास, लगायतका बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वको बारेमा जानकारी नभएको उनले बताए ।

पुराना बालीहरुमा पाइने पोषक तत्वका बिषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेका किसान मोहनबहादुर बिष्टले बताए। पुराना बालीहरुको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका उनको भनाई छ। धानबालीसंगै फल्ने कोदो मादुरो आजभोली देख्न समेत पाइन छोडेको हो।

कोदो, मादुरो, भटमासका परिकारहरु गाउँघरमा पाइन छोडेका छन्। बालबालिका, गर्भवती,सुत्केरी महिलाका लागि निकै फाइदाजनक रुपमा रहेका बालीहरु नै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषक तत्व पाइने खाद्यान्नहरुको समेत कमी आउन थालेको सुर्नया २ हटैराजकी तुला चन्दले बताए। यी अन्नबालीहरुले हुने फाईदाका बारेमा जानकारी नहुदा यी बालीहरु लोप भएका हुन्।

समयसंगै कृषि गर्ने तरिका परिवर्तन भयो, संगै खेती गरीने बालीनाली पनि परिवर्तन हुदै गए। कोदो मादुरो जउँ खेतीबाट धान मकै आदी बाली जस्तो लाभ नहुनाले पनि यी बालीहरु लोप हुदै गएको किसानहरु बताउछन्। पछिल्लो समय गाँउघरमा भैसीपालन घटेकाले पनि यो खेती लोप हुदै गएको किशानहरुको भनाई छ। मादुरो, कोदो र जउँ लगायतका अन्नबाट बन्ने अधिकासं परिकारहरु घिउ, मोही र दुग्धन्य पदार्थहरुबाट बन्ने भएकाले पनि भैसीलोप संगै यो खेती पनि लोप भएको उनिहरुको भनाई छ ।

कोदो मादुरो र भटमासबाट बनेका परीकारहरुबाट बालबालीका ,गर्भवती सुत्केरी आमाको लागी निकै फाइदाजनक रहेपनि पछिल्लो समयमा यसको महत्व नबुझेकाले र यसको सरंक्षण गर्नुपर्छ भन्ने चेतना नभएकाले पनि यी बालीहरु लोप हुदै गएको बताउँछन् दशरथचन्द नगरपालीका १ का देवदत्त भट्ट।

जिल्लाको तत्लोस्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाँउपालिकामा अहिले काँहीकतै यी अन्नहरुको खेती भएको पाईन्छ। तर यो तुलनात्मक रुपमा निकै कम भईसकेको छ। हुन त स्थानीय जनप्रतिनिधिहरुले परम्परागत खेतीको संरक्षण गर्ने बताउँदै आएका छन्।  पुराना बालीहरुको संरक्षणका लागी गाउँपालिका लागिपरेको  दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीको भनाई छ।

नयां बालीहरुबाट कम मेहनतमा बढी उत्पादन हुने भएकाले पुराना बालीहरु लोप हुदै गएका छन। कृर्षि ज्ञान केन्द्रमार्फत र कृर्षि क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले किसानलाइ यी बालीहरुको महत्वको बारेमा बुझाएर तालीम दिन सक्यो भने संरक्षण गर्न सकिने बागबानी अधिकृत लक्ष्मी दत्त पाण्डेयको भनाई छ।

एउटा त यी अन्नबाट पाईने पौष्टिक तत्वको बारेमा किशानहरुलाई जानकारी नभएकाले यो खेती लोप भएको छ  भने अर्को गाँउमा दुग्धजन्य पदार्थको अभावका कारण पनि यो खेती घटेको पाईन्छ। त्यसैले यी परम्परागत बालीहरुको महत्वको बारेमा जानकारी गराई यी बालीहरुलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यस्बाट बन्ने विभिन्न परिकारहरुको बारेमा जानकारी गराई यस्ता बालीहरुलाई संरक्षण गर्न जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.