|

सिन्धुली : सिन्धुलीमा शनिबार एकै दिन तीन छुट्टाछुट्टै सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी ४० जना घाईते भएका छन्। जस मध्ये ५ जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार बनेपा-सिन्धुली-बर्दीबास (विपी) राजमार्गमा शनिबार बस र माइक्रो दुर्घटना भएको छ भने जिल्लाकै दुधौली नगरपालिकामा ट्याक्टर दुर्घटना भएको छ।

विपी राजमार्गमा शनिबार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। विपी राजमार्गकै नेपालथोकमा माइक्रो दुर्घटना हुँदा दुई जना घाइते भएका थिए। 

काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको बा २ ख ५९३४ नम्बरको यात्रुबाहक बस विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउपालिका ३ बोहोरे टारमा दुर्घटना हुँदा ३० जना घाइते भएको सिन्धुली प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जनाए। तीव्रगतीमा रहेको बस आफै अनियन्त्रित भई दुर्घटना भएको उनको भनाई छ। घाइते मध्ये त्रियुगा नगरपालिका उदयपुरका २२ वर्षका मिनेश्वर चौधरीको अवस्था गम्भीर रहेको छ। उनको धुलिखेल अस्पतालमा उपचार हुँदैछ। 

शनिबार नै पूर्वमा यात्रु पुर्‍याएर काठमाडौँ फर्कदै गरेको इन्द्रेणी यातायातको माइक्रो तीब्र गतिका कारण नेपालथोकमा दुर्घटना भएकोे छ। दुर्घटनामा परेको माइक्रोको नम्बर भने खुल्न सकेको छैन। दुर्घटनामा चालक र सहचालक घाइते भएका छन्। उनीहरूको उपचारका लागि धुलिखेल पठाइएको स्थानीयले जनाइएका छन्। उता सिन्धुलीको दुधौलीमा खेलाडी सवार ट्याक्टर दुर्घटना हुँदा शनिबार नै ८ जना घाइते भएका छन्। 

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। शनिबार दिउँसो साँढे चारबजे फुटबल खेल्न दुधौली नगरपालिकाको लखनपुरबाट दुधौलीकै ४ तर्फ आउँदै गरेको ना ३ त २८१० नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुधौली क्लवद्वारा आयोजित दशैँ विषेश फुटवल प्रतियोगितामा भाग लिन आएका खेलाडीहरू दुर्घटनामा परेको सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक थापाले बताए।

गम्भीर घाइते चार जनालाई उदयपुरको मिर्चैयामा थप उपचारका लागि पठाइएको छ भने बाँकी ४ जनालाई सिर्थौली स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ। ट्याक्टर दुर्घटनाबारे एकीन खुल्न सकेको छैन। ट्याक्टर सडकबाट कमला नदी किनारमा खसेको छ भने ट्याक्टरका चालक फरार भएका छन्। सिन्धुलीमा शुक्रबारबाट लगातार दुर्घटना बढेको छ।

सिन्धुलीको वीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ५ रिठ्ठेभीरमा शुक्रबार मध्यान्ह बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.