|

पर्वत : म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका नौ जनामध्ये ७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

गुर्जा हिमालको आधार शिविरमा पुगेका पाँचजना कोरियाली नागरिक र चारजना नेपालीसहित ९ जनाको टोलीमा रहेकामा ७ जनाको शव उनीहरूको खोजीका लागि गएका स्थानीयबासीले देखेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। यद्यपि सिम्रिक एयरको हेलिकोप्टरबाट शनिबार बिहान गरिएको अनुगमनको क्रममा ट्रेकिङ गाइड लाक्पा शेर्पाले हेलिकोप्टरबाट हेर्दा ८ जनाको शव देखिएको बताएका थिए।

 हिमालको आधार शिविरमा पुगेर वास बसेका आरोही टोली आँधीहुरी र हिमपहिरोको दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ। उनीहरूको शव आधार शिविरको खोँच र भिरालो ठाउँमा रहेका कारण स्थानीयबासीले पनि उद्धार गर्न नसकेको  म्याग्दी प्रजिअ अधिकारीले बताए। टोलीमा रहेका ९ जनामध्ये ७ जनाको शव देखिए पनि २ जनाको अवस्थाबारे केही पनि पत्ता लाग्न सकेको छैन। घट्नामा परी मृत्यु भएकाहरू कसैको पनि सनाखत हुन सकेको छैन।

 घट्नामा परी मृत्यु भएकाहरुको शव ल्याउन र बेपत्ताहरूको खोजी गर्नको लागि शनिबार बिहान ८ बजे सिम्रिक एयरको हेलिकाेप्टर गुर्जा हिमालको आधार शिविरमा पुगेको भए पनि मौसमको खराबी र हेलिकोप्टरबाट झर्नसक्ने दक्ष प्राबिधिकहरूको अभावमा हेलिकोप्टर फर्किएको थियो।

प्रजिअ अधिकारीका अनुसार घट्नास्थलमा देखिएका शवहरूलाई निकाल्न र बेपत्ता रहेका २ जनाको खोजी गर्नको लागि गृह मन्त्रालयसँगको समन्वयमा आइतबार बिहान ७ बजेपछि फेरि पनि सिम्रिक एयरको हेलिकोप्टरलाई बोलाइएको छ। उक्त हेलिकोप्टरमा सिधै झरेर शव तान्नेदेखि बेपत्ताहरूको खोजी गर्न सक्ने प्राविधिकहरू रहने छन्। गत २१ गते गुर्जा हिमाल आरोहणको लागि १० जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको थियो। त्यसमध्येका एक जना कोरियन नागरिक आफूलाई असजिलो महशुस भएको भन्दै आधार शिविरमा नपुग्दै बीच बाटोबाटै फर्किएका कारण आधार शिविरमा ९ जनाको टोलीमा मात्र पुगेको थियो।

२१ गते यात्रा प्रारम्भ गरेको टोली २४ गते २५ गते बिहानबाट सम्पर्कबिहीन भएको थियो। टोलीमा ५ जना काेरियाली र ४ जना नेपाली नागरिक रहेका थिए। पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमति पाएका टोलीले गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहण गर्ने गरी आधार शिविरतर्फ लागेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.